• २३ कात्तिक २०८१, शुक्रबार

प्वाँख (कथा)

blog

दृश्य १

“के गर्दै छौ त घट्टे दाइ ?” पिठो पिस्ने पानीघट्ट चलाएकाले हामी उनलाई घट्टे दाइ भन्थ्यौँ ।

“के गर्नु भाइ, जसरी पनि गुजारा गर्नै पर्‍यो त,” घट्ट घुमिरहँदा फुर्सद मिलाएर काँचोपातमा भुर्रा मिसाएको चिलिम भर्दै हँसिलो अनुहारले हामीतिर हेर्थे । त्यस्तै थिए घट्टे दाइ । “एक दिन मरिजानु छ, ज्यादा लोभलालच किन, एक मानु खान पुगोस्, दुःख होस् सुख होस् छोडेरै जाने हो” भन्ने मसानवैराग्य पनि अलिकति पोको पारेर ढाडमा बाँधेको मान्छे ।

खानेकुरामा उनलाई केही फिक्री थिएन । घट्टमा प्रत्येक पटक अन्न बदल्दा उनकी श्रीमती आएर घट्ट सफा गर्थिन् । घट्ट बढारेको पिठो एउटा भाँडोमा जम्मा हुँदै जाँदा बेलुकालाई ढिँडो वा रोटी जे खाए पनि मनग्गे पुग्थ्यो ।

उनलाई दालभात खानै नपुग्ने पनि होइन तर त्यो दालभात भन्ने जिनिस खायो कि त सञ्चय केही नहुने । त्यति मात्र होइन, अन्न पिसाउन आउनेहरूले दिएको ज्यालाले आधाआधी भरिएको सन्दुक पनि रित्तिँदै जाने । यो रनबिरे उरन्ठेउलाले केही गरेन भने पनि अलिकति राखिदिएर मर्न पाए यसले पनि सुख पाउँदो हो, आफू पनि पुत्रऋणबाट मुक्त भइँदो हो र परलोक सुध्रँदो हो भन्ने लालसाले गर्दा उनलाई दालभात खासै मिठो लाग्दैनथ्यो ।

तर छोरो चाहिँ अलि मुख बिगार्थ्यो, “यो चाहिँ चामल, गहुँ, मकै, मास, चना सबै हो जस्तो अनि केही पनि होइन जस्तो केको पिठो हो ? कुनै एउटै अन्नको पिठो कस्तो हुन्छ ?”

“अब तँ पनि त लाठे भएको छस्, ल ख्वा त हामीलाई पनि एउटै अन्नको सग्लो पिठो । तेरा बाउ पल्लो गाउँमा कालीपार अर्को घट्ट चलाऊन्, तँ यो चला अनि खाए हुन्न शुद्ध चामलको भात ?” घट्टिनी भाउजू भन्थिन्, “झिनुवाको भात ।”

छोरो देखेर ढिँडाको डल्लो घाँटीमा पुगेको पनि फर्कूंला झैँ गथ्र्याे घट्टेको सुकेको घाँटीमा ।

“के बस्नु यस्तो जग्गामा !” ढिँडो खाइसकेपछि छोरो पुतपुताउँदै बाहिर निस्कन्थ्यो ।

“पानी ले,” घट्टे दाइ इसारा गर्थे अम्खोरा देखाएर । उनलाई लाग्थ्यो, “छोरालाई बाबुको जग्गा आफ्नो नलाग्ने किन होला ?”घट्टे दाइले अगाडि उभिएको मानव शरीरलाई हेरे र फेरि नयाँ चिने जस्तै माने– अग्लो, दुब्लो, गर्दनभन्दा तल एकनासको भाटा जस्तो, घरी बाबुको र घरी छोराको थालको ढिँडोमा पालैपालो हेरेको, छोराको थालमा अलि प्रेमले हेरे जस्तो, बाबुको थालमा अलिक निरपेक्ष भावले हेरे जस्तो, अनुहारमा विवशता र शुष्कता बोकेको त्यही घरमा बस्ने स्त्रीलिङ्गी मानव शरीर थियो त्यो– त्यसैलाई उनी श्रीमती भन्थे ।

त्यस घरबाट त्यो लाठे छोरो एक दिन निस्क्यो । 

“खान पुग्ने सम्पत्ति लिएर मात्र म आउँछु,” उसले भन्यो ।

“कसरी कहाँबाट ल्याउँछस् ?” 

आमा चाहिँले भय र उत्साह दुवै एकै चोटि अनुभव गर्दै भनिन्, “घर कहिले फर्किन्छस् रनबिरे ?”

