• ५ कात्तिक २०८१, सोमबार

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

blog

कास्की जिल्ला अदालत नजिकै देशका विभिन्न ठाउँबाट आएका रास्वपाका नेता, कार्यकर्ता । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, कात्तिक ४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । पक्राउ परेको तेस्रो दिन आइतबार दिउँसो १ः३० बजे लामिछानेलाई अदालत उपस्थित गराइएको हो ।

अदालत नजिकै देशका विभिन्न ठाउँबाट आएका रास्वपाका नेता, कार्यकर्ताले विरोध प्रदर्शन र र्‍याली निकाल्ने र सरकारीपीडित समेत भेला भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय नजिकैको सहिद चोकमा आजै दिउँसो १२ः३० बजे रास्वपाले विरोध गरिरहेको छ ।

मुस्ताङ चोकमा सूर्यदर्शन सहकारीपीडित सङ्घर्ष समितिले आइतबार ११ बजेदेखि प्रदर्शन गरिरहका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले सुरक्षामा कडाइ गरेको छ । प्रशासन, अदालत आसपास, प्रदर्शन हुने तय भएका स्थानहरु र सहरका मुख्य चोकहरुका ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले प्रशासनले आवश्यक सुरक्षाको तयारी गरेको जानकारी दिनुभयो ।

सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान गर्न शुक्रबार पक्राउ परेका लामिछानेलाई शनिबार बिदा भएकाले म्याद थपका लागि आइतबार अदालत लगिएको हो । लामिछाने गोरखा मिडिया प्रालिको प्रबन्ध निर्देशक रहँदा सूर्यदर्शन बचत तथा ऋण सहकारीबाट गोरखा मिडियामा अवैध रुपमा रकम गएको देखिएको छ ।