• ७ मंसिर २०८१, शुक्रबार

कृषिमा हराउँदै दाइँ परम्परा, बढ्दै आधुनिक प्रविधिको प्रयोग

blog

दाइँ परम्परा हराएपछि थ्रेसरबाट धान झार्दै । तस्बिर : यादवराज पुरी

यादवराज पुरी
रौतहट, कात्तिक १३ गते ।
 पछिल्लो समय गोरुको अभाव र कृषिमा भित्रिएको आधुनिक प्रविधिका कारण गाउँमा दाइँ गर्ने परम्परा हराउँदै जान थालेको छ ।

केही वर्ष अघिसम्म गोरु र मान्छे कै सहारामा दाइँ हाल्दै आएका रौतहटका अधिकांश किसान पछिल्लो समय आधुनिक थ्रेसर मेशिन र ट्रेक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ परम्परा हराउँदै गएको हो । 

एक दशक अघिसम्म खेतका फाँटमा खलो बनाइ धान, मसुरो, तोरी, गहुँलगायतका अन्न झारेर बोटमा बाँकी बसेका अन्न झार्नका लागि मियोका वरिपरि गोरु घुमाई बोट कुल्चाई दाइँ गर्ने परम्परा थियो । पछिल्लो समय किसानले गोरु पाल्न छाडेपछि थ्रेसर र ट्रेक्टरको सहायताले दाइँ गर्न थालिएको हो ।

गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन हट्न थालेपछि ट्रेक्टरले खेत जोत्न र थ्रेसरले धान चुट्न थालिएको चन्द्रपुर नगरपालिका–६ का किसान हरदेव चौधरीले बताउनुभयो । उहाँकाअनुसार कृषिमा प्रविधिको विकासले गाउँघरबाटै दाइँ संस्कृति हजाउँदै जान थालेको छ ।

थ्रेसर मेसिन, ट्रयाक्टर हलोको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भए पनि मौलिक संस्कृतिको भने मर्ममै प्रहार हुन थालेको आभास भएको गुजरा नगरपालिका मैराका ज्येष्ठ नागरिक जयशङ्कर धामीको धारणा छ ।

उहाँ भन्नुहुन्छ, “मेसिनको सहायताले दाइँ गर्दा त्यसले उडाएको भुसले वातावरणमा नकारात्मक प्रभाव पर्नुको साथै जनस्वास्थ्यमा समेत असर परेको छ । श्वासप्रश्वासको समस्या भएका बालबालिका र वृद्ध नागरिकलाई असर गरेको छ । आँखामा धुलो परेर समस्या सिर्जना हुने गरेको पनि छ । तर खेत मै खलो बनाई दाइँ गर्दा त्यस्तो समस्या हुँदैन थियो ।”

युवाशक्ति विदेश पलायन हुनु, गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन सकस हुनु र पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले पनि जिल्लाका किसानले कृषि यन्त्रको प्रयोग बढाएका हुन् । जसबाट अन्न झार्ने तथा पराल भुसा वा नल एकै पटकमा माडिने हुँदा समय, श्रम र पैसाको बचत हुने गरेको किसान स्वयं बताउँछन् ।