• ७ मंसिर २०८१, शुक्रबार

दसैंमा रमाइलो गर्न पिङको जोहो

blog

नवलपुरको कावासोतीमा पिङ निर्माण गरिँदै । तस्बिरः मीना कंडेल

मीना कँडेल 

कावासोती, असोज २३ गते । हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँ भित्रिसकेको छ । शहर गएकाहरू गाउँ फर्किने क्रम जारी छ । विद्यालयहरू बिदा भएका छन् । गाउँघरमा रमाइलो गर्न स्थानीयले परम्परागत पिङ हाल्न थालेका छन् । 

गाउँघरमा दसैं आएको अनुभव भएको पाइँदैन । दसैं–तिहारजस्ता ठुला चाडपर्वमा गाउँघरमा पिङ हाल्ने चलन पछिल्लो समय लोप हुँदैगएको छ ।  जिल्लाका हरेक गाउँबस्तीका टोल–टोलमा हालिने र खेलिने पिङ बिस्तारै लोप हुँदै जान थालेको हो ।

कावासोतीका तीर्थ महत्तोलाई दसैं आएको महसुस हुन सकेको छैन् । विगतका वर्षमा यतिखेर दसैंको उमङ्ग छाएर खुसी हुने, मिठा परिकार खाने र परिवारलाई खुवाउने गरेको भए पनि यस पटक दसैँको पाँचौं दिन बितिसक्दा पनि उहाँलाई दसैं आएको  अनुभव भएको छैन । 

उहाँ भन्नुहुन्छ, “अहिले त प्रकृतिले पनि हाम्रो खुसी खोसेको छ । असोज ११ र १२ गते आएको बाढीले सबै बगाएको छ । बिहान बेलुकाको छाक टार्न मुस्किल परेको समयमा पिङ बनाउने खेल्ने उत्साह पनि छैन् ।” 

वर्षमा एक दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका साथ पिङ हाल्ने र दसैँमा पिङ खेल्ने चलन चल्दैआएको हो । गाउँका युवा पिङ बनाउन आवश्यक पर्ने डोरी (लठो) बाट्ने र टोल–टोलमा पिङ बनाएर खेल्दा रमाइलो हुने गरेको थियो । तर अहिले गाउँमा पहिलेजस्तो रौनकता नभएको उहाँको भनाइ छ । 

पहिला गाउँमा युवा, युवती भेला भइ हरियो खर काटेर बलियो पिङ बनाउने प्रतिस्पर्धा गर्ने चलन रहेकामा अहिले प्रायः युवा गाउँमा छैनन् र अर्काेतर्फ बाढीले सबै बगाएको स्थानीय जितनारायण महत्तोले बताउनुभयो । घर भत्काएको छ, खाद्यान्न बगाएको छ, आफ्नै घरमा पुनःस्थापनाका लागि जुटेको उहाँले बताउनुभयो । 

हरेक वर्ष दसैं–तिहारमा हाल्ने गरेका लिङ्गेपिङ, रोटे पिङ, काठेपिङ अब वर्षेनी लोप हुँदै गइरहेका छन् । पिङ किशोर, युवादेखि वयस्कसम्म सबैखाले मानिसको रुचिको विषय हो । बालबालिकादेखि नेपाली युवा पुस्ताको इन्टरनेट, भिडियो गेम र स्मार्टफोन प्रतिको बढ्दो मोहले गर्दा परम्परा लोप हुँदैगएको एकनारायण भट्टराईले बताउनुभयो ।

बडादसैंको दिन मान्यजनको हातबाट टीका–जमरा ग्रहण गरेपछि पिङमा बसेर भुइँ छोड्नुपर्ने प्रचलन छ । वर्षको एक पटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ । गाउँको टोल–टोलमा पिङ हाल्ने जनशक्ति समेत पाउन मुस्किल हुँदा वर्षाैदेखि पिङ खेल्ने इच्छा अधुरो रहेको उहाँको गुनासो छ ।

पछिल्लो पुस्ताका युवाले परम्परागत संस्कार संस्कृतिलाई जगेर्ना गर्नुभन्दा पनि आधुनिक मनोरञ्जनका विकल्प रोज्नाले पिङजस्ता मौलिक मनोरञ्जनको साधन ओझेलमा परेको स्थानीय सालिकराम सापकोटाले बताउनुभयो । बस्ती बाक्लिदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु, पिङका लागि आवश्यक लठारो अर्थात् बाबियाको डोरीको समेत अभाव, दसैँ र तिहारका बेला चाडपर्वमा मात्र गाउँघरमा जुट्ने युवालाई पिङ बनाउने फुर्सद र सीप  नभएको उहाँको बुझाइ छ ।