• ७ मंसिर २०८१, शुक्रबार

श्रीलङ्काको राष्ट्रपति निर्वाचन अवलोकन, अनुभव र शिक्षा

blog

श्रीलङ्कामा २०८१ साल असोज ५ (२१, सेप्टेम्बर २०२४) मा राष्‍ट्रपति पदका लागि निर्वाचन सम्पन्न भयो । नेसनल पिपुल्स पावर पार्टीका उम्मेदवार अनुरा कुमारा दिसानायके देशको १० औँ राष्‍ट्रपतिमा निर्वाचित भई पद बहाली गरिसक्नुभएको छ । पङ्क्तिकारलाई राष्‍ट्रपति निर्वाचन कार्यको अवलोकन गर्ने अवसर प्राप्‍त भएको थियो । निर्वाचनसम्बन्धी कार्यको अवलोकनबाट देखिएका विषयवस्तु यस लेखमा उल्लेख गर्ने जमर्को गरेको छु ।

राष्‍ट्रपति पदको निर्वाचन प्रणाली  

श्रीलङ्कामा राष्‍ट्रपति देशको कार्यकारी प्रमुख रहने व्यवस्था छ । राष्‍ट्रपतिको निर्वाचन प्रत्यक्ष मतदानबाट हुने गर्छ । राजनीतिक दल वा स्वतन्त्रबाट राष्‍ट्रपति पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ । श्रीलङ्काको कानुन अनुसार राष्‍ट्रपति पदका लागि उम्मेदवार बन्न कम्तीमा ३० वर्ष उमेर पूरा भएको हुनु पर्छ । एक जना व्यक्ति बढीमा दुई कार्यकालसम्म मात्र राष्‍ट्रपति हुन पाइने व्यवस्था छ । राजनीतिक दलबाट उम्मेदवार बन्नका लागि ५० हजार र स्वतन्त्रबाट उम्मेदवार बन्न ७५ हजार श्रीलङ्कन रूपी धरौटी राख्‍नुपर्ने रहेछ । राष्‍ट्रपतिको पदावधि पाँच वर्षको हुन्छ । संसद्को दुई तिहाइ बहुमतबाट राष्‍ट्रपतिलाई पदावधि कायम छँदै हटाउन सकिने कानुनी प्रबन्ध छ । श्रीलङ्कामा २५ प्रशासनिक जिल्ला भए पनि राष्‍ट्रपति निर्वाचन प्रयोजनका लागि २२ निर्वाचन जिल्ला कायम गरिएको थियो । 

श्रीलङ्कामा सन् १९८२ बाट राष्‍ट्रपति पदको निर्वाचन हुन सुरु भएको इतिहास छ । यस पटकको निर्वाचनका लागि जम्मा  ३९ जना उम्मेदवार चुनावी मैदानमा खडा भएका थिए । यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेछ । यसअघि सम्पन्न भएका राष्‍ट्रपति पदको निर्वाचनलाई हेर्दा सन् १९८२ मा छ जना, १९८८ मा तीन जना, १९९४ मा छ जना,  १९९९ मा १३ जना, २००६ मा १३ जना, २०१० मा २२ जना, २०१५ मा १५ जना र २०१९ मा ३५ जना उम्मेदवार रहेको श्रीलङ्का निर्वाचन आयोगले उपलब्ध गराएको तथ्याङ्‍कमा उल्लेख गरिएको छ । 