“खै घर ? घर यस्तो हुन्छ ?” बाबुको छाप्राको बाङ्गो खाँबो देखाएर लाठे छोराले भन्यो ।  “प्वाँख पलाए अब,” बाबुले छोराको अनुहारमा सिधै हेरेर भने, “तर इमानको अन्न मात्र ल्याउनू ।”

“इस !!! नापियो तिम्रो इमानले,” बाबुको नाकैमा आफ्नो घोप्टो हत्केलो धसारेर लोप्पा दियो अनि यति मङ्गलाचरण सकिएपछि रनबिरे घरको पश्चिमतिरबाट ओरालै ओरालो झर्‍यो । घट्टे दाइले भित्र पसेर मदुसको ढकनी उचाले र सानो सन्दुकको चाबी खोले । राखिएका केही गहना र पैसा यथावत् थिए । सन्दुकको चाबी लगाएर मदुसको ढकनी बन्द गरी बाहिर निस्कँदै गर्दा भने, “बाटोखर्चसम्म लगेको भए पनि हुन्थ्यो, के पो खाए होला ?”रनबिरे गएपछि तीन वटा कुराको प्रस्ट अनुभव भयो घट्टे दाइलाई– एक, आफ्ना अभाव र साँघुराहरू देखाएर बाबुको पदबाटै अपदस्थ गर्न खोज्ने किचकिचे हिँड्यो । दुई, एउटै घरमा भएको तन्नेरी छोरो घरबाट हिँडेपछि एउटा अकथ्य ग्लानिले चिथोर्न थाल्यो । तीन, घट्टिनीका आँखा एक पटक पनि ओभाएनन् ।

दृश्य २

१२ वर्षपछि त्यही ठाउँमा बनेको सानो घरको आँगनमा एउटा कुर्सीमाथि बसेका रनबिरेले आफ्नी दोस्री र सायद अन्तिम श्रीमतीसँग आफ्नो कथा भने, “यहाँबाट हिँडेपछि बटौलीमा पुगेर मैले थाहा पाएँ भोक भनेको के हो । कपडा साहुकोमा मैले अनौठो नै काम गरेँ । सुनौली बोर्डरमा चौकीको आँखा छलेर इन्डियाबाट सामान भित्र्याउने । दुःख र जोखिम म उठाउँथेँ, टन्न कमाउँथ्यो साहु । तीन वर्ष यस्तो काम गरेपछि अथवा केही पैसा जम्मा भएपछि मलाई लाग्यो– यस्तो काम मैले आफ्नैनिम्ति किन नगर्ने ? साहुका निम्ति किन ज्यान फाल्ने ? अनि सुरु भए पैसैपैसाका दिन ।”

घरबाट हिँड्दा म पनि सम्पूर्ण रूपमा मान्छे थिएँ । अरू जस्तै दुई हात, दुई गोडा, ती प्रत्येकमा पाँच पाँच वटा औँला, दुई वटा कान, दुई वटा आँखा भएको अथवा भनौँ न काटीकुटी सामान्य मान्छे । केही वर्षपछि भने मैले एउटा अनौठो सपना देखेँ । मेरा दुवै काखीबाट दुई वटा प्वाँख पलाएका थिए । एकदम ठुलठुला गज्जबका प्वाँखहरू । म आरामले आकाशमा उड्दो रहेछु र तल तल जमिनका मानिसहरूलाई भुसुना देख्तो रहेछु ।

अलिकति माथि पुगेपछि घिउकमिला र मान्छे उस्तै देखिने रहेछ भन्ने मलाई थाहा भयो । अनि विस्मृति सप्पै बिर्सिने कसले जन्मायो, कसले पाल्यो, कहाँबाट आएँ, दुनियाँ के गर्दै छ, दुःख के हो, म किन जन्मेको हुँ, मेरो उत्तरदायित्व के हो आदि सप्पै ।

यस्तो सपना मलाई मन परेकाले मैले बारम्बार देख्न थालेँ । एउटा यस्तै सपनामा मैले यो देशका धेरै ठुलाबडालाई एउटै मञ्चमा देखेर छक्कै परेँ । ती सबैका प्वाँख थिए । सर्पले मात्र सर्पका खुट्टा देख्छ भने जस्तो आफ्ना प्वाँख भएकाले मात्र अर्काका प्वाँख पनि देख्तो रहेछ । अघि अघि त मैले तिनीहरूका प्वाँख देखेको थिइनँ किनभने मेरा आफ्नै पनि प्वाँख थिएनन् र तिनीहरू त्यहाँ पुगेपछि कसरी आफ्नो सबै थातथलो र आफूलाई त्यहाँ उकाल्ने भर्‍याङसमेत बिर्सन्छन् भन्ने कुरा पनि मैले यसअघि बुझेको थिइनँ । प्वाँखको कमाल रहेछ त्यो ।

