• ५ कात्तिक २०८१, सोमबार

इमान्दार भएर काम गर्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

blog

प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री सतिशकुमार सिंह। तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा

जनकपुरधाम, कात्तिक ४ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशको स्वास्थ्य क्षेत्रको सूचकांकमा क्रमश सुधार भए पनि सन्तुष्ट हुने अवस्था नभएको भन्दै इमान्दारिताका साथ कामकाज गर्न स्वास्थ्यका कर्मचारीलाई निर्देशन दिनुभएको छ। 

स्वास्थ्य निर्देशनालय मधेश प्रदेशको जनकपुरधाममा भएको तीन दिवसीय प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठीको समापन शत्रलाई आइतबार सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले जनताले सरकारी अस्पताल, स्वास्थ्यचौकी र उपस्वास्थ्य चौकीको सेवाबाट सन्तुष्ट भएर काम गर्दा स्वास्थ्य क्षेत्रमा सुधार भएको भन्न सकिने भन्दै जनताको विश्वास जित्ने किसिमले काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले स्वास्थ्य बिमामा आम जनताको पहुँच बढाउनुपर्ने भन्दै त्यसका लागि ग्रमीण स्तरमा स्वास्थ्य बीमा गर्दा हुने फाइदाको बारेमा प्रचार प्रसार गर्नुपर्ने बताउनुभयो। 

उहाँले नेपालमा गुणस्तरहीन र फेक मेडिसिनको बिगबिगी बढेको भन्दै औषधी अभाव भएको ठाउँमा गुणस्तरीय औषधी खरिद गरी तत्काल पुर्याउनका लागि निर्देशन दिनुभयो। उहाँले नेपाल सरकारले निजी अस्पतालमा पनि १० प्रतिश गरिब जनतालाई निःशुल्क उपचारका लागि वेडको व्यवस्थापन गरेको भन्दै त्यसको पालना भएको नभएको बारेमा प्रभावकारी अनुगमन गर्न स्वास्थ्य मन्त्रीलाई आग्रह गर्नुभयो। 


उहाँले यूएसआइडिको सहयोगमा मधेशका आठ जिल्लामा संचालन हुन लागेको पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि आग्रह गर्नुभयो। कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहले कम बजेट र पूर्ण अधिकार प्राप्तिबिना मधेश प्रदेशले स्वास्थ्य क्षेत्रमा क्रमश सुधार गरेकोमा खुशी व्यक्त गर्नुभयो। 

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. संजयकुमार ठाकुरले स्वास्थ्य क्षेत्रका सूचक ९० प्रतिशत भन्दामाथि गएपछि मात्रै सुधार भएको मान्न सकिने बताउनुभयो। उहाँले यसलाई लक्ष्य बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो। 

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक डा. विनोदकुमार यादवले  जनशक्ति अभावमा प्रतिष्ठानले आफ्ना सेवालाई प्रभावकारी बनाउन नसकेको स्वीकार गर्दै थप जनशक्तिको व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्नुभयो। 

स्वास्थ्य निर्देशनालका निर्देशक डा. राजीवकुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा उत्कृष्ट भएका स्वास्थ्य कार्यालय, प्रदेश अस्पताल र पालिकालाई सम्मान गरिएको थियो।