मतदाता नामावली : चौमासिक सङ्कलन

श्रीलङ्कामा १८ वर्ष उमेर पूरा भएको नागरिकले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्छन् । त्यहाँको कानुन अनुसार प्रत्येक चार महिनामा एक पटक मतदाता नामावलीमा नाम दर्ता गराउन आवेदन खुल्ने रहेछ । मतदाता नामावली सङ्कलन र दर्ता गर्दा फोटो तथा बायोमेट्रिक लिने व्यवस्था गरिएको रहेन छ । मतदाताको बाबुआमाको नाम पनि मतदाता नामावलीमा उल्लेख गरिएको देखिएन । मतदाता नामावलीमा मतदाताको नाम, घर नम्बर, मतदाता व्रmम सङ्ख्या र लिङ्‍गसहितको विवरण उल्लेख गरिने रहेछ । विदेशमा बस्ने श्रीलङ्कालीका लागि पनि छुट्टै नामावली सङ्कलन गर्ने व्यवस्था रहेन छ । यस पटकको निर्वाचनका लागि देशभर एक करोड ७१ लाख चालिस हजार ३५४ मतदाता कायम रहेका थिए ।

मतदान केन्द्र : एक लाइन र दुई लाइन

यस निर्वाचनका लागि देशभर तेह्र हजार ४२१ वटा मतदान केन्द्र कायम गरिएका थिए । मतदान केन्द्र निर्धारण गर्दा एक मतदान केन्द्रका लागि एक हजार मतदातालाई आधार लिएको पाइयो । एक मतदान केन्द्रमा एक हजारभन्दा बढी मतदाता भएमा उक्त केन्द्रमा दुइटा लाइनको व्यवस्था गरिने रहेछ । यस आधारमा एक लाइन हुने मतदान केन्द्रको सङ्ख्या छ हजार १४० र दुई लाइन हुने मतदान केन्द्रको सङ्ख्या सात हजार २४१ रहेछ । प्रायः एक किलोमिटरको दुरीमा मतदान केन्द्र राखेको पाइयो । मतदान गर्न महिला र पुरुषका लागि अलग अलग लाइनको व्यवस्था गरेको पाइएन । मतदानको लाइन लाग्न सङ्केत गर्न डोरी साङ्केतिक मात्र थियो । 

मतदान अधिकृत, मतदान कर्मचारी, उम्मेदवारका प्रतिनिधि, मतपेटिका र मत सङ्केत गर्ने स्थान एउटा कोठाभित्रै अट्ने गरी संरचना बनाइएको पाइयो । श्रीलङ्कामा मतदान केन्द्रलाई नम्बरले सङ्केत गरिने रहेछ । एउटै स्थानमा दुई वा सोभन्दा बढी मतदान केन्द्र रहने भएमा पनि अलग नम्बरले सङ्केत गरिने रहेछ । 

 निर्वाचन अधिकृत र अन्य कर्मचारी 

निर्वाचन सम्पन्न गर्न श्रीलङ्कामा कायम गरिएका २२ निर्वाचन जिल्लामा एक/एक जना निर्वाचन अधिकृत नियुक्त गरिएको थियो । नेपालमा जिल्ला प्रशासन कार्यालय भनिए जस्तै श्रीलङ्कामा जिल्लाको मुख्य प्रशासन सञ्चालन गर्ने कार्यालयका रूपमा ‘जिल्ला सचिवालय’ रहेछ । उक्त सचिवालयका सचिवलाई निर्वाचन अधिकृतमा नियुक्ति गर्ने अभ्यास रहेछ । निर्वाचन अधिकृत नियुक्ति गर्दा न्यायाधीश वा न्याय सेवाका अधिकृतलाई उपयोग गरेको देखिएन । सहायक निर्वाचन अधिकृतको सङ्ख्या आवश्यकता अनुसार निर्धारण गरेको पाइयो । श्रीलङ्काको सार्वजनिक सेवाको प्रशासन र विकासतर्फका कर्मचारीलाई मतदान कार्यमा खटाइँदो रहेछ । शिक्षकलाई मतदान कर्मचारीका रूपमा परिचालन गरेको देखिएन । 

