• ७ मंसिर २०८१, शुक्रबार

नवदुर्गामा अतिरिक्त कक्षा निरन्तर

blog

नवदुर्गा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागी । तस्बिर : पुष्कर भण्डारी

अमरगढी समाचारदाता

डडेलधुरा, असोज २३ गते । नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन गत वर्षदेखि अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेको छ । अतिरिक्त कक्षामा मुख्य तीन विषय अङ्ग्रेजी, गणित र विज्ञानका अतिरिक्त कक्षा सञ्चालन हुन थालेका छन् ।

कक्षा ८ देखि १० सम्मका विद्यार्थीको नतिजामा सुधार ल्याउन गाउँपालिकाले रकम विनियोजन गरेर गत वर्षदेखि अतिरिक्त कक्षा सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष लक्ष्मीप्रसाद अवस्थीले जानकारी दिनुभयो । अतिरिक्त कक्षा सञ्चालनका लागि आर्थिक वर्ष २०८०/८१ मा १६ लाख रुपियाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।

सोमबार गत आवमा सम्पन्न गरेका योजनाको सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयले एसइईको नतिजा राम्रो नआएको र शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिकाले के कस्ता योजना सञ्चालन गरेको छ ? भनी प्रश्न गर्नुभएको थियो । जवाफमा गाउँपालिका अध्यक्ष अवस्थीले देशभरमा सबैभन्दा पहिले नवदुर्गा गाउँपालिकाले रकम विनियोजन गरेर अतिरिक्त कक्षा सञ्चालन गरेको र यस वर्ष रकम थप गरी ३० लाख रुपियाँ पुगाएको बताउनुभयो । 

“देशभर नै एसइईको नजिता त्यति राम्रो देखिएन,” उहाँले भन्नुभयो, जिल्लामा पनि राम्रो आएन । अरू स्थानीय तहका विद्यालय जस्तै नवदुर्गा गाउँपालिकाका विद्यालयको पनि नतिजा आयो । हामीले अतिरिक्त कक्षा सञ्चालन गरेका थियौँ । यस वर्ष पनि निरन्तरता दिन रकम थप गरेर ३० लाख रुपियाँ विनियोजन गरेका छौँ ।” 

शैक्षिक गुणस्तरका सवालमा शिक्षक, अभिभावकसँग बेला बेलामा छलफल गरेर अतिरिक्त कक्षा सञ्चालन गरेको उहाँले बताउनुभयो । नतिजा एकै पटक देखिने गरेर नआए पनि अबका वर्षमा सुधार हुनै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

माग गरे अनुसारका योजना नपर्ने, खोलानालामा पुल नबन्दा सास्ती हुनेलगायतका गुनासा गाउँपालिकाबासीले गर्नुभएको थियो । प्रश्नको जवाफ दिँदै अध्यक्ष अवस्थीले पालिकावासीका असीमित इच्छा, माग र सीमित बजेटले सबै योजना बनाउन नसकिने उहाँको भनाइ थियो । प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायतका कर्मचारीको अभावमा काम सम्पन्न गर्न कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।

शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्दै आइरहेको गाउँपालिकाका उपाध्यक्ष निर्मला बोगटी विष्टले बताउनुभयो । गाउँपालिकाले पूर्वाधारतर्फ सडक निर्माणसँगै सिँचाइका लागि कुलो निर्माण, खानेपानी योजना निर्माण, बर्थिङ सेन्टर निर्माणलगायत महत्वपूर्ण कार्य गरिरहेको उहाँले बताउनुभयो ।

नवदुर्गाले गत आर्थिक वर्षमा १२६ योजना छनोट गरेर सबै कार्यान्वयन गरेको पालिकाका सुब्बा पुष्पराज जोशीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । उहाँका अनुसार प्रत्येक वडामा २६ भन्दा बढी योजना निर्माण गरिएका छन । नवदुर्गामा पाँच वडा रहेका छन् । गत वर्षको कुल बजेट ४९ करोड एक लाख २२ हजार रुपियाँ बराबर रहेकोमा खर्च ४७ करोड रुपियाँ बराबर भएको प्रतिवेदनमा छ । 

सङ्घीयतर्फको बजेटमा ८१ लाख ७९ हजार रुपियाँ, प्रदेशतर्फको बजेटमा १५ लाख ५७ हजार रुपियाँ फिर्ता गरेको देखिएको छ । २२ लाख ५५ हजार रुपियाँ बराबर रकम भने सञ्चितकोष खातामा, धरौटीबापतको ५१ लाख ४४ हजार रुपियाँ, विधि कोषमा नौ लाख नौ हजार रुपियाँ र विपत् व्यवस्थापन कोषमा एक लाख ३० हजार रुपियाँ रहेको उहाँले बताउनुभयो ।