• ७ मंसिर २०८१, शुक्रबार

कागतीले बजार नपाउँदा उपभोक्ता चिन्तित

blog

सामुदायिक वनमा फलेको कागती । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, कात्तिक २१ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिका – ७ निबुवाटारमा रहेको कुसम्या सामुदायिक वन उपभोक्ता समितिले उत्पादन गरेको कागतीले बजार नपाउँदा उपभोक्ता चिन्तित बनेका छन् । 

सो सामुदायिक वनका अध्यक्ष काशीराम चौधरीले वनमा लटरम्म फलेको कागती बिक्री हुने आशमा रहेका उपभोक्ता बिक्री नहुँदा निराश हुन थालेको बताउनुभयो ।

उहाँले थप्नुभयाे ‘‘कागती बिक्री हुने हो भने त्यसबाट वनका उपभोक्तालाई राम्रो आम्दानी हुने र वन समितिलाई पनि फाइदा पुग्नेछ ।’’ सामुदायिक वनमा उत्पादित कागती बिक्री वितरणको व्यवस्था मिलाउन उपभोक्ता समितिले स्थानीय निकायसँग आग्रह गरेको छ ।

कागतीले बजार नपाएपछि वनका उपभोक्ता समस्यामा परेकाले बजारको सहजीकरणका लागि पहल गरिदिन स्थानीय सरकारसँग आग्रह गरिएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँले पहिलो पटक सो वनमा करिब एक हजार किलोभन्दा बढी कागती फलेको बताउनुभयो ।

भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको वनका उपभोक्ता अमर घर्तीमगरले बताउनुभयो ।

राप्ती सोनारी ७ का वडा अध्यक्ष राम लखन थारुले गैरसरकारी संस्थाको सहयोगमा वनमा कागती फलेको देखेर आफूलाई हर्षित बनाएको बताउँदै स्थानीय स्तरमा उत्पादित कागतीलाई बजारीकरण गर्नका लागि वडाले पहल गर्ने बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले सामुदायिक वनमा गरिएको कागती खेतीको बजारीकरणका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

वन आसपास क्षेत्रका लक्षित वर्ग र विपन्न वर्गका लागि रोजगारी सिर्जना गरी आयआर्जनमा टेवा दिने लक्ष्य लिएर कागती खेती सुरु गरिएको वन उपभोक्ता समितिले जनाएको छ ।

सो वनमा बिग्रुप र एडब्लुओको आर्थिक सहयोगमा १.७ हेक्टर क्षेत्रफलमा कागती कलमी ३३५, कागती बिजु ५७५, सितल चिनी ६२, जामुन १५० र बेल ४७५ गरी जम्मा १५९७ बिरुवा लगाइएको छ ।