बनेपा समाचारदाता
बनेपा, कात्तिक १० गते । असोज दोस्रो साता अविरल वर्षासँगै आएको बाढीपहिरोले क्षति पु¥याएको काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकामा अध्ययन, अवलोकनका लागि भूगर्भविद्को टोली पुगेको छ ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले बाढीपहिरोबाट गाउँपालिकाभित्र ठुलो जनधनको क्षति भएका कारण आगामी दिनमा विपत्का घटनामा ठुलो क्षति बेहोर्न नपरोस् भनेर भूगर्भविद्को टोलीलाई बाढीपहिरोबाट क्षति भएको स्थानको स्थलगत अध्ययन, अवलोकनका लागि लगिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाढीपहिरोपछि गाउँपालिकाभित्रका चार हजार चार सय घरधुरी प्रभावित बने त्यसपछि हामीले काठमाडौँ विश्वविद्यालय (केयु) लाई आग्रह गरी बायो इन्जिनियरिङ वा विज्ञताका दृष्टिले गाउँपालिकाभित्रका वडा नम्बर १ देखि ६ सम्मका बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित भएका स्थानको माटो र भौगोलिक स्थिति हेरेर सल्लाह लिन विश्वविद्यालय र उहाँहरूमार्फत भारतबाट एक जना विज्ञ झिकाएर अध्ययन गर्न सहयोग मागेका हौँ ।”
विज्ञ टोलीले गरेको भौगोलिक अवस्थाको अध्ययनपछि प्रतिवेदनका आधारमा गाउँपालिकाले गम्भीरताका साथ काम अगाडि बढाउने उहाँले बताउनुभयो । अध्ययनले सङ्घीय र प्रदेश सरकारलाई यहाँको अवस्थाबारे जानकारी गराउन सहयोग पुग्ने उहाँको भनाइ छ । विज्ञ टोलीले बेथानचोक गाउँपालिकाको वडा नं. १, २, ३, ४ लगायतका बाढीपहिरोबाट बढी प्रभावित बस्ती, पूर्वाधार क्षेत्रमा बाढीपहिरोले गरेको क्षतिको अध्ययन गरेको छ । उहाँले विज्ञको प्रतिवेदनपछि गाउँपालिकाले नयाँ गुरुयोजना बनाएर काम अघि बढाउने बताउनुभयो ।
बाढीपहिरोका कारण जिल्लामा ठुलो क्षति भएपछि काठमाडौँ विश्वविद्यालयले स्थलगत अध्ययनका लागि इन्डियन इन्स्टिच्युट अफ इन्जिनियरिङ साइन्स एन्ड टेक्नोलोजी कोलकाताका भूगर्भविद् प्राडा प्रतीक दत्तलाई नेपाल ल्याएको हो । प्राडा दत्तसहित केयुको माइनिङ इन्जिनियरिङ विभागको टोलीले बिहीबार बेथानचोकका विभिन्न खानी तथा बाढीपहिरोबाट क्षति भएका स्थानको अध्ययन, अवलोकन गरेको हो । विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ विभागका सहडिन डा. श्यामसुन्दर खड्काले बाढीपहिरोबाट ढुङ्गाखानीमा कुनै क्षति नगरेको बताउँदै खानीमाथिको पहिरोले लेदो लगेर बगरमा क्षति गरेको बताउनुभयो ।
उहाँले बाढीपहिरोबाट क्षति पुग्नुमा ढुङ्गाखानी मात्रै कारण नभई खानीमाथिबाट पहिरोसँगै आएको लेदो पनि कारण हुन सक्ने बताउनुभयो । बेथानचोकमा बाढीपहिरोबाट भएको क्षतिको स्थलगत अवलोकन गर्दै प्राडा दत्तले तत्कालका लागि पहिरोमा आएको माटो निकाल्ने, पहिरो प्रभावित क्षेत्रमा पानी र माटो रोक्नका लागि ड्रेनेज निर्माण, जाली पर्खाल लगाउने र पहिरोको दिगो व्यवस्थापनका लागि थप अध्ययन गरेर काम गर्न सुझाव दिनुभएको थियो ।