• १० कात्तिक २०८१, शनिबार

समितिलाई दुई दिनको मात्र भेटी

blog

फेवातालको बिच भागमा रहेको वाराही मन्दिर । हाल मन्दिर पुनर्निर्माणको क्रममा छ ।

सन्तोष सुवेदी

पोखरा, कात्तिक ७ गते । फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिरको भेटी पुजारीले लिने गरेका छन् । तालवाराहीमा सङ्कलित लाखौँ रुपियाँ भेटी अझै पनि पुजारीको पोल्टामा जाने गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०७३ कात्तिकदेखि लागु हुने गरी धार्मिक स्थलको भेटी व्यवस्थापनसम्बन्धी निर्देशिका बनाएको थियो । निर्देशिकामा स्थानीयस्तरमा कानुनद्वारा गठित वा जनस्तरबाट गठित कुनै पनि समितिले व्यवस्थापनका रूपमा काम गर्न सक्ने छ । यसका लागि संस्कृति मन्त्रालयबाट स्वीकृत प्राप्त गर्नु पर्छ भन्ने प्रावधान छ तर त्यो अनुसार तालवाराही मन्दिरको भेटी व्यवस्थापन समितिको साटो अझै पनि पुजारीले राख्ने गरेका छन् । 

वाराही मन्दिर संरक्षण व्यवस्थापन समितिका कोषाध्यक्ष निर्मल खत्रीले पुरानै चलन अनुसार भेटी व्यवस्थापन हुँदै आएको बताउनुभयो । उहाँले नयाँ वर्ष र दसैँको पूर्णिमाको दिन मात्र उठेको भेटी समितिले लिने गरेको जानकारी दिनुभयो । “प्रत्येक वर्षको कोजाग्रत पूर्णिमाको दिन लाग्ने मेला र नयाँ वर्षमा उठेको सम्पूर्ण भेटी समितिले पाउने सम्झौता भएको छ । पूर्णिमाको बिहानदेखि बेलुका ५ बजेसम्म भित्रबाहिर उठेको पैसा सबै समितिलाई दिने निर्णय भएको छ । यो निर्णय २०५८ सालदेखिबाट सुरु गरिएको हो । परेवा बेचेको, मन्दिरमा भिडियो खिचेकोलगायतको बिल समितिले काट्ने गरेको छ । यसबाहेक अरू दिन उठेको पैसा सबै पुजारीले लिने गरेका छन्,” उहाँले भन्नुभयो । 

यसका साथै हरेक दिन पुजारीहरूले आठ सय रुपियाँ समितिलाई बुझाउने गरेको उहाँले बताउनुभयो । “पहिले दैनिक १५० रुपियाँ मन्दिर व्यवस्थापनमा जम्मा हुन्थ्यो । अहिले छलफलपछि बढाएर आठ सय पु¥याएका छौँ,” उहाँले भन्नुभयो । खत्रीका अनुसार यस पटक कोजाग्रत पूर्णिमाका दिन चार लाख ५० हजारभन्दा बढी रकम आम्दानी भएको छ । यो रकम गत वर्षको तुलनामा कम रहेको उहाँको भनाइ छ । खत्रीका अनुसार गत वर्ष कोजाग्रत पूर्णिमाका दिन पाँच लाखभन्दा बढी रकम सङ्कलन भएको थियो । 

मन्दिरमा उठेको भेटीलाई व्यवस्थित गर्नुभन्दा पनि भक्तजनलाई सहज बनाउने लक्ष्य लिइएको उहाँले बताउनुभयो । “वारिबाट मन्दिरसम्म पुग्न डुङ्गामा ७० रुपियाँ तिर्नु पर्छ । कतिपय भक्तजनले त्यही पैसाको अभावले घाटबाटै फूलप्रसाद बगाएको देखिने गर्छ । वाराही मन्दिर अरू जस्तो छैन, जहाँ गाडीबाट झर्नेबित्तिकै दर्शन गर्न मिलोस् । बढी हावा चल्यो भने डुङ्गा चल्दैन,” उहाँले भन्नुभयो । त्यसैले पनि सम्पूर्ण भक्तजनको पहुँच पुग्ने खालको व्यवस्थापनमा लागिपर्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । उहाँका अनुसार दैनिक दुई हजारको हाराहारीमा तीर्थालु भक्तजन दर्शनका लागि आउने गर्दछन् । “दसैँपछि आन्तरिक पर्यटक बढी आएका छन् । साँझ गरिने आरतीले गर्दा पनि पर्यटकको आकर्षण बढेको पाइएको छ,” उहाँले भन्नुभयो ।