• २२ मंसिर २०८१, शनिबार

मुकुन्दशरण उपाध्यायलाई शुक्ला साहित्य राष्ट्रिय पुरस्कार

blog

सम्मान ग्रहण गर्नुहुँदै साहित्यकार एवम् भाषाविद् मुकुन्दशरण उपाध्याय । तस्बिरः फडिन्द्र अधिकारी

लेखनाथ, कात्तिक १६ गते । शुक्ला साहित्य राष्ट्रिय पुरस्कारबाट साहित्यकार एवम् भाषाविद् मुकुन्दशरण उपाध्यायलाई सम्मान गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा स्थापित यो पुरस्कारबाट उपाध्यायलाई गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ र संस्थाका अध्यक्ष हरिबहादुर वरुवालले सम्मान गनुभएको हो ।

जनस्तरबाट रकम सङ्कलन गरी अक्षयकोषमार्फत सञ्चालित यो पुरस्कारको राशि नगद ५५ हजार पाँच सय ५५ रुपियाँ र सम्मानपत्र छ । ‘प्राकृत पोखरा’का लागि मदन पुरस्कार पाउनुभएका उपाध्यायको नेपाल भाषा र व्याकरणको क्षेत्रमा पनि विशेष योगदान छ । 

कार्यक्रममा साहित्यकार उपाध्यायले पोखराको प्राकृत साहित्यलाई बचाइराख्न भूमिका खेल्न सबैलाई आग्रह गर्नुभयो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति बिखर्चीले साहित्य राजनीतिभन्दा धेरै माथि रहेको विचार राख्ने समाजका उपयोगी साहित्य सिर्जनामा लाग्न आग्रह गर्नुभयो।

यो पुरस्कारवाट यसअघि मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, डा. रविलाल अधिकारी, सरुभक्त श्रेष्ठ, वात्स्यायन, चेतमानसिंह भण्डारी, जीवन शर्मा, हरिदेवी कोइराला, हंसपुरे सुवेदी, चूडामणि बन्धु र प्राडा जगमान गुरुङ सम्मानित भइसक्नुभएको छ ।