• १२ कात्तिक २०८१, सोमबार

‘यात्राको लय’मा यात्री

blog

भनिन्छ– पाइतालामा चक्र हुने व्यक्ति विश्व भ्रमण गर्ने गर्छ । यद्यपि आमनागरिकको विश्वजनिन अवस्थाबाट नेपाली नागरिक कसरी अछुतो रहन सक्थ्यो र ? साँझबिहान हातमुख जोर्न धौ धौका नेपालीमध्ये जीवनलाई चलायमान बनाइराख्न बौद्धिक व्यक्तित्वहरू केहीले अवश्य कोसिस गर्ने गर्छन् । तिनैमध्येका र्‍याले, पनौती काभ्रेका सिर्जनशील सर्जक प्रदीप सापकोटाले आफू जस्तै सजिलै बुझ्न सकिने सरल र मिठा नियात्रा स्वदेशभित्रै भ्रमण गरी संस्मरण/विवरण समेटेर निबन्ध लेख्नुभएको छ । यस्तै निबन्ध, जसलाई हिजोआज नियात्रा नामले न्वारान गरिएको पाइन्छ । 

आजको परिप्रेक्ष्यमा ६० वर्ष उमेर कटेका विद्वत् वर्ग र युवापुस्ता यात्रा निबन्ध र यात्रा वृत्तान्त दुई कित्तामा विभाजित पाउँछौँ । जाँदाजाँदै बाटोको यात्राबारे लेखिने यात्रा निबन्ध (नियात्रा) मान्ने वा यात्रा वृत्तान्त अथवा गन्तव्यमा पुगेर गन्तव्यबारे नै बृहत्तर रूपमा लेखिएको चर्चालाई नियात्रा मान्ने हो ? अलि विवादास्पदै रहेको पाइन्छ । यस समीक्षामा नियात्रासङ्ग्रह ‘यात्राको लय’ बारे केही खनिखोस्रने प्रयास गरिएको छ ।

नियात्राकार सापकोटाले २०५९ कात्तिकदेखि ०७९ चैतसम्म गर्नुभएका विभिन्न यात्राको आत्मपरक रूपले यथाशक्य वर्णन समेटेर तयार पारिएको यात्राको लयले १७ वटा नियात्रा निबन्धलाई समेटेको छ । निबन्ध प्रस्तुत शीर्षकमा लेखिएका छन् :

सकसपूर्ण यात्राको सुखद उत्कर्ष, टनकपुरमा दुखेको मन, गाजाको दह र पिँढीको बास, पहिलो गल्कोट यात्राको बकपत्र, ज्योतिषवाणीसँगै झेल्नु परेको सङ्कट, शीतलपाटीमा पाएको माया, त्यो सहभोज, आँखाको दूरबिनबाट मधेस नियाल्दा, पदम भुवनेश्वरी वृद्धाश्रमले छोएको मन, मकर मेला प्रचार : कुशेश्वर हुँदै गाईघाट, वराहक्षेत्र–चतराधाम यात्रा, नेपालको स्विट्जरल्यान्डमा एक पाइला, भीमेश्वरको साहित्यिक माहोल, नक्सलबाडी हुँदै टाइगरहिलमा बरालिँदा, दार्जिलिङ हुँदै मिरिकसम्म, सुकुटेको साहित्यिक यात्रा, यात्राको लहरीमा लहरिँदै मकवानपुरगढी ।

यसमा सङ्कलित नेपाल र नेपालीको पृष्ठभूमिमा लेखिएका निबन्धले देशको बेथिति र विसङ्गति, प्रचारमुखी हुँदै गएको अवस्थामा असाध्यै पिर पोखेका छन् । धर्म, परम्परा र संस्कारमाथि विदेशी प्रवृत्तिको धावा, राष्ट्रिय द्योतकको अवहेलना, हराउँदै गएको मानवीय संवेदना आदिलाई यस कृतिमा करुण भावले लेखिएको छ । 

टनकपुरमा दुखेको मन : “कठै मेरो देश ! मेरो छातीभित्र घाउ भएको महसुस भो । छिमेकीको नग्न हस्तक्षेप देखेर आँखा रसाए । मनमा असन्तुष्टि र बेचैनीले एकै पटक आक्रमण गर्‍यो (पृष्ठ २३, यात्राको लय) ।” यसरी बर्सौं पहिलेदेखिको टनकपुरबारेको मेरो कौतूहल यस निबन्धले साम्य पारेको छ । तथापि तत्कालीन राज्यसत्ताले गरेको राष्ट्रघातले गर्दा मुटुमा दावानल दन्किन थाल्यो । आफ्नै नागरिकलाई युगौँसम्मलाई पीडाको मुहान हुने सम्झौता किन र कसरी गर्न सकेको भन्ने छटपटीले दिनभर मन चिमोटिरह्यो । विवश आँखाहरू रसाइरहे । ब्रह्मदेवदेखि टनकपुरको पुलसम्मको भूभागमा भारतीय सैनिकले बुट बजार्दै छन् । यस्तोमा राष्ट्रिय स्वनामधन्य दलहरूलाई प्रश्न गर्न मन लाग्छ– तिमीहरूको देशप्रतिको दायित्व के हो ? ठाउँ ठाउँबाट नेपाल आमा पीडित हुँदै गर्दा अलिकति मन आत्मामा चोट लागेन र ? स्वाभिमानलाई ताकमा राखेर अझै नेपाली परिवारमाझ द्वेष, विभेद, दङ्गा फैलाउन उद्यत हुन कुन नैतिकताले दिन्छ ? यस्तो भावना र आक्रोशमा पिल्सिरहनु आमनेपालीको विकल्प रहेन देशमा । 