अँ, केही वर्षको मनग्गे कमाइपछिको कुरा– भन्सार छलेर गरिने व्यापारको सिलसिलामा एक पटक गोरखपुर पुग्दा मेरो यताबाट लगेको झोलामा गाँजा पक्डिएपछि म गोरखपुरको जेलमा थन्किएँ । जेलमा भएकै बेला पहिलो वर्षको अन्त्यतिर मैले उही सपनाको अन्तिम संस्करण देखेँ । म मेरी त्यही श्रीमतीसँगै हिँडेको थिएँ, जससँग मेरो त्यही व्यापारकै सिलसिलामा प्रेम भएको थियो । गुप्ताङ्गमा सुन लुकाएर ल्याउने सुविधा महिलालाई मात्र हुने र एक पटकमै आधा किलोसम्म सुन बोक्ने क्षमता भएकी हुनाले ती महिलासँग मैले प्रेम गर्नु परेको थियो । 

ढिँडो पाकेको हो ? ल म आफ्नो कथा सकिहाल्छु है त । त्यो महिला र म सँगै हिँडेका थियौँ, एक्कासि आफ्नो मोजाबाट छुरी निकालेर त्यसले मेरा प्वाँखहरू छप्काएर खसालिदिई । म त हेरेको हेरेकै, ऐँठन भए जस्तो केही गर्नै सकिनँ । अनि मैले प्वाँखवाला सपना देख्न छोडिदिएँ ।

जेलबाट मुक्त भई बटौली फर्किंदा बल्ल पो मैले प्वाँख काटिएको कुरा बुझेँ । त्यही पहिली श्रीमती भनाउँदीको नाममा रहेको मेरो घर बेचेर आफ्नो सुन बोक्ने भाँडो बोकी ऊ तीन वर्षअघि नै अर्थात् मेरा प्वाँख काटिएको राति भागिसकेकी थिई । अनि पो थाहा भयो– झोलामा गाँजा हालिदिने पनि त्यही थिई । प्वाँख काटिएका हुनाले मैले आफ्ना बाबुआमा र थातथलो सम्झेर यहाँ फर्किएँ । प्राण मात्र बाँकी राखेर पर्खेकी आमा पनि मलाई बाबुले राखिदिएको नासो त्यही सन्दुक दिएर मर्नुभयो ।

“यसमा भएका मेरा गहनाले बुहारी ल्याएस् र यसमा भएको बाको पैसाले अलिकति शुद्ध अन्न खाने जग्गा जोहो गरेस् रनबिरे,” बा भन्नुहुन्थ्यो, “सास छँदै देख्न पाइनँ तर त्यो फर्किन्छ । आमाले सास जाने बेला भन्नुभएको थियो, मैले सोही गरेँ ।” श्रीमती चाहिँले आफ्ना मलिला गराहरूबाट निकालेर भोलिका निम्ति सफा गर्दै र काट्दै गरेका मुला, आलु, काउली र गोलभेँडाहरूमा आँखा डुलाएर रनबिरेले अगाडि भने, “यसरी तँ मेरी दोस्री श्रीमती भइस् र यी अगाडिका अन्न फल्ने गराहरू बाकै सन्दुकका पैसाले आफ्ना भए ।”

एकचोटि मैले आफ्नो बाउलाई मुख लगाउँदा भनेको थिएँ, “न केही छ न केही छ, खोलो मात्र दरङरङ गर्ने यो रित्तो मुलुक ! यस्तो मुलुकमा बस्छ कुनै मर्द ? बाबु भएर अनुहार पनि बाबुको जस्तो होस् न, फुलेका दाह्रीले मात्र बाबु भइन्छ ? सन्तानलाई जाँतो बढारेको पिठो ख्वाउन मात्र पनि जन्माउँछ कसैले ?” तर अहिले लाग्छ, अगाडिको सुलीकोट, पश्चिमतिर लम्पेक– केवै हुँदै गएर उत्तरको माईको थान, लौँवा खोलो, यो रहस्यको प्रगाढ घनत्व बोकेर बग्ने कालीगण्डकी, अमृत फलाउने लौँवा फाँट अनि बाबुको रगत पसिनाले आर्जेको यो पानीघट्ट– यी सबैको अमूल्य सौन्दर्य किन मैले बाबु छँदै बुझिनँ ? बाबु छँदै बाबुको जमिन किन चिनिँदैन ? मैले घर छोड्दा त्यतिबेला बाले भनेका थिए, “प्वाँख पलाए” भनेर । हो कि, त्यतिखेरै मेरा प्वाँख पलाइसकेका थिए कि ?

मैले भनेँ नि, मान्छे प्वाँख उम्रिने जनावर होइन; उम्रे पनि झरेको राम्रो । मेरा प्वाँख झरे । मैले धेरै ठुलाबडाका प्वाँख देखेको थिएँ । कुनै दिन कुनै तरहले तिनका प्वाँख झरे भने तिनले पनि आफ्नो जमिन चिन्ने थिए, आफ्ना भर्‍याङका खुड्किलाहरू पनि सम्झिने थिए ।     

तर प्वाँख झारिदिने नायक वा खलनायक कहिले जन्मिन्छ ?

“ल हिँड् ढिँडो खाऊँ । के मुख बिगार्छेस्, अचेल त ढिँडो धनीमानीले खान्छन् ।”   

Author

डा. दीनबन्धु शर्मा