नेपाली बृहत् शब्दकोष अनुसार सङ्ग्रहालय भन्नाले प्राचीन महत्वका दुर्लभ र अनौठा वस्तु बटुलेर राखिने ठाउँ वा घर भनेर परिभाषित गरिएको छ । सङ्ग्रहालयले समाजको इतिहास, कला र संस्कृतिको प्रतिनिधित्व गर्ने वस्तुको संरक्षण गर्ने कार्य गर्छ । सङ्ग्रहालयले महत्वपूर्ण ऐतिहासिक घटना कलात्मक आन्दोलन र सांस्कतिक अभ्यासलाई बिर्सन नदिनका लागि वस्तु सङ्कलन, संरक्षण र प्रदर्शन गर्छ । यस संरक्षणले भविष्यका पुस्तालाई इतिहास संस्कृतिको विकास बुझ्न ठुलो सहयोग पु¥याउँछ । मानवताको आपसी सम्बन्धलाई उजागर गरेर सङ्ग्रहालयले ऐतिहासिक, सांस्कृतिक भिन्नतासँगै ल्याउन र संवादको प्रवर्धन गर्न मद्दत गर्छ । अनुमान अनुसार हाल विश्वमा ५५,००० भन्दा बढी सङ्ग्रहालय छन्, जसमा पेरिसको लुब्र सङ्ग्रहालयलाई सबैभन्दा ठुलो सङ्ग्रहालय मानिएको छ ।
सङ्ग्रहालयले अनुसन्धानका लागि महत्वपूर्ण स्रोतको रूपमा कार्य गर्छन् । अनुसन्धानकर्ता र विद्वान्हरूले ऐतिहासिक र सांस्कृतिक विषयमा अध्ययन गर्न सङ्ग्रहालयका वस्तुमा निर्भर गर्छन् । संसारमा चार किसिमका सङ्ग्रहालय रहेको पाइन्छ । ती हुन् कला सङ्ग्रहालय, इतिहास सङ्ग्रहालय, विज्ञान सङ्ग्रहालय र सांस्कृतिक सङ्ग्रहालय ।
नेपालमा न्यायिक सङ्ग्रहालय
नेपालमा विभिन्न खालका साना ठुला सङ्ग्रहालय विभिन्न ठाउँमा रहेको बुझिएको छ । नेपालमा अहिलेसम्म चर्चित सङ्ग्रहालय छाउनीमा रहेको छ, जसले देशी र विदेशीलाई समेत आकर्षण गरेको छ । न्यायिक सङ्ग्रहालय भने विसं २०७८ भदौ १ गते सर्वोच्च अदालतमा स्थापना गरिएको सङ्ग्रहालय नै पहिलो हो, जसको समुद्घाटन तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराबाट भएको थियो । यो सङ्ग्रहालय सर्वोच्च अदालतको एनेक्स भवनको पहिलो तल्लामा रहेको छ ।
सङ्ग्रहालयमा रहेको न्यायिक सङ्ग्रहालयसम्बन्धी सङ्क्षिप्त जानकारी अनुसार न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा न्यायिक सङ्ग्रहालयको स्थापना र सञ्चालन गर्ने विषय समावेश भएको थियो । सर्वोच्च अदालतबाट सरोकारवाला निकाय समेतको सहभागितामा त्यससम्बन्धी अध्ययन कार्य भएको थियो । सर्वोच्च अदालतको मिति २०७५ जेठ २ को पूर्ण बैठकको निर्णयबाट सङ्ग्रहालय स्थापना सञ्चालनका लागि गर्नुपर्ने आवश्यक कार्यको सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा पाँच सदस्यीय न्यायिक सङ्ग्रहालय समिति गठन भएको थियो । न्यायपालिकाको चौथौ पञ्चवर्षीय रणनीतिक योजना र सर्वोच्च अदालतको कार्य योजनामा समेत न्यायिक सङ्ग्रहालयको स्थापना र विकासको विषयलाई प्राथमिकताका साथ समावेश गरिएको थियो । न्यायिक सङ्ग्रहालयको स्थापना र सञ्चालनका लागि गर्नुपर्ने तयारी सम्बन्धमा गठित समितिबाट सो सम्बन्धमा भएका विभिन्न कामको परिणाम सवरूप न्यायिक सङ्ग्रहालयको प्रदर्शनी कक्ष तयार गरिएको हो ।
