• २८ पुस २०८१, आइतबार

महोत्तरीमा छठको रौनक

blog

महोत्तरीको बर्दिबासमा अस्ताउदो सूर्यलाई अर्घ दिँदै छठका व्रतालु। तस्बिर – रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, कात्तिक २२ गते। लोक आस्थाको महान् पर्व छठ महोत्तरीमा उल्लास एवं भक्तिपूर्ण तवरले मनाइदै छ। सूर्योपासनाको यस पर्वमा बिहीबार व्रतालुले अस्ताउदो सूर्यलाई अघ्र्य अर्पण गर्दैछन्। शुक्रबार उदाउँदो सूर्यको उपासनापछि छठ पर्व समापन हुनेछ। 

छठ मनाउन जिल्लाभरका नदी, तलाउ तथा जलासयका घाटमा चहलपहल बढेको छ। घाटहरु बेहुलीझै सिंगारिएका छन्। ठाउँठाउँमा स्वागतद्वार निर्माण गरिएको छ। व्रतालुले अपरान्हपछि छठ घाटको जलासयमा स्नान गरेर अस्ताउँदै गरेको सूर्यलाई जलार्पणका साथै पूजाअर्चना तथा सूर्य आराधना गरेका छन्। जलासयका घाट सूर्यको पूजा, भजन तथा छठी मैंयाको लोकलयले गुन्जयमान बनेको छ। 

‘उगहु न सुरुज देव भइयो अरग के वेर...’ तथा ‘कांच ही बा“स के बहंगिया, बहंगी लचकत जाय, बाट जे पुछेला बटोहीया बहंग केकरा के जाय....’ जस्ता लोकधुनले इलाका भक्तिमय बनेको छ। 

छठ समितिले भव्य तयारी गरेका छन्। बर्दिबासको वडा नम्बर १४ स्थित कामेश्वरनाथ शिवालयस्थित पुरानो तलाउको सरसफाई, सौन्दर्र्र्यीकरण, सांस्कृतिक कार्यक्रम र सामूहिक प्रसाद वितरणका लागि लागि ६ लाख रुपियाँ खर्च हुने पूजा समितिको अनुमान छ। 

छठको विधि परम्पराअनुसार व्रतालुले बुधबार खरना अनुष्ठान पुरा गरेका थिए। दिनभर निराहार रहेका व्रतालुले निष्ठापूर्वक तयार पारिएका सख्खरले तयार पारिएका खिरको प्रसाद ग्रहण गरेका थिए। सझिया घाटको दिन सबै व्रतालु दिनभर निराहार रहे।