रवीन्द्र उप्रेती
बर्दिबास, कात्तिक ११ गते । चाडबाड नजिकिने क्रमसँगै सीमा क्षेत्रबाट भारी मात्रामा पटाका बरामद हुन थालेको छ । सशस्त्रको बर्दिबासस्थित छिन्नमस्ता वाहिनी मुख्यालयले शुक्रबारसम्म ८ वटै जिल्लाको सीमा नाकाबाट करिब १३ लाख मूल्य बराबरका पटाका नियन्त्रणमा लिएको छ ।
यसैबिच महोत्तरी प्रहरीले पनि ३ लाख बढीको पटाका बरामद गरेको जनाएको छ । नजिकिँदै गएको तिहार, छठ तथा सामा चकेवा पर्वलाई लक्षित गरी सीमा क्षेत्रबाट पटाकाको ओसारपसार बढेको घटनाक्रमले देखाएका छन् ।
बर्दिबासस्थित सशस्त्र प्रहरीबल नेपाल नं २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीका अनुसार मधेश प्रदेशको सप्तरी, सिरहा, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाबाट कात्तिक दोस्रो सातासम्म १२ लाख ७० हजार मूल्य बराबरका पटाका बरामद भएका छन् । त्यस्तै महोत्तरीको समसी ६ चाँदनी चोक र शङ्कर मन्दिर नाकाबाट २ पटकमा गरी १ लाख ९ हजार, ५८० रुपियाँ बराबरका पटाका नियन्त्रणमा लिइएको जनाइएको छ । धनुषाबाट के कति पटाका बरामद भए खुलाइएको छैन ।
पक्राउ परेकामध्ये सबैभन्दाबढी नागिन पटाका रहेको जनाइएको छ । त्यस्तै मिनि बुलेट, नगिना रकेट, बुलेट बम, ग्राउन्ड चक्कर, मुर्गा छाप पटाका, सुपर हनुमान बम, आलु बम, राकेट बम, खुर्सानी पटाका, मुर्गा रकेट, झिरझिरे, चक्कर फूलझरी, चुटपटी, सुतली बम, फलावर बम लगायत पटकैपिच्छे अनौठा नाम र प्रकारका पटाका बरामद भएका छन् ।
महोत्तरी प्रहरीले पनि जलेश्वर, मटिहानी, ईटरवाकट्टी जस्ता सीमानाकाहरुबाट ३ लाख ५० हजार मूल्यका पटाका बरामद गरेको जिल्ला प्रहरीका डिएसपी एवं सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले बताउनु भयो ।
सशस्त्र र नेपाल प्रहरीले बरामद पटाकालाई सार्वजनिकरुपमा खाल्डोमा पुरेर पानीमा भिजाएर नष्ट गर्दै आएका छन् । जलसागरस्थित सशस्त्र प्रहरी बल ९ नं गण हेडक्वार्टर महोत्तरीका एसपी विनोद केसीले सीमा नाकामा निगरानी र खोजतलास चुस्त पारिएकाले पक्राउ पर्ने क्रम जारी रहेको जनाउनुभयो ।
कानुनत पटाका प्रयोग ओसारपसार तथा कारोबार दण्डनीय अपराध हो । मुलुकी अपराध संहिता ०७४ को परिच्छेद ७ अन्तर्गत विस्फोटक पदार्थसम्वन्धि कसुरको महलमा पटाकालाई ‘सामान्य विस्फोटक पदार्थ’ भनेर परिभाषित गरिएको छ ।
जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाअनुसार यसको अवमान्या गर्नेमाथि ३ वर्षसम्म कैद र २० हजारसम्म जरिवानाको व्यवस्था छ । यसअघि विस्फोटक पदार्थ ऐन २०१८ ले पनि पटाका, भुईचम्पालाई दण्डनीय अपराध मानेको थियो । कानुनले रोक लगाए पनि यसको प्रयोग, ओसार पसार र कारोबारमा कमी भने आउन नसकने अनेकन् कारण बताइन्छ । यसको प्रमुख कारणमा पटाकाको उच्च माग र पर्याप्त मुनाफा रहेको व्यापारीको भनाइ छ ।
स्थानीय व्यापारीका अनुसार दसैँ तिहारकोबेला माग पयिन हवात्तै बढ्ने र मुनाफासमेत दोब्बर तेब्बर हुने भएकोले कडाइ र निगरानी बढाए पनि यसको पूर्ण नियन्त्रण हुन सकेको छैन ।
अर्कोतर्फ गाँउबस्ती तथा खेतबारीमा प्रवेश गरेका बाँदर, बँदेल, नीलगाई, हात्ती जस्ता वन्यजन्तुलाई धपाउन पटाकाको प्रयोग गर्न थालेकोले पनि यसको माग र ओसारपसार बढको स्थानीयको भनाइ छ । रमाइलोको लागि प्रयोग गरिने पटाकाले बर्सेनि करोडौँ रुपियाँको क्षति मात्र पुर्याएको छैन पटाकाको आडमा आपराधिक घटनासमेत घटेको पाइएको छ ।
यसको प्रयोगले चाडबाडमा सुरक्षा चुनौतीसमेत थपेको प्रहरीको भनाई छ । पटाकाकै कारण आगलागी, चोटपटक जस्ता घटना पनि घट्ने गरेका छन् । सीमावर्ती समसी गाउँपालिकाका तमन्ने शाहीका अनुसार खुला बोर्डर भएकाले नाका बाहिरका चोरबाटो, कुवाटो प्रयोग गरेर लुकाई छुपाई यसको ओसारपसार हुने गरेकोले पनि नियन्त्रणमा गाह्राे छ ।
पटाका नियन्त्रणमा सुरक्षा निकायको सक्रियता देखिए पनि चाडबाड नजिकिने क्रमसँगै गाउँ वस्तिमा यसले आतङ्क मच्चाउन थालेको छ । बेलाकुबेला पड्काइने आवाजले ध्वनि र वायु प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यलाई आक्रान्त पारेको गुनासा आउन थालेका छन् । मूख्यत दसैँ सकिएलगत्तै पटाका आतङ्क मधेश प्रदेशका ८ वटै जिल्लाको समस्या हो । तर सुरक्षा निकायको प्रयासको बाबजुद पटाकाको बढ्दो प्रयोग र खुला बिक्री वितरणले अनेकन् प्रश्न खडा गरेका छन् ।