• २७ पुस २०८१, शनिबार

तीव्र गतिमा डाइभर्सनको काम

blog

केदार तिमल्सिना 

बनेपा, असोज २३ गते । रोसीखोलामा आएको बाढीका कारण क्षतिग्रस्त भएको बिपी राजमार्ग सञ्चालन गर्न तीव्र गतिमा काम भइरहेको छ । डिभिजन सडक कार्यालय भक्तपुरले दसैँअघि अवरुद्ध भएको सडक सञ्चालन गर्ने लक्ष्यका साथ कामलाई तीव्रता दिए पनि दसैँअघि सडक सञ्चालन हुनेमा आशङ्का भने कायमै छ । 

बाढीसँगै रोसीखोलामा आएको पानीको बहाब कम नभएका कारण बाढीबाट क्षतिग्रस्त चौकीडाँडामा सडक डाइभर्सन निर्माण गर्न समस्या र ढिलाइ भएकाले बिपी राजमार्गमा सडक डाइभर्सन गर्ने काममा ढिलाइ भएको थियो । डाइभर्सन गर्ने सडकतर्फ खोला आएका कारण खोलालाई धार परिवर्तन गराई उक्त खण्डमा डाइभर्सन गरिएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योेगेशले बाढीका कारण क्षति भई अवरुद्ध भएको बिपी राजमार्गलाई सञ्चालन गर्नका लागि तीव्र गतिमा काम अघि बढाइएको बताउँदै राजमार्गको काभ्रेपलाञ्चोक र सिन्धुलीतर्फबाट काम भइरहेको जानकारी दिनुभयो । “बाढीपहिरोका कारण अवरुद्ध भएको बिपी राजमार्गको चौकीडाँडामा आइतबार डाइभर्सन गरेर अघि बढेसँगै अहिले धुलिखेलदेखि ३१ किलोमिटर सडकखण्डसम्म यातायात सञ्चालन हुने अवस्था छ,” सिडिई योगेशले भन्नुभयो । उहाँले रोसी गाउँपालिकाको गिम्दीसम्मको सडकमा डाइभर्सन  भएको बताउँदै मङ्गलबार गिम्दीबाट नार्केतर्फको काम भइरहेको बताउनुभयो । “आजबाट नार्केतर्फ काम अघि बढेको छ, उता मङ्गलटारमा पनि काम भइरहेकाले चार किलोमिटर खण्ड यातायात सञ्चालन हुन सक्ने अवस्था छ, सिन्धुलीतर्फबाट डाइभर्सन बनाउँदै आएका उपकरण अहिले माम्तीमा काम गर्दै छ,” सिडिई योगेशले थप्नुभयो । उहाँले दसैँसम्म राजमार्गको क्षति भएको स्थानमा खोलामा डाइभर्सन गरेर यातायात सञ्चालन गर्ने कोसिस गरिरहे पनि सम्भावना कम भएको बताउनुभयो । 

बाढीले राजमार्गको चौकीडाँडादेखि काभ्रेपलाञ्चोकको सीमा क्षेत्र बर्खेखोलासम्मको २१ किलोमिटर सडकखण्डको १४ वटा स्थानमा आठ किलोमिटर सडक पूर्ण रूपमा क्षति भएको कार्यालयले जनाएको छ । बाढीबाट राजमार्ग अन्तर्गतको दाप्चा खोलामा एक सय मिटर, चौकीडाँडामा दुई सय मिटर, कटुञ्जेमा पाँच सय मिटर, चार सय बेँसीमा पाँच सय मिटर, नार्केमा दुई सय मिटर, पिन्थलीबेँसीमा चार सय मिटर, दाउन्नेमा तीन सय मिटर, मङ्गलटार बोक्सीकुनामा छ सय मिटर सडक पूर्ण रूपमा क्षति भएको सिडिई योगेशले बताउनुभयो । त्यस्तै भ्याकुरेखोला कालढुङ्गामा सात सय मिटर, डालाबेँसीमा आठ सय मिटर, पिप्लेको दुई स्थानमा गरी सात सय मिटर, माम्ती चालिसेमा चार सय मिटर र माम्तीमा आठ सय मिटर सडक बाढीले पूर्ण रूपमा क्षति भएको छ ।