• १९ पुस २०८१, शुक्रबार

मनै लोभ्याउने फूल र ड्राइगन फ्रुट

blog

बारीमा फुलेको फूल र ड्राइगन फ्रुट ।

नवराज श्रेष्ठ

रामेछाप, कात्तिक १५ गते । रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका बारीका पाटाहरू अहिले सयपत्री फूलले ढाकेको छ । गाउँमा काम गर्ने जनशक्ति अभावले खेती गर्न छाडिएपछि धेरै वर्ष बाँझै बसेर खण्डहरजस्तै बनेका बारीका पाटाहरूमा अहिले ढकमक्क सयपत्री फूल फुलेर वातावरण मनमोहक बनेको छ ।  

केही वर्ष अघिसम्म उराठलाग्दो देखिने पाखाबारीको सुन्दरता पनि बढाएको छ । अति सुख्खाग्रस्त क्षेत्र मानिने मन्थली नगरपालिका–५ सुनारपानीका वीरबहादुर शाहीको बारीका पाटाहरूमा अहिले ढकमक्क सयपत्री फूल फूलेका छन् । शाहीको बारीमा फुलेको सयपत्री फूलले सबैको मन लोभ्याउँछ । लामो समयदेखि काठमाडौँमा नर्सरी व्यवसाय गर्दै आउनुभएका शाही अहिले गाउँ फर्केर कृषि कर्ममा लाग्नुभएको छ । २०५३ सालदेखि काठमाडौँमा नर्सरी व्यवसाय गर्दै आउनुभएका शाहीलाई गाउँमै केही गर्ने सोच पलाएको छ ।  

सोही सोचअनुसार विगत २ वर्षदेखि गाउँमै कृषि कर्ममा क्रियाशील रहेको शाही बताउनुहुन्छ । उहाँले भन्नुभयो, “२०५३ सालदेखि काठमाडौँमा नर्सरी व्यवसाय गरियो । अहिले पनि काठमाडौँमा नर्सरी व्यवसाय छ । आफ्नो गाउँमा पनि भएको सिप प्रयोग गरी कृषि कर्ममा लागियो । गाउँमा पनि सोचिएभन्दा धेरै राम्रो भइरहेको छ । पहिला बाँझै बसेका बारीका पाटाहरू अहिले फूल र ड्राइगन फ्रुटले ढाकिएको छ ।”

शाहीले भदौरे कालिका कृषि फर्म दर्ता गरी बारीमा काम गरिरहनु भएको छ । साहीको बारीमा अहिले ढकमक्क सयपत्री फूल मात्र फूलेका छैनन् । ८ सयभन्दा बढी ड्राइगन फ्रुटको बिरुवा पनि रहर लाग्दा छन् । सिजनका बेला ड्राइगन फ्रुट बारीबाटै बिक्री हुने गरेको शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “रामेछाप जिल्लामा अमिलो जातको फलफूल, त्यसमा पनि जुनार, सुन्तला र कागती राम्रो उत्पादन हुन्छ । सोही कुरालाई ध्यानमा राखेर अहिले फर्मबाट जुनार, सुन्तला र कागतीलगायत अन्य विभिन्न जातका बिरुवाहरू उत्पादन भइरहेको छ ।”

२८ वर्षदेखि नर्सरी व्यवसायमा रहेको भए पनि गाउँमा कृषि कर्ममा लागेको २ वर्ष भएको शाहीले बताउनुभयो । यो अवधिसम्म ६० लाख रुपियाँभन्दा बढी लगानी भएको शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा कृषि फर्म सुरुवात गरेको २ वर्ष भयो । यो अवधिसम्म ६० लाख रुपियाँभन्दा बढी लगानी भइसकेको छ । यो वर्ष फूल उत्पादन राम्रो भयो । बजार पनि राम्रै पाइयो । ड्राइगन फ्रुट पनि सोचेभन्दा राम्रो फल्यो ।”