गोरखापत्र समाचारदाता
भक्तपुर, कात्तिक १ गते । विजयादशमीको अवसरमा मध्यपुर थिमिमा मनाइने ‘खाँ पिहाँवइगु जात्रा’ सम्पन्न भएको छ । युद्धको झझल्को दिने सो जात्रामा सेतो वस्त्र, जामा लगाएका, ढाल, तरबार र खड्ग भिरेका, फलामबाट निर्मित सिक्रीजडित टोपी लगाएकाले युद्ध परेड खेलेर नगर परिक्रमा गर्ने गर्छन् ।
मल्लकालदेखि चल्दै आएको विश्वास गरिने खड्ग, तरबार ढालसहित युद्धकला प्रदर्शन गरिन्छ । “खड्ग बोकेकाहरूले बालकुमारीमा गएर दैत्य आकृतिको कुभिन्डोमाथि प्रहार गर्छन्,” संस्कृतविद् तथा स्थानीय गणेशराम लाछीले भन्नुभयो, “कुभिन्डोको टुव्रmा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुव्रmाले औषधीको समेत काम गर्ने जनविश्वास रहिआएको छ ।”
उहाँले तत्कालीन दरबारबाट जात्रा निकालेर ‘खाँ पिहाँवइगु’ जात्रा माथिल्लो (थहने) टोलका रूपमा इनाएटोल, दुई पोखरी हुँदै दिगु भैरवसम्म र तल्लो (कोहने) टोलका रूपमा दथुटोल हुँदै बालकुमारीसम्म परिव्रmमा गर्ने गरिने जानकारी दिनुभयो । विशेष गरी यो जात्रामा तत्कालीन दरबारका प्रशासक, श्रेष्ठ थरका (नायः पःमां), कर्माचार्य, जोशी, कुथु, प्याथः, खड्गी समुदायको प्रत्यक्ष संलग्नता हुन्छ । युद्ध परेड गर्दै बालकुमारीमा पुगेर कुभिन्डो काटेसँगै जात्रा सम्पन्न गरिन्छ । यसै गरी राजधानीको पुरानो व्यापारिक केन्द्र असनका नेवार समुदायका तुलाधरले खड्गजात्रा गरी दसैँ मनाएका छन् । विजयादशमीको भोलिपल्ट एकादशीको दिन विशेष बाजागाजासहित मनाइने उक्त जात्रामा आसुरी शक्तिलाई परास्त गरेर टीका, जमरा लगाउने गरिन्छ । स्थानीय राजेन्द्र तुलाधरले भन्नुभयो, “यस जात्राका लागि तुलाधर समाजभित्रका सबैभन्दा कनिष्ठ बालकलाई नाइके बनाइने परम्परा छ ।” उहाँका अनुसार कलात्मक शैलीमा दैत्यको चित्र बनाइएको दुई वटा कुभिन्डोमा सबभन्दा सानो बालकले मार हानेपछि असुरी शक्तिमाथि विजय प्राप्त गरिएको घोषणा गरी सो जात्रा मनाउने गरिन्छ ।
सम्राट् अशोकले कलिङको युद्धमा लाखौँ मानिसको नरसंहार गरेको घटनासँग जोडिएको यो जात्रालाई हिन्दु र बौद्ध धर्मावलम्बीको साझा संस्कृतिका रूपमा मिश्रण गरिएको छ । बौद्ध संस्कृतिमा विश्वास गर्ने यो समुदायले घटस्थापनाका दिन विधि विधानपूर्वक जमरा रोपेर पूजाआराधना गर्छन् ।
दुर्गादेवीले आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएको विश्वास गरिएको जात्राका संरक्षक प्राज्ञारत्न तुलाधरले बताउनुभयो । सधैँ जसो व्यापारिक कार्यमा व्यस्त रहने यस क्षेत्रका स्थानीयवासीले एकादशीका दिन आफन्त, नातागोता बोलाएर अग्रजका हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने गर्छन् ।
काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा खड्गजात्रा मनाइने गरिन्छ । खड्गजात्रामा विभिन्न शक्तिपीठमा तन्त्रसाधना गरी खड्गधारण गरिएको हुन्छ । युद्धपछि चव्रmवर्ती सम्राट् बनेका अशोक खुसी र शान्त हुन नसकेपछि हतियार छाडेर बौद्धमार्गी बनेको सन्देश नयाँ पुस्तालाई दिनका लागि जात्राको परम्परा सुरु गरिएको तुलाधरले बताउनुभयो ।
“शक्तिपीठबाट तन्त्र साधना गरी देवदेवीको मूर्ति रहेको शक्तिपीठको मूल घरबाट जात्रा चलाइन्छ,” उहाँले भन्नुभयो, “हिन्दु परम्पराका देवीलाई बौद्ध अनुयायीले शक्ति सञ्चयको केन्द्र मान्ने र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा सम्मान गर्ने हुँदा जात्राले दुवै धर्मावलम्बीमा सांस्कृतिक एकता जगाएको छ ।”