• ८ मंसिर २०८१, शनिबार

तथ्यहीन सूचनाले पत्रकारितामाथि धावा : अध्यक्ष बस्नेत

blog

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत ।

गोरखापत्र अनलाइन 

काठमाडौं, कात्तिक १५ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको बताउनुभएको छ । पत्रकारिताको आवरणमा गलत क्रियाकलाप रोक्न काउन्सिलले तदारुकता देखाइरहेको उहाँले बताउनुभयो ।

शुक्रबारदेखि विविध मातृभाषामा समाचार दिन थालेको एक अनलाइनलाई शुभकामना दिने क्रममा अध्यक्ष बस्नेतले अबको पत्रकारिता प्रविधिमैत्री र रचनात्मक हुनुपर्ने सुझाव राख्नुभयो । आजको डिजिटल दुनियाँमा प्रविधिमैत्री र सबैले अपनत्व लिने माध्यम भए मात्र पत्रकारिता फस्टाउँछ । समाचारका प्रस्तुतिमा फरकपन ल्याउनुपर्छ, उहाँले भन्नुभयो । 

तथ्य र आधारहीन, एकपक्षीय र हावादारी प्रस्तुतिले पत्रकारितामाथि धावा बोलेको उहाँको बुझाइ छ । यसलाई रोक्न विश्वसनीय र रचनात्मक पत्रकारिताको खाँचो रहेको उहाँले बताउनुभयो ।

प्रेस काउन्सिलले तीन महिना यता रचनात्मक र समाधानमुखी पत्रकारितालाई सबै समाचार कक्षमा लागू गराउन विशेष अभियान थालेको छ । मिडियाको दुरुपयोग गर्दै आधारहीन, अश्लील र एकपक्षीय सामग्री प्रकाशन गर्ने युट्युबसहित विभिन्न माध्यममाथि कडा निगरानी गर्दैआएको छ ।

काउन्सिलले युट्युब व्यवस्थापनसम्बन्धी बेग्लै कार्यविधि बनाई नियमन गर्दै आएको छ । दसैँअघि मात्र काउन्सिलले ४३ वटा युट्युबलाई कारबाही गरेको थियो । कुशल अधिवक्ता समेत रहेका अध्यक्ष बस्नेत नेतृत्वको काउन्सिलले थालेको यो काम उदाहरणीय भएको बताइएको छ ।