मधेश प्रदेशको विभिन्न पालिकामा रहेका पुराना मठमन्दिरमा मकवानी तथा शाहवंशीय राजाले प्रदान गरेका ताम्रपत्रको चर्चा हुने गर्छ । कयौँ मठमन्दिरमा यस्ता ताम्रपत्र अझैसम्म सुरक्षित राखिएका छन् । ताम्रपत्रमा मठमन्दिर सञ्चालनार्थ राजाबाट प्रदान भएको जग्गा, बिर्ताको अभिलेख छ । धेरै ठाउँको ताम्रपत्र प्रदर्शनमा नराखिएका कारण मठमन्दिरको भौतिक संरचना र त्यहाँ चढाइएका घन्टलेखको अवलोकन गरी इतिहास खोज्ने गरिएको छ । भौतिक संरचना र घन्टहरू सहजै अवलोकन गर्न सकिने भएकाले यो निकै महत्वपूर्ण पनि हो ।
मधेशमा अध्ययन र अनुसन्धान गर्न मिल्ने ताम्र्रपत्रबाहेक घन्टलेखलाई मान्न सकिन्छ । तत्कालीन समयमा धार्मिकस्थलमा मन्दिरसँगै अध्ययन, अध्यापन, आयुर्वेद स्वास्थ्योपचार आदिको व्यवस्था हुने हुँदा समग्रमा मठ भन्ने गरिन्थ्यो । मधेश प्रदेशमा सय वर्ष नाघेको पुराना घन्टहरू हेर्न बारा जिल्लाको रानीबासमा रहेको रामजानकी मन्दिर, महोत्तरीको रतवारा लक्ष्मीनारायाण मन्दिर र मटिहानी लक्ष्मीनारायण मठ एवं सिमरदही मठमा अवलोकन गर्नुपर्ने हुन्छ । यी घन्टहरूमा लेखिएको अक्षर अर्थात् घन्टलेखको विश्लेषण गर्नुअगावै यसको धार्मिक महत्व र इतिहासबारे जानकारी हुनु आवश्यक छ । स्कन्दपुराणमा मन्दिरको घन्टी बजाउँदा मानिसले सयौँ जन्मको पापबाट मुक्ति पाइने चर्चा छ । घन्टीबाट ऊर्जा उत्सर्जित हुन्छ । जब हामी घरमा पूजा गर्दा घन्टी बजाउँछौँ । दैनिक पूजामा प्रयोग हुने घन्टीभन्दा ठुलो आकार र तौलको घन्ट मन्दिरमा दर्शनार्थीले बजाउन मिल्ने गरी टाँगिएको हुन्छ । घन्टी वा घन्ट बजाउँदा आगम शास्त्रको निम्न श्लोकलाई उच्चारण गरिन्छ ।
आगमार्थं तु देवानां गमनार्थं तु रक्षसाम्।
घन्टरवं करोम्यादौ देवताह्वान लाञ्छनम्।।
अर्थात् दैवी शक्तिहरू आएर दुष्ट शक्तिहरू भगाउ भन्ने उद्देश्यका साथ घन्टको ध्वनिबाट देवताको अह्वान गर्दछु । धार्मिक ग्रन्थहरूमा घन्ट बजाउनुका उद्देश्यबारे उल्लेख भए पनि आधुनिक विज्ञानले धातुको प्रयोग हुन थालेपछि दुई हजार इसापूर्वमा भेटिएकाले चीनलाई घन्टीको जन्मस्थल मानिएको ‘हिस्ट्री अफ बेल्स डट कम’ ले लेखेको छ । धातुको प्रयोग, चित्र, प्रतिमा, ध्वनि, ऊर्जा, सङ्गीत, लेख, सूचना अदानप्रदानलगायतका अनेक विषय समेटिने भएकाले यसको समग्र अध्ययन गर्न घन्ट (घन्टी) विज्ञान बुझ्न आवश्यक हुन्छ ।
रुसको मस्कोमा रहेको जार बेल (घन्ट) संसारको सबैभन्दा ठुलो हो, यो अझै पनि अवस्थित छ । यसको वजन चार लाख पाउन्ड थियो । सन् १७३३ र सन् १७३५ को बिचमा तयार भएको यो घन्ट सन् १७३७ मा आगलागी दुर्घटनाका कारण फुट्यो । त्यस्तै अहिलेसम्म बनेको सबैभन्दा ठुलो घन्टी धम्मजेदीको ग्रेट बेल थियो, जुन सन् १४८४ मा ३३० टनको थियो । यो घन्ट सन् १६०८ मा बर्मा नदीको बाढीमा हराएको थियो । अझै पनि बज्ने सबैभन्दा ठुलो घन्टी बर्मामा छ । यसको तौल लगभग ९०.५५ मेट्रिक टन छ ।
