• २७ पुस २०८१, शनिबार

बालोन डी’ओर रोड्रीको पोल्टामा

blog

बालोन डी’ओर अवार्डसहित रोड्री । तस्बिर : बीबीसी

काठमाडौँ, कात्तिक १३ गते । बालोन डी’ओर अवार्ड–२०२४ स्पेनिस मिडफिल्डर रोड्रीले जित्नुभएको छ ।

इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट व्यावसायिक फुटबल खेल्दै आउनुभएका २८ वर्षीय रोड्रीले ब्राजिल एवं स्पेनिस क्लब रियल म्याड्रिडका भिनिसियस जुनियरलाई पछि पार्नुभयो ।

रियलकै जुड बेलिङ्घम तेस्रो स्थानमा रहनुभयो । रोड्रीले गत सिजन स्पेनबाट युरोपियन च्याम्पियनसिप तथा इङ्लिस क्लब सिटीबाट प्रिमियर लिग, युइएफए सुपर कप र क्लब विश्वकप जित्नुभएको थियो । 

फ्रान्सको पेरिसमा सोमबार राति विशेष समारोहबिच अवार्ड प्रदान गरिएको हो । अवार्ड जितेपछि रोड्रीले यो आफ्नो परिवार र स्पेनिस फुटबलका लागि विशेष दिन रहेको बताउनुभयो ।

‘‘यस अवार्डको हकदार भएर पनि पहिला स्पेनका आन्द्रेस इनियस्टा, जाभी हर्नान्डेज, इकर कासिलास, सर्जियो बुस्केटलगायत खेलाडीले जित्न सक्नुभएन । म उहाँहरूलाई पनि यो अवार्ड समर्पण गर्न चाहन्छु,’’ रोड्रीले भन्नुभयो । 

महिला तर्फको बलोन डी’ओर बार्सिलोनाकी स्पेनिस मिडफिल्डर आइटाना वोन्मतीले जित्नुभयो । उहाँले लगातार दोस्रो पटक यस अवार्ड जित्नुभएको हो । रियाल म्याड्रिड वर्षको उत्कृष्ट क्लब र रियालका कार्लो एन्सेलोट्टीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जित्नुभयो ।

बार्सिलोनाका युवा स्टार लामिन यामलले कोपा ट्रफी जित्नुभयो । अर्जेन्टिनाका गोलरक्षक एमिलयानो मराटिनेजले उत्कृष्ट गोलरक्षकको ट्रफी जित्नुभयो । ह्यारी केन र केलिएन एमबाप्पेले गर्ड मुलर अवार्ड जित्नुभयो ।

महिलातर्फ उत्कृष्ट प्रशिक्षकको अवार्ड इङ्ल्यान्डकी एम्मा हायसले हात पार्नुभयो । महिलातर्फ उत्कृष्ट क्लबको अवार्ड बार्सिलोनाले जित्यो ।  एजेन्सी