• ८ मंसिर २०८१, शनिबार

निस्दीको अदुवा जर्मनीमा

blog

रामपुर समाचारदाता

रामपुर (पाल्पा), असोज २३ गते । अदुवा प्रशोधन गरी पाल्पाको एक सहकारीले चार टनभन्दा बढी जर्मनी निर्यात गरेको छ । निस्दी गाउँपालिका–५, गल्घास्थित गल्घा सामाजिक उद्यमी महिला सहकारी संस्थाले आर्गानिक प्रमाणित गरेर गत वर्ष चार हजार ४६० किलो प्रशोधित अदुवा निर्यात गरेको हो । 

सहकारीले गल्घाका ७२ जना कृषकले लगाएको अदुवा आर्गानिक प्रमाणित गरेर प्रशोधन गरी एकोस्टा नेपालसँगको साझेदारीमा जर्मनी पठाएको हो । 

सरकारी तथा गैरसरकारी संस्थाको सहयोग प्राप्त अदुवा धुने, चाना पार्ने, सुकाउने, पिस्ने, प्याकेजिङ गर्ने मेसिनबाट २८ हजार केजी अदुवा प्रशोधन गरी प्रतिकेजी ७५० रुपियाँका दरले चार हजार ४६० केजी जर्मनी निर्यात गरिएको सहकारीका व्यवस्थापक दिलमाया सारूले बताउनुभयो । सहकारीले ३९ लाख ७६ हजार ९५३ रुपियाँको लागतमा गत वर्ष ३९ हजार ८८५ केजी अदुवा खरिद गरेको थियो । २८ हजार केजी प्रशोधन गरेर र अन्य बाँकी काँचो अदुवा ४७ लाख ६८ हजार ३३३ रुपियाँमा बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । 

सहकारीले तीन वर्षअघिदेखि अदुवा प्रशोधन गर्दै आएको थियो । आर्थिक वर्ष २०७८/७९ मा ५३२ केजी प्रशोधित अदुवा अन्नपूर्ण सप्लायर्स कपिलवस्तुमार्फत बजारमा पठाएको थियो । 

आव २०७९/८० मा आर्गानिक प्रमाणित गरेर ८०५ केजी नमुना परीक्षणका लागि युरोप पठाएको थियो । लुम्बिनी प्रदेश सरकार, सङ्घीय र स्थानीय तहका साथै हेफर नेपालको सहयोगमा सहकारीमा प्रशोधन उद्योगका लागि झन्डै ८० लाख खर्च भइसकेको छ ।