• २७ पुस २०८१, शनिबार

जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरौँ : कृषिमन्त्री अधिकारी

blog

कार्यक्रमलाई सम्बोधन गनुहुँदै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, कात्तिक १३ गते । संघीय सरकारका कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले कार्यालयका सबै कर्मचारीले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आवश्यक रहेको बताउनुभएको छ । 

कृषि सम्बद्ध कार्यालयहरुको अनुगमन तथा निरीक्षणका क्रममा नेपालगन्ज आउनुभएका मन्त्री अधिकारीले मङ्गलबार बिहान कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश कार्यालय खजुरामा आयोजित एक कार्यक्रममा सम्बद्ध कर्मचारीलाई निर्देशन दिनेक्रममा सो कुरा बताउनुभएको हो । 

“हामीसँग उपलव्ध कृषि वैज्ञानिक तथा प्राविधिकहरु जति हुनुहुन्छ, तपाइँहरु सबै किसानका समस्या सुन्न र समाधान गर्नका लागि उहाँहरुका खेतबारीमै पुग्नुहोस्, गरिबीको रेखामुनी रहेका किसानको मर्का बुझ्नु होस् र समस्या समाधान गर्नुहोस्, आफ्नो पदीय जिम्मेवारीअनुसार इमान्दारीताका साथ काम गर्नुहोस्” कृषिमन्त्री अधिकारीले भन्नुभयो ।

कृषिसँग आबद्ध रहेका सबै कार्यालयले गरिबीको रेखामुनि रहेको आम नेपाली किसानको जीवनस्तर उकास्नका लागि दीर्घकालीन कार्ययोजना तथा कार्यक्रम बनाउनुहोस्” मन्त्री अधिकारीले भन्नुभयो, “आफूले सकेको र कार्यालयले सक्ने जति आवश्यक सहयोग गर्नुहोस्, कहीँ कतै पनि कमजोरी नगरेर किसानसँग आबद्ध भएर उत्पादनलाई कसरी वृद्धि गर्न सकिन्छ भन्नेतर्फ लाग्नुहोस् ।”

मन्त्री अधिकारीले आफू मन्त्री बनेर आएको करिब चार महिना पुग्न लागेको भन्दै भन्नुभयो, “म मन्त्री बनेर आएको चार महिना पुग्दैछ, नेपाल कृषि अनुसन्धान परिषद्मा तमाम समस्याका चाङ छन, ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था अहिले अत्यन्तै लथालिङ्ग अवस्थामा रहेको पाएँ । सुधार गर्न समय लाग्छ, पहल गर्दैछु, सुधार गर्नका लागि आवश्यक कदम चाल्नेछु ।”

परिषद्का अध्यक्षसमेत रहनुभएका मन्त्री अधिकारीले भन्नुभयो, “म मन्त्रालयको मन्त्रीका साथै कृषि अनुसन्धान परिषद्को अध्यक्षसमेत भएको नाताले यहाँभित्र देखिएका बेथितीहरुको नैतिक जिम्मेवारी मेरै हुन्छ, मेरो जिम्मेवारीमा र दायीत्वभित्र पर्ने कामलाई मैले इमान्दारीताका साथ गरेर देखिएका तमाम समस्याका समाधान गर्न पहल गर्नेछु ।”

कृषि कर्म गर्ने किसानहरुको अभिभावक भनेकै कृषि वैज्ञानिक र प्राविधिक भएको हुँदा कर्मचारीलाई मोबाइलमा तास खेलेर मात्र समय नबिताउन आग्रह गर्दै मन्त्री अधिकारीले फिल्डमै पुगेर कृषि कर्म गर्ने किसानहरुको साथ दिन निर्देशनसमेत दिनुभयो ।

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा. समीद अहमदले मन्त्रीसमक्ष कार्यालयले गरेका विभिन्न कार्यहरुको जानकारी गराउनुका साथै कार्यालयका समस्याहरुसमेत समाधान गरिदनका लागि मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।