• १६ पुस २०८१, मङ्गलबार

लखन थापा पार्कमा सालकको मूर्ति

blog

मुरारी अधिकारी 

धादिङ, असोज २१ गते । धादिङको सदरमुकाम धादिङबेसीस्थित लखन थापा पार्कमा लोपोन्मुख वन्यजन्तु तामे सालकको एक जोडी मूर्ति राखिएको छ ।

लोपोन्मुख बन्दै गएको सालकको संरक्षण गर्ने उद्देश्यले सालकको मूर्ति स्थापना गरिएको डिभिजन वन कार्यालय धादिङका डिभिजन वन अधिकृत विष्णु प्रसाद आचार्यले बताउनु भयो । एक कार्यक्रमका बिचमा बागमती तामे सालकको मूर्ति लखन थापा पार्कमा राखिएको हो ।

डिभिजन वन अधिकृत आचार्य नेपालमा धेरै सालक पाइने जिल्ला मध्ये धादिङ पनि एक रहेको र मानिसहरूमा चेतना फैलाउनका लागि सालक चिनाउँदै हिँडेको बताउनु हुन्छ ।  धादिङका अधिकांश नागरिकले सालकको बारेमा थाहा पाइसकेका छन् । अहिले सालकको संरक्षणमा सहयोग गर्न थालिसक्नु भएको छ । धादिङमा सालक सुरक्षित र संरक्षण हुने विश्वास आफूहरूमा भएको आचार्य बताउनुहुन्छ ।

प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले डिभिजन वन कार्यालयसँग समन्वय गरेर सालकको संरक्षण गर्ने अभियान सञ्चालन गर्ने बताउनुभयो । त्यसै गरी, नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुङ्गानाले सालक संरक्षणका लागि नगरपालिकाले आगामी दिनमा सालक पार्क निर्माण गर्ने र त्यसको स्वामित्व नगरपालिकाले लिने समेत बताउनुभयो । डिभिजनल वन कार्यालय मार्फत निर्माण गरिएको सालकको मूर्ति लखन थापा पार्क व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।