• १० कात्तिक २०८१, शनिबार

चौहानको अभिनन्दन

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ७ गते । रुसी सदन र शैली थिएटरले संयुक्त रूपमा प्राडा जङ्गब चौहानलाई सोमबार राजधानीमा अभिनन्दन गरेको छ । रुसका लागि नियुक्त राजदूत प्राडा चौहानलाई कमलपोखरीमा आयोजित कार्यक्रममा अभिनन्दन गरिएको हो । रुसी हाउसकी उपनिर्देशक अनुसले राजदूत चौहानको कार्यकालमा नेपाल–रुस सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले रुसी कथा, कविता र नाटकको अनुवादबाट प्राडा चौहानले नेपाली साहित्य रङ्गमञ्चमा पु¥याउनुभएकोयोगदानको चर्चा गर्नुभयो ।

साहित्यिक पत्रकार मोहन दुवालले रुसी भाषा, साहित्य र इतिहासको विज्ञताका आधारमा प्राडा चौहानभन्दा राम्रो रुसका लागि नेपाली राजदूत अरू कोही नहुने बताउनुभयो । 

कार्यक्रममा राजदूत प्राडा चौहानले कला र साहित्य मानिस मानिसबिचको बलियो पुल भएकाले आफ्नो कार्यकालमा यस्ता सम्बन्धलाई प्राथमिकतामा राख्ने बताउनुभयो । उहाँले भन्नुभयो, “साहित्यिक र सांस्कृतिक सम्बन्धहरू कालातीत हुन्छन् र यिनले आमजनताको स्तरसम्म विस्तार गरेर सम्बन्धलाई शाश्वत र अटुट बनाउँछन् ।”

सो अवसरमा प्राडा चौहानद्वारा नेपालीमा अनुवाद गरिएका अलेक्ज्यान्डर पुस्किन र फ्योडोर ट्युटचेभका कविता वाचन र नाट्य प्रस्तुत गरिएको थियो ।