एक मतदान केन्द्रमा न्यूनतम नौ जना कर्मचारी खटाएको देखियो । निर्वाचनलाई नजिकबाट अनुगमन गरी व्यवस्थित गर्न श्रीलङ्का निर्वाचन आयोगले प्रत्येक जिल्लामा निर्वाचन उपआयुक्त र सहायक आयुक्त खटाइँदो रहेछ । निर्वाचन अधिकृतलाई निर्वाचनसम्बन्धी विवाद निरूपण गर्ने जिम्मेवारीसमेत प्रदान गरिएको थियो । यसका लागि छुट्टै विवाद निरूपण केन्द्रसमेत स्थापना गरिएको थियो ।

मतपत्र र मतदान प्रक्रिया 

श्रीलङ्कामा नेपालमा जस्तै कागजको मतपत्र प्रयोगमा छ । विद्युतीय मतदान मेसिनको हालसम्म अभ्यास भएको छैन । उम्मेदवारको चुनाव चिह्न राख्‍न र मत सङ्केत गर्न दुइटा ‘कोलम’ भएको मतपत्रको डिजाइन भएको देखियो । यस पटक ३९ जना उम्मेदवार भएकाले मतपत्र लामो देखिन्थ्यो । मतदाताले फोटासहितको आफ्नो जुनसुकै परिचयपत्र देखाएपछि मतपत्र उपलब्ध गराइने र कार्ड बोर्डले बनाइएको छेकबारमा गई गोप्य रूपमा मत सङ्केत गर्ने व्यवस्था रहेको थियो । मत सङ्केत गर्दा मतदान गर्ने पहिलो रोजाइको उम्मेदवारको चुनाव चिह्नको लहरमा रहेको कोठामा ‘क्रस’ चिह्न लगाउने र दोस्रो तथा तेस्रो रोजाइको उम्मेदवारको चुनाव चिह्नको लहरमा रहेको कोठामा ‘२’ र ‘३’ लेख्‍नुपर्ने प्रावधान रहेछ । 

नेपालमा प्रचलनमा रहेको स्वस्तिक छाप लगाउने चलन श्रीलङ्कामा भएको पाइएन । कार्ड बोर्डबाट बनाइएको बाकसलाई मतपेटिकाका रूपमा प्रयोग गरिँदै आएकोमा प्लास्टिकको पारदर्शी मतपेटिका हुँदै  हाल कार्ड बोर्डको मतपेटिका प्रयोगमा आएको रहेछ । अशक्त मतदाताले मतदान गर्न जाँदा परिवारको सदस्य लैजान चाहेमा निर्वाचन आयोगमा अग्रिम अनुमति माग गर्नुपर्ने व्यवस्था रहेछ । अग्रिम अनुमति नलिई मतदान केन्द्रमा पुगेर मतदानका लागि सहयोगी माग गरेमा मतदान अधिकृतले मतदानमा खटिएको अर्को कुनै कर्मचारीको रोहबरमा मतदाताले रोजेको उम्मेदवारलाई मत सङ्केत गरी मतपेटिकाभित्र राखिदिने व्यवस्था मिलाइएको रहेछ । विदेशमा बस्ने श्रीलङ्कालीका लागि मतदानको सुविधा रहेन छ ।

अग्रिम मतदानको व्यवस्था 

श्रीलङ्कामा हुलाकमार्फत पठाइने अग्रिम मतदानको व्यवस्थासमेत रहेको छ । यसलाई ‘पोस्टल भोटिङ’ भनिने रहेछ । मतदानको दिनमा निर्वाचनको काममा खटिनुपर्ने कर्मचारी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा खटिनुपर्ने कर्मचारीका लागि अग्रिम मतदानको व्यवस्था गरिएको रहेछ । अग्रिम मतदान गर्न चाहने कर्मचारीले निर्वाचन आयोगले उपलब्ध गराएको अनलाइन एपमा राखिएको आवेदन फाराम प्रिन्ट गरी वा सोझै भरी अनलाइनबाट प्रविष्‍ट गर्नुपर्ने रहेछ । तोकिएको मितिभित्र प्राप्‍त हुन आएका आवेदनहरूलाई जाँचबुझ गरी हुलाक मतदान नामावली तयार हुने रहेछ । 

