ढाका, कात्तिक १९ गते । बङ्गलादेशमा डेंगुका कारण एकै दिन यो वर्षको सबैभन्दा बढी १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा थप एक हजार ३४८ जनामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगुबाट सङ्क्रमित भएका थिए ।
डेंगु ज्वरो एडिस लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यो रोगले टाउको दुख्ने, उच्च ज्वरो आउने, थकाइ लाग्ने, मांसपेशी र जोर्नीदुख्ने, ग्रन्थि सुन्निने, वान्ता हुने र चिलाउने जस्ता लक्षणसहित गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ ।
यस भाइरसबाट यो वर्ष सङ्क्रमित हुनेको सङ्ख्या ६३ हजार १६५ पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।
यस वर्ष डेंगुका कारण अक्टोबरमा १३४, सेप्टेम्बरमा ८०, अगस्टमा २७ र जुलाईमा १२ जनाको मृत्यु भएको थियो । बङ्गलादेशमा सन् २०२३ मा डेङ्गुका कारण एक हजार ७०५ जनाको मृत्यु भएको थियो ।
सन् २०२२ मा २८१ र सन् २०१९ मा १७९ जनाको डेंगुका कारण मृत्यु भएको थियो ।
डेंगुको बढ्दो सङ्ख्यासँग जुध्न बङ्गलादेशी स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा विरोधी अभियान सञ्चालन गर्न कडा उपाय चालेका छन् । रासस/एएफपी