• १२ कात्तिक २०८१, सोमबार

हिमश्वेता बाइस वर्षमै अधिकृत

blog

आयोग पास गरेपछि बडादसैँमा बुवाआमाबाट आशीर्वाद लिँदै हिमश्वेता भट्ट ।

बैतडी समाचारदाता

बैतडी, कात्तिक १२ गते  ।  बैतडीकी हिमश्वेता भट्टले २२ वर्षको कलिलो उमेरमै कृषि प्राविधिकतर्फको अधिकृत सातौँ तहमा नाम निकाल्न सफल हुनुभएको छ । बागमती प्रदेश लोक सेवा आयोगले लिएको कृषि अधिकृत सातौँ तहको परीक्षामा उहाँ पहिलो पटक सहभागी हुनुभएको थियो । 

दशरथ चन्द नगरपालिका–५, नौहाट घरभएकी हिमश्वेता कृषि तथा वन विज्ञान क्याम्पस रामपुरबाट कृषि विषयमा स्नातक तह हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तरको अध्ययन गरिरहेकै बेला बागमती प्रदेश लोक सेवा आयोगले दरखास्त आह्वान गरेपछि अनुभवका लागि आवेदन दिएको हिमश्वेताले बताउनुभयो ।  

उहाँले भन्नुभयो, “उच्च शिक्षा अध्ययनसँगै लोक सेवाको पनि अनुभव हुन्छ भनेर दरखास्त दिएकी थिएँ । पहिलो प्रयासमै लोक सेवा पास भइयो । आयोग पास गरेर देशको सेवा गर्ने मौका पाउँदा खुसी लागेको छ ।” 

आयोग पास भएपछि उहाँ मकवानपुर जिल्लाको बकैया गाउँपालिकामा कृषि अधिकृतमा सिफारिस हुनुभएको छ । सरकारले खटाएको कार्यक्षेत्रमा हाजिर हुन उहाँ शनिबार सुदूरपश्चिमबाट मकवानपुर पुग्नुभएको छ ।  

विसं २०५८ फागुन १६ गते बुवा थिरेन्द्रचन्द्र भट्ट र आमा गीता भट्टको कोखबाट उहाँको जन्म भएको थियो । हिमश्वेता पढाइमा निकै मेहनती रहेको शिक्षण पेसामा रहनुभएका बुवा थिरेन्द्रचन्द्र भट्टले बताउनुभयो । वैजनाथ मावि कञ्चनपुरमा विज्ञान विषय पढाउँदै आउनुभएका एक छोरी र एक छोराका पिता थिरेन्द्रचन्द्रले छोरीको सफलतामा परिवार खुसी भएको बताउनुभयो ।