न्यायिक सङ्ग्रहालयको उद्देश्य
१. ऐतिहासिक रूपमा महत्वपूर्ण हुने न्यायिक र कानुनी इतिहास एवं विकास क्रमसँग सम्बन्धित र सामग्रीको सङ्कलन संरक्षण अध्ययन र प्रदर्शन गर्ने ।
२. नेपालको न्यायिक इतिहास यसको विकास क्रम र ऐतिहासिक महत्वका घटनाको सङ्क्षिप्त जानकारी प्राप्त गर्ने अवसरको सिर्जना गर्ने ।
३. नेपालको विगतको न्यायिक आचरण, व्यवहार एवं न्यायालयसँगै सम्बन्धित घटनाको बारेमा जानकारी प्रदान गर्ने ।
४. नेपालमा भावी पुस्ता र न्यायिक अध्ययन तथा अनुसन्धान कार्यमा संलग्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा अनुसन्धानकर्ता तथा विद्यार्थीलाई नेपालको न्यायिक इतिहासका महत्वपूर्ण घटनाक्रमहरूका बारेमा जानकारी प्रदान गर्ने ।
सर्वोच्च अदालतका अनुसार सङ्ग्रहालयमा रहेका सामग्री सर्वोच्च अदालतलगायत विभिन्न अदालत तथा राष्ट्रिय अभिलेखालयबाट प्राप्त गरिएको साथै कानुन क्षेत्रका वरिष्ठ र प्रतिष्ठित व्यक्तित्व एवं उनीहरूको परिवारबाट मूल्यवान् जानकारी र ऐतिहासिक महìवमा वस्तु प्राप्त भएको, स्थानको उपलब्धताका आधारमा सङ्कलित सामग्रीमध्ये नेपालको कानुनी इतिहाससम्बन्धी केही सामग्री मात्र यस कक्षमा राखिएको छ । हाल प्रदर्शनमा रहेका बाहेकका प्राप्त ऐतिहासिक सामग्री स्टोर कक्षामा रहेका छन् । विसं २०७२ देखिको अध्ययन तथा २०७५ सालदेखिको अनुसन्धान, खोज र पूर्वाधार निर्माणपश्चात् यो सङ्ग्रहालय स्थापना भएको हो ।
हाल सङ्ग्रहालयको प्रदर्शनी कक्षमा लिच्छविकालदेखि हालसम्म न्यायाधीशले सपथ गर्दा के के कुरामा के के कुराको शपथ लिनु पर्दथ्यो र हालको शपथ प्रणालीको बारेमा समेत ‘न्यायाधीशको सपथ’ मा उल्लेख गरिएको छ । सत्रौँ शताब्दीमा मल्लकालीन राजासमक्ष पदाधिकारीले वसन्तपुरको काल भैरव अगाडि कोटिलिङ्गेश्वर मन्दिर परिसरमा धार्मिक ग्रन्थ तथा तामा, तुलसी र पूर्ण कलस छोइ शपथ लिँदै गर्दाको चित्र छ । विसं २०७३ मा नेपालको पहिलो महिला प्रधानन्यायाधीशको रूपमा नियुक्त हुनुभएका पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको तस्बिर छ ।
सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश भगवतीप्रसाद सिंहसहित अन्य न्यायाधीशको मिति २०२२।१।१३ को सामूहिक तस्बिर छ । तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह र तत्कालीन प्रधान न्यायाधीश हरिप्रसाद प्रधानसहित सर्वोच्च अदालतका न्यायाधीशको सामूहिक तस्बिर छ । तत्कालीन राजा महेन्द्र वीरविक्रम शाहद्वारा सर्वोच्च अदालतको उद्घाटन हुँदाको तस्बिर छ । तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानको इजलासको तस्बिर छ, जो विसं २००८ र विसं २०१८ गरी दुई पटक प्रधान न्यायाधीश हुने एक मात्र व्यक्तित्व हुनुहुन्छ । विसं १९९७ असार १२ गतेको सनदबाट निर्वाचनद्वारा प्रधान न्यायाधीश नियुक्त हुनु भएका बहादुरशमशेर राणाको तस्बिर छ ।
