• ७ मंसिर २०८१, शुक्रबार

आयुर्वेदको आयाम

blog

पूर्वीय ज्ञानको विकास चार वेद अर्थात् ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदको आधारमा भएको मानिन्छ । प्राचीन चिकित्सा पद्धतिको मूल जरो यिनै चार वेदमध्ये अथर्ववेदको उपशाखाका रूपमा आयुर्वेदद्वारा भएको देखिन्छ । आधुनिक चिकित्सा प्रणालीको लामो इतिहास छैन । खासगरी दुई/तीन सय वर्षअघि औद्योगिक क्रान्तिसँगै आधुनिक विकासले फड्को मारेपछि एलोपेथिक चिकित्साको साम्राज्य फैलियो । हजारौँ हजार वर्षको मानव सभ्यतामा स्वस्थ जीवनको निरन्तरताका निम्ति आयुर्वेदको भूमिका प्राचीन चिकित्साका रूपमा मानवको सच्चा साथी बन्दै आयो । प्राचीनकालदेखि विकास र विस्तार हुँदै आए पनि आयुर्वेद आधुनिक चिकित्साको विस्तार र बजारीकरणसँगै अहिले ओझेलमा छ । आधुनिक चिकित्सासँग मात्रै अहिले मानव  सन्तुष्ट छैन । आयुर्वेदका अनेक आयामलाई वैकल्पिक उपचारको स्वरूपमा फेरि ग्रहण गर्दै छ । जडीबुटीले सम्पन्न नेपालले आयुर्वेदमा अब्बल हुन सक्ने अनेक सम्भावनामा संसारको ध्यानाकर्षण गर्न सक्ने छ । 

आयुर्वेदका प्रवर्तक धन्वन्तरिलाई मानिन्छ । कात्तिक कृष्ण त्रयोदशीका दिन धन्वन्तरि दिवस मनाइन्छ र यो पटक पनि कात्तिक १४ गते तिहार आरम्भबिच मनाइयो । यो दिवस नेपालमा मनाउन थालिनुमा नरदेवी आयुर्वेद चिकित्सालय जोडिएको छ । विसं १९७४ मै नरदेवी आयुर्वेद चिकित्सालय स्थापना भयो र त्यसको १० वर्षपछि नै चिकित्साको पठनपाठन हुँदै पछि क्याम्पसमा रूपान्तरण भयो । कीर्तिपुरमा २०६५ सालेदेखि आयुर्वेद शिक्षण अस्पताल क्रियाशील भएपछि आयुर्वेद उपचार पद्धतिमा संस्थागत विकासको आशा पलाए पनि आयुर्वेदमा नेपालले सम्भावनाको सीमित अंशको पनि उपयोग गर्न नसकेको जानकारको बुझाइ छ । मूलतः आयुर्वेद औषधी उत्पादन गर्ने सरकारी विश्वासिलो संस्था सिंहदरबार वैद्यखानाको नाजुक अवस्थाले यो क्षेत्रमा सरकारी नीति, योजना र कार्यक्रमको प्रभावकारिता माग गर्छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आरोग्य दिवसका क्रममा सिंहदरबार वैद्यखानाको औषधी विश्वसनीय रहेको भन्दै आयुर्वेदको विकासमा दिएको वचनले केही आशा पलाएको छ । सँगसँगै काठमाडौँ महानगरका प्रमुख बालेन शाहले वैद्यखाना काठमाडौँ महानगरले चलाउने प्रस्तावसमेत मननीय छ ।

नेपालमा आयुर्वेदको संस्थागत विकास थालिँदा संसार आधुनिक चिकित्सामा समेत पछाडि नै थियो । नेपाल एकीकरणअघि प्रताप मल्लकै पालामा आयुर्वेद औषधी उत्पादन गर्ने विश्वासिलो वैद्यखाना थियो ।  एकीकरणपछि यो हनुमानढोका हुँदै राणा शासन आरम्भसँगै पहिलो राणा प्रधानमन्त्री जङ्गबहादुरको पालामा थापाथली दरबारमा पुग्यो । पछि  चन्द्रशमशेरले सिंहदरबारमा लगेर सिंहदरबार वैद्यखाना स्थापना गरेपछि यसले उत्पादन गर्ने औषधी विश्वासिलो बन्यो । विसं २०५२ मा सिंहदरबार वैद्यखाना विकास समितिमा संस्थागत हुन थालेदेखि यसका सुदिन टाढा पुगे । बजेट अभाव, राजनीतिक नियुक्तिको अस्थिरताको चपेटाले थिच्यो । आयुर्वेदको अध्ययन, अन्वेषणसँगै औषधी उत्पादनमा अझ विकास गर्नुपर्ने संस्था कमजोर हुँदा आयुर्वेदको विकासमै बाधा देखियो । 

भनिन्छ आधुनिक पाश्चात्य चिकित्साको जग आयुर्वेद नै थियो । पूर्वीय मान्यताका अनुसार चार वेदमध्ये सबैभन्दा पछि विकास भएको अथर्ववेदका हाँगामा उपवेदका रूपमा विकसित आयुर्वेद चिकित्सा, ज्ञान, विज्ञान र दर्शनको मूल स्रोत हो । आयुर्वेदमा अन्वेषणका वैज्ञानिक आधार छन् । एलोपेथिक औषधीको मूल स्रोत पनि जडीबुटी नै हो । जडीबुटीलाई रासायनिक तवरले आधुनिक औषधी बनाइन्छ । त्यसैले औषधी अर्थात् दबाइले रोगलाई स्थायी  होइन, केही समयका निम्ति दबाउन सहयोग गर्छ । त्यस्ता औषधीको उपयोगसँगै अन्य प्रभाव (साइड इफेक्ट) समेत पर्छ तर आयुर्वेदले अनेक रोगको अन्य प्रभाव नपर्ने गरी समूल निको गर्न सक्छ । त्यसैले पश्चिमा आधुनिक चिकित्सा पनि आयुर्वेद पद्धतिलाई वैकल्पिक चिकित्साका रूपमा अन्वेषणतर्फ अग्रसर हुँदै गएको हो ।

आयुर्वेद इसापूर्व तीन हजारदेखि ५० हजार वर्षअघि नै भारत वर्षमा विकसित भयो र युगौँयुग मानिसलाई स्वास्थ्य सेवा दियो । आयुर्वेद पद्धतिले केवल रोग लागेपछि उपचार गरिने कर्मलाई मात्र प्राथमिकता दिँदैन । भरसक रोग लाग्नै नदिने गरी आरोग्यतालाई प्राथमिकतामा राख्छ । त्यसैले भनिन्छ, स्वस्थ शरीरसँगै मन र आत्मा आयुर्वेदका आधार हुन् । आरोग्यका निम्ति योग र प्राकृतिक चिकित्सालाई पनि उत्तिकै ध्यान दिइन्छ । आयुर्वेदका अनुसार शरीरका त्रिदोष अर्थात् वात, कफ र पित्त असन्तुलनले शरीरमा रोग लाग्छ । त्रिदोषलाई सन्तुलनमा राख्न खानपिन रहनसहनमा ध्यान दिई मानिसको स्वास्थ्य प्रवर्धन गरिन्छ र यसमा नेपाली भान्सा अब्बल छन् भनिन्छ  । जडीबुटी मिश्रण औषधी अनि योग, पञ्चकर्म र क्षारसूत्र जस्ता पद्धतिको उपयोग प्राचीनकालदेखिकै अभ्यास हुन् । अतः आयुर्वेदका आयाम प्रसारमा हिमाली मुलुक नेपालको आधार अधिक देखिन्छ ।