हुलाकबाट मतदान गर्न तोकिएको मुख्य दिनभन्दा केही दिनअगाडि नै हुलाक मतदानका लागि निर्धारण गरिएका केन्द्रमा गई मतपत्र लिने, मत सङ्केत गर्ने र मतपत्र निर्वाचन आयोगले उपलब्ध गराएको खाममा खामबन्दी गरी खटिएका कर्मचारीलाई बुझाउनुपर्ने रहेछ । यसरी बुझाइएका सिलबन्दी खाम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पु¥याई भण्डारण गरिने र मतदान केन्द्रहरूमा हुने मतदानको कार्य सकिएपछि मात्र गणना सुरु गर्ने नीति अवलम्बन गरिएको रहेछ ।

मतगणना : एकै पटक धेरै स्थानबाट मतगणना 

मतदानको कार्य समाप्‍त भई निर्वाचन कार्यालयमा मतपेटिका प्राप्‍त हुनासाथ मतगणना गर्न सुरु गरिन्छ । अग्रिम मतदान भई हुलाकमार्फत प्राप्‍त हुन आएका मतपत्रको गणना पहिलो चरणमा हुने र मतदान केन्द्रहरूबाट आएका मतपेटिकाको गणना दोस्रो चरणमा गरिने रहेछ । मतगणना गर्दा मतपत्रलाई मतगणना गर्ने कोठामा राखिएको लामो टेबलमा खोलिन्छ । मतगणनामा संलग्न मतगणना अधिकृतसहित सबै कर्मचारी मतगणना समाप्‍त नहुन्‍जेल उभिएरै मतगणना गर्नुपर्ने रहेछ । उनीहरूलाई पालो दिने अर्को टोलीको व्यवस्था गर्ने प्रावधान रहेन छ । उम्मेदवारका प्रतिनिधिलाई मतगणना गर्ने कोठाको छेउमा एक लहरमा कुर्सीमा बस्ने व्यवस्था मिलाइँदो रहेछ । मतगणना गर्दा प्रत्येक मतपत्रमा गरिएको मत सङ्केत हेरी गणना तालिकामा चढाइन्छ । गणना तालिकामा मतदाताले मतपत्रमा उल्लेख गरेको प्राथमिकता क्रम अनुसार पहिलो, दोस्रो र तेस्रो मतको अभिलेख राखिन्छ । 

श्रीलङ्काको राष्‍ट्रपति पदमा निर्वाचित हुन कम्तीमा ५० प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था छ । पहिलो प्राथमिकतामा परेको मतगणना गर्दा कुनै पनि उम्मेदवारको ५० प्रतिशत मत नआएमा प्राप्‍त मतको पहिलो तीन उम्मेदवार कायम राखी बाँकी सम्पूर्ण उम्मेदवारलाई सूचीबाट हटाइन्छ र कायम रहेका उम्मेदवारको चुनाव चिह्नमा सङ्केत गरिएको दोस्रो प्राथमिकताको मत तत् तत् उम्मेदवारको मतमा गणना गरिन्छ । यस पटकको मतगणना गर्दा पहिलो प्राथमिकताको मतगणना गर्दा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नआएपछि दोस्रो प्राथमिकताको मतगणना भएको थियो । यस पटक देशभर गरी १७१३ स्थानबाट एकै पटक मतगणना सुरु गरिएकाले मतगणना सुरु भएको २४ घण्टाभित्र अन्तिम नतिजा आएको थियो ।