प्रदर्शनीमा न्यायिक सङ्ग्रहालयसम्बन्धी सङ्क्षिप्त जानकारी छ । अदालतीय पोसाक बारेमा छ । प्रधान न्यायालयको फूलकोर्ट (पूर्ण बैठक) को निर्णय पञ्जिका छ । सर्वोच्च अदालतको गठनपश्चात् रजिस्ट्रारबाट भएको पहिलो आदेश रहेको विसं २०१४ को रजिस्ट्रारको अर्डर बुक छ । विसं १९९४ असार १० गते जलेश्वर अमिनीबाट फैसला भएको डाँका मुद्दाको मिसिल छ । १९७३ भाद्र ११ गते जलेश्वर अमिनीबाट फैसला भएको धान चोरीसम्बन्धी मिसिल पनि राखिएको छ । १९६८ सालमा श्रीमती हराएको हुँदा ‘स्वास्नी पत्ता लगााइ पाउँ’ भन्ने मुद्दामा चिसापानी अदालतबाट भएको फैसलाको मिसिल छ ।
बिपी कोइरालाविरुद्ध तत्कालीन प्रधानमन्त्रीको कार्यालय भएको रिट निवेदनको २०१३ सालको फैसला छ । विसं १९८४ मा प्रकाशित १९४५ मा जारी भएको पाँच भागको मुलुकी ऐनको पाँचौँ भागसम्मको सङ्कलन रहेको प्रति छ । पाँच भागको मुलुकी ऐनको १९९१ सम्मको संशोधन समावेश भएका १९९१ सालमा छापिएको मुलुकी ऐनको प्रति, मुलुकी ऐन २०२०, मुलुकी देवानी संहिता प्रकाशित भएको राजपत्र । मुलुकी फौजदारी संहिता प्रकाशित भएको राजपत्र । संवत् ४३५ को लिच्छविकालीन राजा वसन्तदेवको पालाको शिलापत्र अभिलेखको अनुकृति, लिखतसँग सम्बन्धित सामग्री– भोजपत्र, ताडपत्र, ताम्रपत्र, बाँसको कलम, अदालतमा प्रयोग हुने नेपाली कागज पनि त्यहाँ राखिएको छ । राजा राजेन्द्रवीर विक्रम शाहद्वारा विसं १९०० कात्तिक १४ गते जारी भएको लालमोहरको नक्कल, इस्तिहारसम्बन्धी जानकारी आदि ।
सर्वोच्च अदालतको हालको सङ्ग्रहालय प्रदर्शनी कक्ष ६०० वर्ग फिट रहेको छ । सानो ठाउँ भएकाले कतिपय महìवपूर्ण सामग्री स्टोरमा राखिएको छ । सर्वोच्च अदालतको नयाँ भवन निर्माण भएपश्चात् सर्वोच्च अदालत हालको ठाउँबाट सरेपछि भने निश्चय नै ठाउँको अभाव हुने छैन । त्यसपछि निश्चय नै प्रदर्शनी कक्षको विस्तार हुने आशा गरिएको छ । प्रदर्शनी कक्ष विस्तार भएपछि यो सङ्ग्रहालय अझै भव्य हुने छ । राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता, कानुनी विज्ञ, विभिन्न देशीय, विदेशीय कानुनसँगै सम्बन्धित विद्यालय, महाविद्यालयका विद्यार्थीसमेतको यो ठाउँ आकर्षणको थलो हुने नै छ । भविष्यमा राष्ट्रिय अर्थतन्त्रमा समेत यसले सहयोगी भूमिका निर्वाह गर्ने आशा गर्न सकिन्छ । यस प्रदर्शनी कक्षलाई अझै व्यापक रूपमा विस्तारित गर्न सकिएमा यसले प्रचुर मात्रामा कानुनी ज्ञानको अनुभव वृद्धि गर्ने र यसलाई प्रविधिमैत्री बनाउँदै अझ रोचक बनाउन पनि सकिने छ ।