• २४ मंसिर २०८१, सोमबार

कर्णालीमा एक जना बेपत्ता

blog

कर्णाली नदीमा खोजी कार्य गर्दै सशस्त्र प्रहरी ।

एकिन्द्र तिमिल्सेना

टीकापुर, कात्तिक १९ गते । कात्तिक १७ गते कर्णाली नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका विशाल चौधरी अझै भेटिएका छैनन् । टीकापुर नगरपालिका–७ सत्तीका २२ वर्षिय चौधरी चार जना साथीहरुसहित नदीमा नुहाउन गएका थिए । 

पौडी खेलेर तीन जना फर्के पनि विशाल भने नफर्किएको प्रहरी चौकी सत्तीका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक टेकबहादुर चन्दले जानकारी दिनुभयो । एक वर्ष भारतमा बसेर हप्तादिन अघि भारतबाट भाइटीका लगाउन नेपाल आउनुभएका चौधरी भाइटीकाको अघिल्लो दिनमै नदीमा डुबेर बेपत्ता भएका हुन् ।

चौधरी बेपत्ता भएपछि प्रहरी चौकी सत्ती, प्रहरी चौकी बालाकुण्डा, सशस्त्र प्रहरी बल खक्रौला, सशस्त्र प्रहरी बल कुसुमघाटबाट प्रहरी टोलीले खोजी कार्य जारी राखेको छ । हराएको तीन दिन भैसक्दा पनि कर्णाली नदीमा डुबेका चौधरीको कुनै अत्तोपत्तो छैन । 

सोमबार दिनभरी र्‍यfफ्टको सहायताले खोजीकार्य गर्दा पत्ता नलागेको र मङ्गलबार सशस्त्र प्रहरीको बैद्यनाथ वाहिनी अत्तरियाबाट गोताखोर मगाएर खोजी गरिने वडाध्यक्ष यज्ञप्रसाद न्यौपानेले जानकारी दिनुभयो । विशाल बेपत्ता भएपछि एघार जनाको चौधरी परिवार शोकमग्न छ ।