• २६ पुस २०८१, शुक्रबार

मादी नदीमा पुल निर्माण हुँदै

blog

अमरराज नहर्की 

तनहुँ, कात्तिक ११ गते । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मादी नदीमाथि बन्दै गरेको चार लेनको पुल निर्माणको काम धमाधम भइरहेको छ । तनहुँ व्यास नगरपालिका–४ को दमौली बजार र वडा नम्बर ५ को चापाघाट जोड्ने यो पुल पृथ्वी राजमार्गको सबैभन्दा लामो पुल पनि हो । ३१५ मिटर लामो पुलको ४० प्रतिशत निर्माण पूरा भएको मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार पर्यटकलाई आकर्षण गर्ने हिसाबले पुल कलात्मक आर्क डिजाइन गरिएको छ । यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटक पनि आकर्षित गर्नु पर्छ भनेर कलात्मक डिजाइन गरिएको आयोजनाले जनाएको छ । निर्धारित समयमा पुल निर्माण गर्न तीव्र गतिमा काम भइरहेको ठेकेदार कम्पनीका साइड इन्चार्ज दिनेश श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठका अनुसार निर्माणाधीन पुलको फाउन्डेसनको काम भइरहेको छ । हाल पानीमुनि गरिने पाइलिङ, पाइल क्याप र पिल्लरको काम पूरा गरी पानीमाथि गरिने ‘सुपर स्ट्रक्चर’ को काम पनि हुँदै छ । 

हाल रहेको दुई लेनको पुलबाट करिब ५० मिटर उत्तरतर्फ नयाँ पुल निर्माण भइरहेको र पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । तीन वर्षभित्र निर्माण पूरा गर्ने लक्ष्य रहेको पाण्डेले बताउनुभयो । हाल दुई लेनको पुल ३७० मिटरको छ भने अब बन्ने पुल भने चार लेनको ३१८ मिटरको हुने बताइएको छ ।