अमरराज नहर्की
तनहुँ, कात्तिक ७ गते । तनहुँको व्यास नगरपालिकाले फोहोरमैला व्यवस्थापनसँगै आम्दानी पनि गरिरहेको छ । नकुहिने फोहोरको छुट्टै सङ्कलन गरी पुनः प्रयोग योग्य बनाइएका वस्तुहरु बिक्रीबाट मासिक एक लाखभन्दा बढि आम्दानी भइरहेको नगरपालिकाले जनाएको छ ।
कार्यालय परिसर भित्र नकुहिने फोहोरको व्यवस्थापन नगरपालिका आफैँले गरेर आम्दानी गरिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । नकुहिने फोहोरको कार्यालय परिसरबाटै र कुहिने फोहोर वडा नं १० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन गरी कम्पोष्ट मल र ग्यास उत्पादन हुँदै आएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
त्यहाँबाट उत्पादित ग्यास गाईलाई कुँडो पकाउन प्रयोग भइरहेको उहाँले बताउनुभयो । नगर प्रमुख न्यौपानेले भन्नुभयो, ‘‘कुहिनेलाई कम्पोस्ट मल र नकुहिनेलाई वर्गीकरण गरेर बिक्री गरेर आम्दानी लिइरहेका छौं ।’’ दुई महिनाको अवधिमा दुई लाख १७ हजार चार ३९ रुपियाँ आम्दानी भएको उहाँले जानकारी दिनुभयो ।
कार्यालययका अनुसार नगरपालिकाले गत भदौ ८ गतेबाट फोहोरको सुक्ष्म वर्गीकरणको थालनी गरेको थियो भने त्यस अघि साउन महिनाबाट नै सिसा सङ्कलन गर्न सुरु गरेको थियो । नगरपालिकाले हालसम्म पानीको बोतल तथा अन्य पेट बोतल बिक्रीबाट ५६ हजार पाँच सय ६८, आल्मुनियम बिक्रीबाट छ हजार एक सय ८०, टिन बिक्रीबाट १४ हजार ६२, फलाम बिक्रीबाट छ हजार दुई सय ६५, कापी बिक्रीबाट पाँच हजार दुई सय १६, किताब बिक्रीबाट सात हजार आठ सय ४०, गत्ता बिक्रीबाट ३५ हजार तीन सय १०, टुक्रा कागजबाट एक हजार तीन सय २० र सिसा बिक्रीबाट ८४ हजार ६७७ रुपियाँ आम्दानी भएको छ ।
सबैभन्दा धेरै पानीको बोतल दुई हजार चार सय ५९ किलो बिक्री गरेको थियो । करीब एक लाख रुपियाँ बराबरको एलडी, एचएम, पिपि, गुडिया लगायतका सामान बिक्रीका लागि तयारी अवस्थामा राखिएको छ । पहिलो चरणमा नकुहिने फोहोरलाई मोहरमा बदल्ने सोचसहित सूक्ष्म रूपमा वर्गीकरण गरेर बिक्री वितरण गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ । वन, वातावरण तथा सरसफाइ शाखा प्रमुख नवराज कँडेलले विगत लामो समयदेखि नकुहिने फोहोरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री वितरण भइरहेको जानकारी दिनुभयो ।
यसअघि वडा नं ३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएकोमा हाल कार्यालय परिसरबाट फोहोर व्यवस्थापन गरिएको छ । त्यहाँको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहोर व्यवस्थापन भइरहेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहोर सङ्कलन हुने गरेको छ । यसको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ । प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सूक्ष्म वर्गीकरण गरी बिक्री गरिने नगरपालिकाले जनाएको छ । यसअघि खाडल खनेर पुरिँदै आएको नकुहिने फोहोर अब सरसफाइ शाखाका कर्मचारी परिचालन गरी वर्गीकरण गर्ने र त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बिक्री वितरण भइरहेको प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । फोहोरका रूपमा दैनिक सङ्कलन हुने फलाम, काँच, प्लास्टिक, विद्युतजन्य सामग्री, कार्टुन, कागज लगायत वस्तु छुट्याएर बिक्री भइरहेको नगरपालिकाले जनाएको छ ।