• २७ पुस २०८१, शनिबार

सिन्धुलीमा एक सय ८२ जनामा डेंगु सङ्क्रमण

blog

बाबुराम देवकाेटा

सिन्धुलीमाढी, कात्तिक १३ गते । सिन्धुली जिल्लामा डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगेको छ । जिल्लामा पछिल्लो पटक सोमबार थप सात जनामा डेंगु सङ्क्रमण पुष्टि भएसँगै डेंगु सङ्क्रमण बिरामीको सङ्ख्या १८२ पुगेका हो । सोमबार डेंगु सङ्क्रमण पुष्टि हुनेमा दुधौली नगरपालिका छ जना र कमलामाई नगरपालिकाका एक जना रहेको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ । 

कार्यालयका अनुसार साउन १ गतेदेखि सोमबार(कात्तिक १२ गते)सम्म डेंगु सङ्क्रमण पुष्टि भएका मध्ये १०१ जना पुरुष र ८१ जना महिला रहेका छन् । डेंगुका बिरामी सबैभन्दा बढी दुधौली नगरपालिकामा १२६ जना देखिएका छन् । त्यसपछि कमलामाई नगरपालिकामा ३६ जना, मरिण गाउँपालिकामा नौ जना, तीनपाटन गाउँपालिकामा छ जना, फिक्कल र गोलन्जोर गाउँपालिकामा दुई-दुई जना तथा सुनकोसी गाउँपालिकामा एक जना देखिएका छन् ।

हरिहरपुरगढी र घ्याङ्लेख गाउँपालिकामा डेंगुका बिरामी हालसम्म फेला नपरेको कार्यालयका ल्याब टेक्नीशियन अधिकृत गंगाराम कार्कीले जानकारी दिनुभयो । यसैगरी, सोही अवधिमा सिन्धुली जिल्लामा १६७ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । ती मध्ये सोमबार मात्रै दुधौली नगरपालिकामा एक जना महिला र पुरुष गरी दुई जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।

स्क्रब टाइफसको सङ्क्रमणका बिरामी मध्ये ९२ जना महिला र ७५ जना पुरुष रहेका छन् । स्क्रब टाइफसको सङ्क्रमण सबैभन्दा बढी दुधौली नगरपालिकामा ११५ जनामा देखा परेको ल्याब टेक्नीशियन अधिकृत कार्कीले बताउनुभयो । 

उहाँका अनुसार तीनपाटन गाउँपालिकामा २४ जना, कमलामाई नगरपालिकामा २० जना, हरिहरपुरगढी गाउँपालिकामा तीन जना, मरिण गाउँपालिकामा दुई जना र गोलन्जोर, सुनकोसी तथा  घ्याङ्लेख गाउँपालिकामा एक-एक जनामा सङ्क्रमण देखिएको छ । फिक्कल गाउँपालिकामा उक्त रोगका बिरामी हालसम्म फेला परेका छैनन् ।