• १ माघ २०८१, मङ्गलबार

डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामी बढ्दै

blog

तानसेन समाचारदाता

तानसेन, कात्तिक ९ गते । पाल्पामा डेङ्गु र ‘स्क्रव टाइफस’ बाट सङ्क्रमित बिरामी बढेका छन् । यो वर्ष २२५ जना ‘स्क्रब टाइफस’ बाट सङ्क्रमित बनेका छन् भने डेङ्गुबाट हालसम्म २४९ जना बिरामी पुगेका छन् । जिल्लाको विभिन्न स्थानका २२५ जना मानिसमा ‘स्क्रब टाइफस’ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । यस्तै २४९ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । यो वर्ष पाल्पामा चार सयभन्दा बढी डेङ्गुबाट सङ्क्रमित भएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिनुभयो । जिल्लाका ठुला अस्पताल अहिले डेङ्गु र ‘स्क्रब टाइफस’ का बिरामीले भरिएका छन् । 

पछिल्लो तीन महिनामा ‘स्क्रब टाइफस’ र डेङ्गुका बिरामीले अस्पताल भरिएको मिसन अस्पतालले जनाएको छ । जिल्लाभित्र र बाहिरका ‘स्क्रब टाइफस’ र डेङ्गुबाट सङ्क्रमित बिरामी दिनहुँ थपिएको मिसन अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताउनुभयो । जिल्लाको पाल्पा अस्पताल, रामपुर अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा सङ्क्रमित बिरामीको उपचार भइरहेको छ । 

‘स्क्रब टाइफस’ र डेङ्गुबाट हालसम्म कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसूधन भट्टराईले जानकारी दिनुभयो । गत वर्ष डेङ्गु सङ्क्रमणबाट पाँच जना बिरामीको मृत्यु भए पनि यो वर्ष हालसम्म कसैको पनि मृत्यु नभएको उहाँले उल्लेख गर्नुभयो ।