• ८ मंसिर २०८१, शनिबार

विपन्न नागरिकको उपचारमा साढे २ करोड बढी सहयोग

blog

बेनीमा सम्पन्न अधिवेशनका सहभागीहरु । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुर प्रसाद आचार्य

म्याग्दी, कात्तिक ११ गते । म्याग्दीको ओमकुमारी शान्तिकोषले गरिब तथा विपन्नको उपचारका लागि साढे दुई करोड रुपियाँभन्दा बढी सहयोग गरेको छ। जिल्लाको परोपकारी क्षेत्रमा क्रियाशील शान्ति कोषले एक दशक अवधिमा तीन सय ४८ जना विपन्न नागरिकको उपचारमा दुई करोड ५९ लाख ५० हजार दुईसय ५९ रुपियाँ आर्थिक सहयोग गरेको संस्थाका निवर्तमान अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो । 

बेनीमा सम्पन्न भएको संस्थाको दसौँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनको उद्घाटन समारोहमा निवर्तमान अध्यक्ष गौतमले विभिन्न रोग लागेर उपचार गराउन आर्थिक समस्यामा परेका सर्वसाधारणको उपचारमा संस्थाले रोगको अवस्था हेरेर पाँच हजारदेखि १४ लाख रुपियाँसम्म सहयोग गरेको बताउनुभयो । दुई वर्षको अवधिमा मात्रै संस्थाले ६९ जनाको उपचारमा सघाएको छ । 

यस अवधिमा संस्थाको अक्षयकोषको व्याज रकमबाट ४ लाख ६८ हजार रुपियाँ र सहयोग सङ्कलनबाट ६३ हजार एकसय ९५ रुपियाँ सहयोग गरिएको कोषले जनाएको छ । कोषमा आठसय ९१ जना आजीवन सदस्य, ८ वटा संस्थागत संरक्षक सदस्य र ३४ जना व्यक्तिगत संरक्षक सदस्य रहनुभएको कोषका कार्यालय सचिव डकबहादुर रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक रूपमा विपन्न नागरिककाे उपचारमा सघाउन स्थापना भएको यस संस्थाको १ करोड ३३ लाख ५९ हजार आठसय ६४ रुपियाँ अक्षयकोषमा रहेको छ । जिल्लामा आर्थिक रूपमा विपन्न विरामीहरुलाई कोषले अक्षयकोषको व्याज रकम र सहयोगदाताबाट सङ्कलन हुने रकमबाट आर्थिक सहयोग गर्दै आएको छ ।

हाईपोप्लाष्टिीक एनिमिया रोगका कारण दिवङ्गत भएकी बेनी नगरपालिका–४ की ओमकुमारी पुन (शान्ति)को स्मृतिमा स्थापित कोषले जिल्लामा विपन्नको नागरिक उपचार सँगै दैवी प्रकोप पीडितहरूलाई समेत राहत जुटाउन क्रियाशील हुँदै आएको छ । 

यसैगरी अधिवेशनबाट सन्दीप खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको संस्थाले जनाएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा खम थापामगर, प्रथम उपाध्यक्षमा लोकेश पुनमगर, महासचिवमा विनय श्रेष्ठ, कोषाध्यक्षमा दीपक श्रेष्ठ र सचिवमा नेत्रराज सुवेदी चयन हुनुभएको छ । 

सदस्यहरूमा टकसरा राना, मिना राम्जाली, राजेन्द्र आचार्य, कृष्ण जिसी, नन्दु पाइजा, कमल खत्री, सन्तोष गौतम र वीरेन्द्र श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिका संयोजक चन्द्रकुमार केसीले जानकारी दिनुभयो ।