• १२ कात्तिक २०८१, सोमबार

सडक र सिँचाइ नहुँदा बसाइँ सर्ने बढे

blog

बैतडी समाचारदाता 

बैतडी, कात्तिक १० गते । धान, मकै, गहुँ र उखु उत्पादनका लागि प्रसिद्ध मानिएको जिल्लाको सिगास क्षेत्रमा सिँचाइ र सडक नहुँदा बसाइँसराइ गर्ने बढेका छन् । आकासे पानीको भरमा उत्पादन भएको बर्खे बाली र तरकारी बिक्री गर्न पनि गाउँमा बाहै्र महिना सडक चल्दैन । गाउँमा असुविधा भएपछि ७० प्रतिशत परिवार बसाइँ सरेर हिँडेका छन् । 

सिगास गाउँपालिका–१, बेसरा, अङ्डेगाडा र इराना गाउँबाट पछिल्लो समयमा बसाइँ सर्नेको सङ्ख्या बढ्न थालेको छ । यी गाउँको फेदमा ढणारीगाड र गाँजरीगाड कल कल बगे पनि गाउँमा सिँचाइ सुविधा पुग्न सकेको छैन । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गबाट पाँच÷सात किलोमिटर मात्रै दुरीमा पर्ने यी गाउँमा गतिलो सडक पुग्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले बताउनुभयो । 

वडाध्यक्ष ऐरीले भन्नुभयो, “स्थानीय तहसँग सडक कालोपत्रे गर्न बजेट छैन । प्रदेश र सङ्घबाट योजना ल्याउन पहुँच पुग्दैन । तीन वर्षअघि सुदूरपश्चिम प्रदेश सरकारबाट आएका दुई वटा सिँचाइ योजनामा थप बजेट नआउँदा अलपत्र परेका छन् ।” 

फलफूल, तरकारी, दलहन र उखु उत्पादनका लागि राम्रो भूगोल मानिए पनि गाउँमा आधारभूत सुविधा नभएपछि बसाइँ सर्नेको सङ्ख्या बढेको स्थानीय शिक्षक धनबहादुर ऐरीले बताउनुभयो । बसाइँसराइको असरले यसअघि दुई सय विद्यार्थी अध्ययन गर्ने भूमिराज आधारभूत विद्यालयमा अहिले ६० जना मात्रै विद्यार्थी रहेको उहाँले बताउनुभयो । 

सडक, सिँचाइ र स्वास्थ्य सुविधा नहुँदा गाउँको जमिन बाँझो छाडेर सबै परिवार कैलाली झरेको स्थानीय मदन भट्टले बताउनुभयो । तराई झरेपछि उहाँको परिवारका सदस्य भाडामा जमिन लिएर तरकारी खेती गर्दै आइरहेका छन् ।