• २६ पुस २०८१, शुक्रबार

जलवायु परिवर्तन प्रभावसँग लड्न एडिबीबाट पाकिस्तानलाई सहयोग

blog

इस्लामाबाद,  कात्तिक १२ गते । पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले जलवायु संरक्षणका लागि पाकिस्तानलाई सहयोग गर्न एशियाली विकास बैङ्क (एडिबी) को ५० करोड अमेरिकी डलर ऋणको लागि कृतज्ञता व्यक्त गर्नुभएको छ ।

पाकिस्तानी विदेशमन्त्रीले वाशिङटनमा एडिबीका अध्यक्ष मासात्सुगु आसाकावासँग भेट गर्नुभयो । भेटमा उहाँले पाकिस्तानको विकास एजेन्डा तथा देशमा प्राकृतिक प्रकोपका लागि जलवायु संरक्षण र सुरक्षा कार्यक्रमका लागि ५० करोड अमेरिकी डलर नीति–आधारित ऋणको स्वीकृतिका लागि बैङ्कको समर्थनको प्रशंसा गर्नुभयो ।

भेटमा दुवै अधिकारीले पाकिस्तानको राजस्व बढाउने, क्षेत्रीय सहयोगलाई बढावा दिने र इस्लामाबादमा एडिबीको कार्यालयलाई समयमै पूरा गर्ने सुनिश्चित गर्नेलगायतका सहयोगका प्रमुख क्षेत्रहरूमा छलफल गर्नुभएको थियो ।

अर्थमन्त्रीले एडिबीको कन्ट्री पार्टनरशिप फ्रेमवर्क छिट्टै पूरा हुने आशा व्यक्त गर्नुभयो । एडिबी बोर्डले अक्टोबर २९ मा हुने बैठकमा नयाँ ऋणका लागि पाकिस्तानको अनुरोधलाई विचार गर्नेछ ।

यसैबीच पाकिस्तानले जलवायु परिवर्तनको विनाशकारी प्रभावसँग लड्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) बाट थप दुई अर्ब अमेरिकी डलर माग गरिरहेको छ ।

यसअघि आइएमएफले आफ्नो बाह्य ऋण तिर्न सक्ने पाकिस्तानको क्षमतामा चिन्ता व्यक्त गरेको र यसलाई नाजुक भनेको थियो ।

यसअघि सेप्टेम्बर २५ मा आइएमएफको कार्यकारी बोर्डले पाकिस्तानको करिब सात अर्ब अमेरिकी डलर बराबरको ३७ महिने विस्तारित कोष सुविधा ९इएफएफ० सम्झौतालाई अधिकृत गरेको थियो । एडिबीको स्थापना सन् १९६६ मा भएको थियो र यसमा ६८ सदस्य छन् ।  रासस/एएनआई