ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), कात्तिक ६ गते । माथिल्लो मुस्ताङको ल्होमन्थाङ पुग्ने पर्यटकका लागि यहाँ सूचना केन्द्र सञ्चालनमा ल्याइएको छ । असोजको दोस्रो साताबाट सञ्चालन गरिएको पर्यटक सूचना केन्द्रले ल्होमन्थाङ पुग्ने पर्यटकलाई सहज भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ल्होमन्थाङको कार्यालय भवनमा स्थापना भएको सूचना केन्द्रले ल्होमन्थाङ पुग्ने पर्यटकलाई सहज भएको हो ।
यहाँको ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल, संस्कृति, जैविक विविधता, वन्यजन्तु, पन्छी, भौगोलिक विविधतालगायतका विषयमा जानकारी लिन सहज भएको ल्होमन्थाङ गाउँपालिकाका अध्यक्ष टासी न्हर्बु गुरुङले बताउनुभयो । पालिकाका अध्यक्ष गुरुङले भन्नुभयो, “ल्होमन्थाङमा आउने पर्यटकलाई यहाँको विविध पक्षका बारेमा जानकारी लिन सहज भएको छ । केन्द्रबाट पर्यटकलाई गन्तव्य, आवास सुविधाको विषयमा पनि परामर्श र सूचना उपलब्ध भएको छ ।” एक्यापका कर्मचारी रहने केन्द्रमा ल्होमन्थाङ र आसपासका ठाउँको भौगोलिक नक्सा, ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थल, गुफा, गुम्बा, कला, संस्कृति झल्कने तस्बिर, त्यसको महत्व, अवस्थिति, पुग्न लाग्ने समय र खानबस्नको सुविधालगायत विषयमा जानकारीमूलक बोर्ड राखिएको पालिकाका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
सूचना केन्द्रमा बस्ने कर्मचारीले पर्यटकलाई पदमार्गसम्बन्धी अन्योलमा परामर्श दिने, मद्दत, सहजीकरण तथा समन्वय गर्दै आएको एक्याप ल्होमन्थाङका रेन्जर मदन पौडेलले बताउनुभयो । दसैँतिहार बिदाको अवसरमा ल्होमन्थाङ र कोरला नाका भ्रमणमा पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य भएको पालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।