• २५ पुस २०८१, बिहिबार

सन्दर्भ : विश्व पोलियो दिवस

नेपालमा पोलियोको चुनौती कायमै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ९ गते । नेपालमा पोलियो उन्मूलन भएको १० वर्ष बितिसक्दा पनि चुनौती भने अझै कायम छ । नेपालमा कतिपय समुदायले पोलियोविरुद्धको खोप लगाउन अटेर गर्ने, धार्मिक कारणले खोप नलगाउने, खोपप्रतिको नकारात्मक धारणाले गर्दा पोलियोको चुनौती देखा परेको हो ।

नेपालले पोलियो उन्मूलनको रणनीति अन्तर्गत नियमित रूपमा खोप सेवा, पूरक थप खोप अभियान, अतिशीघ्र लुलोपनको निगरानी, वातावरणीय निगरानी जस्ता कार्य गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई पोलियो उन्मूलन घोषणा गरेको १० वर्षपछि गत साउनमा पोलियो भाइरस भेटिएको थियो ।

प्रयोगशाला परीक्षण गर्दा काठमाडौँको टुकुचाखोलाबाट सङ्कलन गरिएको नमुनामा पोलियो भाइरस पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले नेपाल अझै पनि पोलियोको जोखिमबाट मुक्त भइनसकेको जानकारी दिनुभयो । उहाँले केही देशमा पोलियो अझै पनि कायम रहेकाले नेपाल पनि जोखिममा रहेको बताउनुभयो । उहाँले सबै शिशुलाई खोप लगाउनु पर्छ भन्दै पोलियोको खोप शतप्रतिशत पु¥याउनुपर्ने बताउनुभयो । नेपाल पोलियोमुक्त भए पनि संसारबाट पोलियो उन्मूलन नभएसम्म पुनः सङ्क्रमण फैलिन सक्ने जोखिम रहेकाले पोलियोको चुनौतीलाई सामना गर्न सबै क्षेत्रको समन्वय आवश्यक रहेको उहाँको धारणा थियो । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार नेपालमा सन् २००० मा चार जनामा र २०१० मा ३२ जनामा पोलियो देखिएको थियो । निरन्तर चार वर्षसम्म पोलियो नभेटिएपछि २०१४ मा नेपाललाई पोलियो उन्मूलन भएको घोषणा गरिएको थियो । 

डा. गौतमले नेपालमा पोलियोको जोखिम कायम रहेको भन्दै खोपसँगै जनचेतना जगाउनुपर्नेमा जोड दिनुभयो । पोलियो भाइरस भएमा ज्वरो आउने, पखाला लाग्ने, जिउ दुख्ने, थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् ।