• ८ मंसिर २०८१, शनिबार

राहदानी बनाउन एक दिनअगावै टोकन

blog

तम्घास समाचारदाता

तम्घास, कात्तिक ९ गते । जिल्ला प्रशासन कार्यालय गुल्मीमा राहदानी बनाउनेको भिड लागेपछि एक दिनअगावै टोकन वितरण गरिएको छ । दसैँ सकिएसँगै राहदानी बनाउनेको भिड लागेपछि भिडलाई कम गर्न एक दिनअगावै टोकन वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । बिहीबारका लागि बुधबार नै १३० जनाका लागि टोकन वितरण गरिएको थियो ।  बिहीबार बिहान ७ बजेबाटै सेवा दिइएको राहदानी फाँटले जनाएको छ ।

अघिल्लो दिन बुधबार टोकन लिई बिहीबार बिहान ८ बजे प्रशासनमा सेवा लिन पुग्नुभएका कालीगण्डकी–१ का तिलक रानाले ८ बजे नै सेवा लिन पाउँदा अचम्म मान्नुभयो । प्रशासनमा १० बजेअगाडि सेवा लिन पाइएला भनेर आफूले नसोचेकाले अचम्म लागेको उहाँको भनाइ छ । शुक्रबारका लागि बिहीबार दिउँसो ३ बजेसम्म ५० भन्दा बढीको टोकन वितरण भइसकेको गैरेले बताउनुभयो ।  यस्तै जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिकता बनाउनेको पनि भिड लागेको छ । बुधबार ९८ वटा नयाँ नागरिकता र ४७ वटा प्रतिलिपि जारी भएको प्रशासकीय अधिकृत तारानाथ फुल्देलले जानकारी दिनुभयो ।