• २६ पुस २०८१, शुक्रबार

दोस्रो ज्योतिपुञ्ज कपको उपाधि नवलपुरलाई

blog

इमान सिं राना

रामपुर (पाल्पा), कात्तिक ११ गते । जिल्ला कै सर्वाधिक पुरस्कार राशी सहित रामपुरमा भएको दोस्रो ज्योतिपुञ्ज कपको उपाधि युनाईटेड यूथ क्लब गिरुबारी नवलपुरले जित्न सफल भएको छ । फाइनल खेलमा गन्नी फुटबल क्लब पोखरालाई पराजित गर्दै युनाईटेड यूथ च्याम्पियन बनेको हो ।

शनिवार भएको फाइनल खेलमा युनाईटेडले गन्नी फुटबल क्लब पोखरा विरुद्ध ट्राईबेकरमा ६–५ को नतिजा निकाल्दै विजयी हासिल गरेको थियो । उपाधिका लागि भएको खेल निर्धारित समयमा गोल रहित बराबरीमा सकिए पछि ट्राईबेकरमा गएको थियो । दुवै टिमले खेल अवधिभर एक अर्कालाई निकै दबाबमा राखे पनि कुनै गोल हुन सकेन । ट्राईबेकरमा युनाईटेड यूथका लागि सुशील राई, सुशान्त गुरुङ,  सलिल ढकाल, समीप ढकाल, रवीन्द्र श्रेष्ठ, अनिल राना मगरले गोल गर्न सफल हुनुभयो । गन्नी एफसीका लागि रोशन राना मगर, राज कुँवर, सजिन थापा मगर, आश्विन गुरुसानी र लक्षु थापाले गोल गर्नुभएको थियो ।      

गन्नी एफसीका लागि विनोद घिमिरेले हानेको छैठौं बल युनाईटेडका गोल रक्षक सुमित मल्लाहले रोकिदिएको थियो । अन्ततः त उहाँले रोकेको बलले नै युनाईटेडलाई च्याम्पियन बनाउन सफल भयो । यस सँगै गन्नी फुटबल क्लब रामपुर–७, किसानबारी स्थित ज्योतिपुञ्ज खेल मैदानमा भएको प्रतियोगिताको उपविजेता बनेको छ । प्रतियोगिताको विजेताले नगद ३ लाख ३ हजार ३३३ र उपविजेताले १ लाख ७७ हजार ७७७ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । विजेता युनाईटेड यूथ क्लब सेमिफाइनलमा फर्साटिकर यूथ क्लब रुपन्देहीलाई ५–० को फराकिलो गोल अन्तरले हराउँदै फाइनलको पुगेको थियो । गन्नी एफसी २८ बिघा यूथ क्लब नवलपुरलाई २÷१ गोल पराजित गर्दै फाईनलमा पुग्न सफल भएको थियो । 

गत कार्तिक ३ गते देखि सुरु भएको प्रतियोगितामा रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका १० क्लबले सहभागिता जनाएका थिए । ज्योतिपुञ्ज युवा क्लबको २८ औँ वार्षिक उत्सवको अवसरमा भएको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी युनाईटेड यूथ क्लबका अनिल राना मगर भएको छ । उत्कृष्ट गोल्ड किपर युनाईटेडका राजन राना, उत्कृष्ट डिफेन्डर गन्नी एफसीका योगेश गुरुङ, हाईस्कोरर युनाईटेडका समीप ढकाल, अनिल राना र गन्नी एफसीका सन्दीप राना मगर भएको खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । उत्कृष्ट खेलाडीलाई १५ हजार ५५५ र अन्य विधाका उत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७७७ प्रदान गरिएको छ । 

प्रतियोगिताको विजेता समूहलाई रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा र जापानी समाजसेवी काजुमासा काकिमीले पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा रामपुर नगर प्रमुख थापाले नगर भित्र रहेको खेल मैदानको स्तरोन्नतिको लागि आवश्यक पहल गर्दै आएको बताउनुभयो । उहाँले खेलको माध्यम बाट नगरको पहिचान सँगै युवाहरूमा सकारात्मक सन्देश दिएको बताउनुभयो । 

फुटबलको विकास, स्थानीय खेलाडीलाई प्रोत्साहन सँगै रामपुर नगरको पहिचान तथा पर्यटन प्रवद्धर्नका लागि क्लबले प्रतियोगिता आयोजना गरेको ज्योतिपुञ्ज युवा क्लबका अध्यक्ष सुदीप गौतमले बताउनुभयो । 


ज्योतिपुञ्ज कपको च्याम्पियन टिम । तस्बिर: इमान सिं राना