• १२ कात्तिक २०८१, सोमबार

इलाममा डेंगु सङ्क्रमण बढ्दो

blog

इलाम अस्पतालमा उपचार गराउँदै बिरामी । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल 

इलाम, कात्तिक १२ गते । पहाडी जिल्ला भए पनि इलाममा डेंगुको त्रास भने कायमै छ । अहिले पनि अस्पताल आएकाहरूमा डेंगु सङ्क्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ । 

सदरमुकामस्थित इलाम अस्पतालमा पनि कात्तिक महिना सुरु भएयता तीन जनामा डेंगु देखिएको अस्पतालले जनाएको छ । अस्पतालको तथ्याङ्क अनुसार गएको साउन महिना यता १९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ११ जनामा स्कप टाइफस  देखिएको बताइएको छ । 

अस्पताल आएका कतिपय बिरामी जिल्लामै उपचार गरेर घर फर्कने गरेका छन् भने कतिपय  झापाका अस्पतालमा रेफर गरिएको अस्पतालका  व्यवस्थापक क्षितिज खतिवडा बताउनुहुन्छ । 

जिल्लाका अन्य पालिकाहरूमा पनि फाटफुट रूपमा डेंगुका बिरामी भेटिने गरेको स्वास्थ्य कार्यालयका प्रवक्ता विमल बरालले जानकारी दिनुभयो । बरालका अनुसार अहिले सदरमुकाममा डेंगु नियन्त्रणको खास कार्यक्रम नभए पनि पालिकाहरूमा भने खोज र नष्ट गर अभियान पालिकाहरूले गरिरहेका छन् । 

‘अझै पनि डेङ्गुको त्रास कायमै छ । जतातै पानी जम्मा भएको स्थानको सरसफाइमा ध्यान पुर्‍याउनु नै पर्छ,’ प्रवक्ता बरालले भन्नुभयो ‘चिसो सुरु भए पनि लामखुट्टे भने अझै रहेको छ। झुल लगाएर सुत्ने, लामखुट्टेका लार्भाहरू मार्ने काममा सबैले  ध्यान दिन आवश्यक छ ।