• १२ कात्तिक २०८१, सोमबार

सांस्कृतिक रुझानको ‘लाखे आजु’

blog

काठमाडौँ, कात्तिक ११ गते । राजधानीको नेवाः समुदायमा लाखेलाई सांस्कृतिक नृत्यका रूपमा लिइन्छ । इन्द्रजात्राका बेला राजधानीमा लाखे नचाइन्छ । राजधानीबाहिर नेवाः बस्तीमा समेत लाखे नचाइन्छ । किंवदन्तीका रूपमा रहेको लाखेको कथावस्तुमा तयार पारिएको नेपाल भाषाको चलचित्र ‘लाखे आजु’ को शनिबार राजधानीमा प्रिमियर गरिएको छ ।  पौराणिक कथा उठान गरिएको चलचित्रमा लाखेको वास्तविकता के हो ? लाखे कसरी मान्न थालियो ? किसान कन्याको सौन्दर्यको मोहमा परेको लाखेलाई कसरी समाजले पुज्यो ? यिनै प्रश्नको सेरोफेरोमा चलचित्रको कथा बगेको छ । 

टिस्टुङ पालुङको ग्रामीण बस्तीमा नानी मैजु (आशिष्मा नकर्मी), बुवा आशा नारान (मदनदास श्रेष्ठ) र आमा ज्ञानी (नगिना जोशी) सँग साधारण जीवनचर्या बिताइरहेकी हुन्छिन् । बुवाआमालाई घरको काममा सघाउने गाउँमा साथीसँग खेल्नु जस्ता कार्यले उनको दिनचर्या चलिरहेको हुन्छ । उनको दिनचर्या तब बदलिन्छ जब उनको भेट लाखे आजु (सोहित मानन्धर) सँग हुन्छ । उनलाई थाहा छैन लाखे आजु कहाँबाट आएका हुन् र उनी मानव हुन् या राक्षस ? उनी केवल लाखेलाई उनलाई समस्या परेका बेला सहयोग गर्न आउने गरेको नाताले मात्र चिन्निछन् । नानी मैजु लाखे आजुलाई भित्रभित्रै मन पराउन थाल्छिन् र उनलाई आफनो मनको कुरा पनि भन्छिन् तर लाखेको जवाफ केही आउँदैन, ऊ केवल नानी मैजुको हेरचाहमा मात्र जुटिरहेका हुन्छन् । 

परापूर्वकालमा एक जना काठमाडौँवासी किसानको छोरीको असुर दानव राक्षससँग प्रेम बस्छ । प्रेम बसिसकेपछि राक्षस मान्छेको रूप धारण गरेर उनको घरमा आउने गर्छन् । घरमा भेट्न आउँदा उनले गाउँवासीको बस्तुभाउ खाइदिन्छन् । यसैबिच गाउँलेमा अनेक त्रास फैलन थाल्छ र गाउँमा के हुँदै छ भन्ने कुराले खैलाबैला मच्चिन्छ । लाखेको कथा यत्तिमै सीमित हुँदैन । यसपछि आउने अनेक उतारचढावले नै चलचित्रलाई अनेक मोडमा लिएर जान्छ । आखिर लाखे मैजुको उद्देश्य के हो र किन उसले नानी मैजुलाई छोड्न सक्दैन । लाखे मैजुबाट गाउँले किन त्रसित छन् र नानी मैजु बिचमा गाउँबाट अचानक किन हराउँछिन् । यी सबै प्रश्नभित्र जकडिएको छ चलचित्र ‘लाखे मैजु’ । 

नेपाल भाषामा बनेको चलचित्रको कथा सरल छ । नेपाल भाषामा बनेको भए पनि चलचित्रलाई सबैले बुझून् भनेर अङ्ग्रेजीमा ‘सबटाइटल’ दिइएको छ । नायिका अशिष्मा नकर्मीको भूमिकामा कतै खोट लगाउने ठाउँ छैन । अझ उनको अभिनयभन्दा पनि सुन्दरताको जति बयान गरे पनि कम हुन्छ । सोहित मानन्धरलाई लाखेको प्रशंसायोग्य छ । उनले चलचित्र अवधिभरि नबोली इसाराले नै आफ्नो अभिनयकोे कुशलता देखाएका छन् । अन्य कलाकार मदनकृष्ण श्रेष्ठ, मदनदास श्रेष्ठ, नागिना जोशी, सविन शाक्य, प्रकाश श्रेष्ठ, राजेन्द्रमान शाक्य, गणेशराम लाक्षीको अभिनय बिर्सने खाले छैन । निर्देशक आर्यम नकर्मीको निर्देशकीय पक्षले दर्शकलाई अवश्य नै हलमा बाँधिराख्न बाध्य बनाउँछ । नकर्मीको निर्देशकीय पक्ष धेरै नै निखारिएको छ । उनले हरेक कलाकारलाई पात्र चित्रणमा बेजोड तरिकाले उतारेका छन् ।   

चलचित्रका निर्माता गोपाल कायस्थका अनुसार चलचित्र नेपाली र नेवारी दुवै भाषामा प्रदर्शन हुने छ । चलचित्रलाई फागुनमा प्रदर्शन गर्ने तयारी भएको छ ।