सशस्त्र द्वन्द्वको बेला जति तनाव, प्रताडना, दुःख आमजनताले सायदै इतिहासमा भोगेका थिए होलान् । आजपर्यन्त धाकधम्की दिन छाडेका छैनन् विद्रोही पक्षले । राज्यसंयन्त्रमा सम्मिलित भएर राजभोग गरेर, भौतिक सुविधामा आकासिएका तत्कालीन विद्रोहीको मुहार, लवाइखुवाइ सम्पूर्ण फेरिएको छ । यद्यपि लडाकुको स्थिति सामान्यभन्दा निम्न रहेको देखिन्छ । यसरी यात्राक्रममा राज्यपक्षबाट भएको चेकजाँचको तितो पक्षले नियात्राकार र सहयात्रीले जुन हीनताबोध गर्नुप¥यो, त्यो आज पनि आमनागरिकले भोग्नुपर्ने तिक्तता रहिआएको छ । सामान्य आफ्नो स्वविवेकले छिनोफानो गर्न सकिने कुरोलाई आदेशको पर्खाइमा झुलाउने, अनावश्यक वितर्कसहित दुःख दिनु सामान्य कुरा हो । यसरी सकसपूर्ण यात्राको सुखद उत्कर्ष अपेक्षा अनुरूपको नभए पनि त्यस्तो भुङ्ग्रो हट्ने समय कहिले आउने होला, चिन्ताको विषयचाहिँ पक्कै हो । लेखक जस्तै सरल भावभङ्गीमा सरल शब्द चयन गरी लेखिएका नियात्रात्मक निबन्धमा देशले छिमेकी मित्रराष्ट्रबाट सीमावासी नेपाली उत्पीडित हुनु परेको तथ्य, सरकारी बेवास्ता र निराशाको चरम अवस्थाप्रति तीव्र आक्रोश पोखिएको छ । 

ज्योतिषवाणीसँगै झेल्नु परेको सङ्कट : अर्को यात्रा बागलुङको गल्कोटस्थित शीतलपाटीको घटनाबारे उल्लेख गर्दा भन्नैपर्ने मनका कुरा छन् । विविध खाले मानवीय चरित्रमा नकारात्मक सोच भरिएको राक्षसी प्रवृत्तिको एक खलपात्रले खुकुरी प्रहार गरेर नियात्राकारको मानसिक र दैनन्दिन्य जीवनमा खलल पारेको । एउटा सच्चरित्र निर्धो र सज्जन पात्र नायकको मनस्थिति खल्बलिनु र आफूले तालिम दिँदै आएका पात्रको चरित्र फेरिएको देखेपछि हतोत्साही भएर गाउँ छाडेको करुण कथा छ, यसमा । एक जना निर्दोष मानिसले यसरी अनाहकमा पीडा झेल्नु परेको अवस्था/वस्तुस्थितिलाई ज्योतिषवाणीसँगै झेल्नु परेको सङ्कटमा सरल तवरले प्रस्तुत गरिएको छ । 

सुकुटेको साहित्यिक पल : स्रष्टा समाजको सुकुटे यात्रामा नियात्राकारको लय केही तलमाथि परेको अनुभूत हुन जान्छ । स्थानविशेषमा पहिलो परिच्छेदमै दोलालघाटको पुल ३ बजे तरिसकेको बेहोरा छ भने अरू परिच्छेदमा यात्रालाई फेरि धुलिखेलमा खाना खाएर जिरोकिलो हुँदै पुनः दोलालघाट पुगेको सन्दर्भ दोहो¥याइएको छ । निबन्धहरू लयात्मकै छन् । सबैभन्दा ठुलो कुरा नियात्राकार आफू जस्तै सरल, सहज, मिलनसार र छलकपटरहित व्यक्तित्व जस्तै गरी निबन्ध लेखनमा पूर्ण हुनुहुन्छ । उहाँका दुई शब्द ‘सफेद’ र ‘टट्टाउन्जेल’ को प्रयोगले पाठकलाई अवश्य अन्योल पार्ने छन् । लेखकको आफ्नो निजात्मकताको आधिक्यता रहेका र बिनानोस्टाल्जिक तथा स्वैरकल्पनाको प्रयोगले लेखिएका निबन्धले पाठकलाई कत्तिको बाँध्न सक्लान् भन्ने कुरा निक्र्योल गर्न र बाँकी यसका रस रसास्वादनका निमित्त पाठकवर्गलाई नै जिम्मेवारी सुम्पन चाहन्छु । 

सारांशमा, नियात्रालाई पठनीय बनाउन र मिठास पस्कन शब्द चयन र लयबद्ध रूपमा अभिव्यक्त हुनु यसको परम विशेषता हो भन्न/मान्न सकिन्छ । साथै पाठकलाई आफूसँगै डोर्‍याउन पाठकीय रुचि, हृदयस्पर्शी आकर्षण र चामत्कारिक शैलीको नितान्त आवश्यकता पर्छ भन्दा अत्युक्ति नहोला । नेपाली साहित्यमा अब्बल दक्खल राख्नुहुने डा. शैलेन्दुप्रकाश नेपाल भूमिकामा लेख्नुहुन्छ, “नियात्रा यथार्थवादी साहित्यको मेरुदण्ड हो । यसमा लेखकीय गतिशीलताको सर्वोपरि महत्व रहेको हुन्छ । अनि समय, स्थान र सन्दर्भसित गाँसिएका कसिला अनुभूतिले पाठकीय आकर्षण र अभिरुचिलाई बढावा दिने काम गर्छन् ।”