• १९ पुस २०८१, शुक्रबार

मन्त्री यादवद्वारा भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण

blog

वीरगञ्ज, असोज २७ गते । खानेपानीमन्त्री प्रदीप यादवले वीरगन्ज महानगरपालिका –३१ मा रहेको भेडाहा खोला बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

असोज ११ र १२ गते परेको अविरल वर्षासँगैको बाढीले खोला तटीय क्षेत्रका टोल र खेतीयोग्य जमिनमा क्षति गरेकोमा आज उहाँले प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गर्नुभएको हो । 

भेडाहा खोलाको अनियन्त्रित बहावले विशेष गरी इस्लामपुर र आसपासका बस्तीहरूमा खेतीयोग्य जमिन कटान गर्दै ठुलो क्षति गरेको छ । त्यसक्रममा स्थानीयले वर्षौँदेखि खोलाले कटान र बाढीको जोखिम गर्दैआएकाले दीर्घकालीन समाधानका लागि तटबन्ध निर्माणका लागि आग्रह गरेका थिए ।

मन्त्री यादवले समस्याका दीर्घकालीन समाधान र पीडित परिवारलाई राहत सहयोगको व्यवस्थाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो मेरो निर्वाचन क्षेत्रमा पर्ने भएकाले यहाँका समस्या समाधान गर्नु मेरो दायित्व नै हो । त्यसैले यहाँहरूका गुनासा र मागलाई गम्भीरताका साथ लिएर दीर्घकालीन समाधानका लागि पहल गर्छु ।”

मन्त्री यादवसँगै पूर्व प्रदेशसभा सदस्य जन्नत अन्सारीलगायत पनि निरीक्षणमा पुग्नुभएको थियो । अन्सारीले यस क्षेत्रको समस्या समाधानका लागि स्थानीय निकाय र सङ्घीय सरकारबिच समन्वय आवश्यक रहेको बताउनुभयो । रासस