राधाकृष्ण डुम्रे
वालिङ, असोज ३० गते । गह्रौंसुरमा रहेको कालिका मन्दिर स्याङ्जा जिल्लाकै प्रसिद्ध स्थलमध्ये एक हो । यो धार्मिक र सांस्कृतिक महत्त्व रहेको यो मन्दिरको छुट्टै इतिहास छ । यहाँ बडादसैँको नवदुर्गामा मन्दिरमा पूजा गर्नेहरुको बाक्लो उपस्थिति हुने गर्दछ । घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म एकादशी र चौथीबाहेकका दिन विशेष पूजा हुने गर्दछ ।
वालिङ नगरपालिकाको वडा नम्बर ८ र १० मा पर्ने गह्रौंसुर गल्याङ नगरपालिकासँग जोडिएको छ । सिद्धार्थ राजमार्गमा पर्ने वालिङ बजारदेखि कच्ची र पक्की गरी १० किलोमिटरको दूरीमा यहाँ पुग्न सकिन्छ ।
चौबिसे राजा दशरथ खाँणले वि.सं.१५५२ मा गह्रौँकालिका मन्दिरको स्थापना गरेको मानिन्छ । गह्रौंसुर समुद्र सतहदेखि झण्डै १६ सय मिटरको उचाइमा अवस्थित छ । यहाँबाट स्याङ्जाका अधिकांश भागकासाथै पाल्पा, तनहुँ, कास्की, नवलपरासी, पर्वतलगायतका छिमेकी जिल्ला सहजै अवलोकन गर्न सकिन्छ । धार्मिक, सांस्कृतिक एवम् पर्यटकीय महत्त्व रहेको गह्रौंसुरबाट उत्तरतर्फको हिमशृङ्खला देख्न सकिन्छ ।
पछिल्लो समयमा मन्दिर वरपर गरिएको व्यवस्थापनले धार्मिक आस्थावान एवम् पर्यटकहरुका लागि जिल्लाकै आकर्षक गन्तव्यकारुपमा विकसित हुँदै आएको छ । योसँगै वालिङकै एक महत्त्वपूर्ण पर्यटकीय स्थल समेत बनेको छ ।
गएको वर्षहरुको तुलनामा यो पटकको दसैँमा धेरै भक्तजनहरुले मन्दिरको दर्शन गरेका मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष केशभक्त गुरुङले बताउनुभयो । सहज सडक र मन्दिरको स्वरुप परिवर्तनले यो क्षेत्रको भ्रमण र मन्दिरमा पूजा गर्नेको सङ्ख्यामा वृद्धि भएको उहाँको भनाइ छ ।
पछिल्लो समय भगवती र कालिकादेवीको मन्दिर निर्माण गरिएको छ । सुविधासम्पन्न अतिथिगृह र खानेपानीको सहज उपलब्धता छ । यहाँको ऐतिहासिक महत्त्व झल्किने कोतघर निर्माण, धर्मशाला, चमेनागृह, शौचालय, पक्की सडक तथा पदमार्गको सुविधा छ । यसैगरी, आकर्षक प्रवेशद्वार, दृश्यावलोकन केन्द्र, मन्दिर परिसरमा ढुङ्गा तथा टायल लगाएको सफा र सुन्दर भएकाले भक्तजनको विशेष आर्कषणको रुपमा रहेको कोषाध्यक्ष गुरुङले बताउनुभयो ।
नवनिर्मित थप मन्दिर तथा संरचनाको बुधबार उद्घाटन गरिने मन्दिर समितिले जनाएको छ । यसको तयारी पूरा भएको समितिका कोषाध्यक्ष गुरुङले बताउनुभयो ।