• २१ मंसिर २०८१, शुक्रबार

भैरवनाथप्रति दर्शनार्थीको बढ्दो विश्वास

blog

पाल्पाको भैरवनाथको मन्दिर ।

बिन्दु थापा 

पाल्पा, कार्तिक २२ गते । भैरवनाथ देवताले दर्शनार्थीको इच्छा पूरा गर्ने गरेको भन्दै भक्तजनहरुले औधी विश्वास गर्ने गरेका छन् । भाकल पूरा हुने भएर बलि दिन आउने भक्तजनको त्यहाँ भिड लाग्नेगरेको छ । 

सन्तान प्राप्तीको इच्छा राखेर धेरै भक्तजन मन्दिरको दर्शन गर्न आउनेगरेको स्थानीयको बुझाइ छ । कोही भक्तजन भने रोगव्याधीबाट मुक्ति पाइयोस् भनेर मन्दिरको दर्शन गर्नेगरेको उहाँहरुको बुझाइ छ । तानसेन नगरपालिका १४ छेर्लुङका हरीलाल विश्वकर्माले भन्नुभयो, “भारतमा मेरो छोरा भवनको छतबाट खसेपछि छोरालाई निको होस् भनेर भाकल गरेको थिएँ, पूरा भएपछि अहिले छोरा पहिलेजस्तै काम गर्न सक्ने भएपछि बलि दिएको छु ।” 

उहाँजस्तै भाकल पूरा भएर भैरवनाथ मन्दिर आउने भक्तालु धेरै छन् ।  पाल्पाका देवेन्द्रबहादुर पाण्डेले बर्षौसम्म सन्तान नभएपछि भाकल गरेर छोरा जन्मिएको खुशीमा पञ्चवलि लिएर आएको बताउनुभयो । उहाँले पञ्चवलि ल्याउने भन्दै सन्तान मागेको र भाकल गरेको एक बर्षमै सन्तानको रुपमा छोरा जन्मिएको सुनाउनुभयो ।  

रिब्दिकोट गाउँपालिका –४ मा अवस्थित भैरवनाथ मन्दिर सांस्कृतिक एवं ऐतिहासिक रूपमा जति प्रख्यात छ, त्यसको धार्मिक महिमा उत्ति नै बलियो छ । पाल्पाको सदरमुकाम तानसेनबाट नौ किलोमिटर पश्चिममा रहेको यो मन्दिर रिब्दीकोट गाउँपालिका –४ मा अवस्थित छ । 

अरू बेलाभन्दा दसैँमा भैरवस्थानमा बढी भिड लाग्ने गरेको छ । यो बाहेक पनि वैशाख र मङ्सिर महिनामा दर्शनार्थीको भिड लाग्छ । पश्चिम नेपालकै शक्तिपीठका रूपमा भैरवस्थानलाई लिइने गरिन्छ । मन्दिरमा दर्शनका लागि नेपालमा धेरै जिल्लाबाट भक्तजन आउने गर्दछन् । 

सेन वंशका राजा रुद्रसेनका सन्तान मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार पूर्वमा काशी र पश्चिममा हरिद्वारसम्म गरेका थिए । स्थानीय तथा सस्कृतविद्का अनुसार उहाँको प्रशासनिक केन्द्र एवम् राजधानी पाल्पा थियो । उहाँले काठमाडौं खाल्डोमा आक्रमण गर्दा मच्छिन्द्रनाथको पटाङ्गिनीमा रहेको भैरवको मूर्ति ल्याई स्थापना गर्नुभएको थियो । यही भैरवलाई  पाल्पा भैरव भनिएको विश्वास छ ।  

एसियाकै ठूलो ऐतिहासिक सुनौलो त्रिशूल १६ औं शताब्दी निर्माण गरिएको छ । मल्लकालीन कलाले निर्माण गरिएको गजुर छ । मन्दिरको माथिल्लो तलामा कीर्तमुख भैरव मूर्ति स्थापना गरिएको छ । मुख्य भैरवलाई हेर्न नहुने विश्वासले मूर्तिलाई मन्दिरको भुइँतलामा राखिएको छ । भुइँतलाको अर्को कोठामा कालीको मूर्ति छ । 


भैरवनाथमा रहेको तिर

पाल्पा भैरवनाथ मन्दिरमा नेपालको झण्डा भेटिएको छ । बर्षौ पुरानो ऐतिहासिक महत्व प्रष्ट पार्ने यो  झण्डा भैरव मन्दिर परिसरमा उत्खनन गर्ने क्रममा भेटिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पोखरेलले बताउनुभयो । पोखरेलका अनुसार धार्मिक पौराणिकअनुसार राजाहरुले शक्तिको प्रतीकको रुपमा गाड्ने गर्दथे । पछि पृथ्वीनारायण शाहले त्यहि प्रतीकलाई नेपालको झण्डाको रुपमा स्थापीत गरेको इतिहास छ, भनिन्छ ।

एकपाथीको रोट 


ओखलमा कुटेको वा पिसेको सर्जु चामलको पिठो, १५ मूठीघ्यु, तीसय ग्राम ल्वाङ सुकमेल र काली मरिच, आधा किलोदखी २ किलोसम्म चिनी, मिसाएर आवश्यकताअनुसार पानीमा राम्रोसँग मिलाएर आधा घण्टा भिजान्छ । तावामा राखेर केराको पातले छोपेर तावाको ढक्कन लगाउने गरिन्छ । ताबाको ढक्कन माथिबाट आगोको चार किलो कोइला राखीदिनु पर्दछ । मानाको तुलनामा एकपाथीको रोट पाक्न ढिला हुनेगरेको स्थानीयको भनाइ छ ।