निर्वाचन पर्यवेक्षण 

यस निर्वाचनको अवलोकन गर्न श्रीलङ्का निर्वाचन आयोगले विभिन्न देशका निर्वाचन आयोग र अन्तर्राष्ट्रिय संस्थालाई निमन्त्रणा गरेको थियो । निर्वाचन अवलोकनका लागि नेपाल, बङ्गलादेश, भुटान, माल्दिभ्स, फिलिपिन्स र रुसका उच्च सरकारी प्रतिनिधिको उपस्थिति थियो । त्यसै गरी युरोपेली आयोग, ट्रान्सपरेन्सी इन्टरनेसनलसहित अन्य संस्थाबाट पनि निर्वाचन पर्यवेक्षण गरेको देखियो । श्रीलङ्काका पत्रकार, नागरिक समाज, गैरसरकारी संस्थाका प्रतिनिधि निर्वाचन पर्यवेक्षणमा सहभागी रहेका थिए ।

नेपालका लागि शिक्षा 

नेपालको निर्वाचन प्रणालीमा अवलम्बन गरिएका कतिपय व्यवस्था श्रीलङ्काको भन्दा राम्रा देखिए । फोटोसहितको मतदाता नामावली, वर्षभर मतदाता नामावली दर्ता, मतदाता नामावलीका लागि अनलाइन फाराम भर्न मिल्ने सुविधा, बाह्‍य जिल्ला मतदाता नामावली दर्ता, मतदान गर्न परिवारको सदस्य लैजान सक्ने सुविधा,  लैङ्गिकमैत्री मतदान केन्द्र, सिफ्ट प्रणालीको मतगणनालगायतका विषयमा नेपालमा अवलम्बन गरिएको विधि श्रीलङ्काको भन्दा राम्रा देखिए । श्रीलङ्काको निर्वाचन प्रणालीमा रहेका असल अभ्यास हेर्दा नेपालमा देहायबमोजिमका व्यवस्था अवलम्बन गर्न सकिन्छ ।

१. निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र अत्यावश्यक सेवामा संलग्न रही मतदानको दिनमा मतदान केन्द्रमा गई मतदान गर्न नसक्ने कर्मचारीका लागि अग्रिम मतदानको व्यवस्था मिलाउन उपयुक्त हुने छ ।

२. श्रीलङ्कामा प्रत्येक मतदान केन्द्रमा दुई जना मात्र सुरक्षाकर्मी खटाएको देखियो । दुई जना सुरक्षाकर्मीको उपस्थितिमा पनि शान्तिसुरक्षा मजबुत रहेको पाइएकाले नेपालमा पनि सोही सुरक्षा मनोविज्ञान अपनाउन उपयुक्त हुने देखिन्छ ।

३. निर्वाचन अधिकृतका रूपमा निजामती सेवाको जुनसुकै सेवा समूहका अधिकृतलाई नियुक्ति गर्न सक्ने कानुनी व्यवस्था मिलाउन उपयुक्त हुने छ । जसले गर्दा न्यायमूर्तिलाई समयमै न्याय सम्पादन गर्न कुनै व्यवधान नहुने देखिन्छ ।

४. निर्वाचन अधिकृतको कार्यालयबाट मतदान सामग्री वितरण गर्दा विभिन्न मतदान केन्द्रलाई समूहकृत गरी विभिन्न कोठाबाट वितरण गर्ने र मतदानको कार्य समाप्‍त भएपछि मतपेटिका तत् तत् कोठामा जम्मा गरी सोही कोठाबाट एकै पटक मतगणना गर्ने व्यवस्था मिलाउन उपयुक्त हुन्छ । यसले गर्दा नतिजा छिटो प्राप्‍त हुने छ ।

५. निर्वाचन कार्यालयबाट नै सवारीसाधनको व्यवस्था गरी मतदान केन्द्रमा खटिने मतदान अधिकृत, कर्मचारी र आवश्यक सामग्रीको ढुवानी गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुने छ । जसले गर्दा मितव्ययी तरिकाले मतदान केन्द्रसम्मको ढुवानी सुनिश्‍चित हुन जाने छ ।

–लेखक निर्वाचन आयोगका सचिव हुनुहुन्छ ।

   

Author

रविलाल पन्थ