पुरातत्वविद् तथा लेखक मोहनप्रसाद खनालले सिमरौनगढका राजा शक्तिसिंहदेवका पालामा सन् १२९२ मा बनेको घन्टी फेला परेको चर्चा गर्दै आउनुभएको छ । यसको अवस्था, तौल, त्यहाँ प्रयोग भएको लिपिलगायतको विषयमा थप अध्ययन गरेर ‘हिस्ट्री अप बेल्स डट कम’ मा समावेश गराउन सकेमा नेपाली घन्टको समेत विश्वस्तरमै प्रचारप्रसार हुने देखिन्छ । साथै कङ्कालिनी मन्दिरमा रहेको घन्टबारे समेत थप अध्ययन आवश्यक छ । शक्तिसिंहलाई शक्रसिंह भनेरसमेत केही ठाउँमा उल्लेख छ ।
घन्ट काँस, पित्तल वा पित्तलमै अन्य धातुहरू मिलाएर घन्ट बनाउने गरिन्छ । एउटा मन्दिरको घन्टी वा घन्टाइस अन्तरालको प्रतीक हो । यसलाई आकाश र पृथ्वीबिचको खाडलका रूपमा मानिन्छ किनभने भुइँमा टेकेर यो बजाउने हुँदा यसको ध्वनि आकाशमा फैलिन्छ । संस्कृत साहित्यमा कन्स्याघन्ट, ताला, घटिका, जयघन्टिका, क्षुद्रघन्ट र क्रममा उल्लेख गरिएका घन्टीका प्रकारहरू हुन् । घन्टीहरू मुख्यतया दुई ठुला वर्गमा वर्गीकृत छन् । एउटा मन्दिरमा झुन्ड्याइएकोे हुन्छ । अर्को एउटा सानो हातको घन्टी हो, जसलाई हत्केलामा समाएर बजाउन सकिन्छ । यस प्रकारको घन्टी सामान्यतया घरको वा मन्दिरको पूजा स्थलमा प्रयोग गरिन्छ ।
लेखक चन्द्रशेखर उपाध्यायले मटिहानी महिमा पुस्तकमा समेत पुराना घन्टबारे चर्चा गर्नुभएको छ । मटिहानी, सिमरदही अथवा रतवाराको पुराना ताम्रपत्रमा राजा महाराजाबाट प्राप्त दान, बिर्ताको बन्दोबस्त र नवीकरण मात्रै चर्चा छ । अहिले अध्ययनका लागि खोज्दा सम्बन्धित सरोकारवाला असमर्थता जनाउँदै आएका छन् । यस्तो अवस्था प्रत्यक्ष अवलोकन गर्न सकिने घन्टलेखले मठको इतिहास र व्यवस्थापनबारे अध्ययन गर्न सजिलो बनाएको छ ।
मकवानपुरका सेन वंशी राजा माणिक सेनले १७६६ सालमा मटिहानीस्थित लक्ष्मीनारायण मठको जीर्णोद्वार गरेको इतिहास छ । यी दस्ताबेज पाउन कठिन रहेको अवस्थामा मठभित्र रहेको चार वटा घन्टलेख अवलोकनबाट इतिहास बुझ्न सजिलो हुने देखिन्छ । यी सबै घन्टमा संस्कृत भाषाको प्रयोग भएको छ । सबैभन्दा पुराना घन्टलेख १८८४ सालको छ । घन्टमा तौल सेर १०१ धार्नी ३३१/२ उल्लेख छ ।
पहिलो घन्टलेख अध्ययन गर्दा चढाउने नाम मुकुन्द दास रहेको बुझिन्छ । साथै मठका संस्थापक तस्मैया महात्मा रामदास, त्यसपछिका महन्थहरू जयकृष्ण दास र वनमाली दास उल्लेख छ । दोस्रो घन्टमा १९२५ साल अङ्कित छ । यो घन्टमा मटिहानीको लक्ष्मीनारायण स्थानबारे चर्चा छ । घन्टलेखमा मटिहानीलाई ‘मतिहानी’ र स्थानलाई ‘अस्थान’ लेखिएको छ । यसका तौलबारे कतै उल्लेख छैन । यो घन्ट चढाउनेको नाम महन्थ रामरक्ष्या दास छ ।
तेस्रो घन्टको तौल कतै उल्लेख छैन । यो घन्टमा १९३० साल र जिल्ला महोत्तरीलाई ‘जिले महुतरी’ लेखिएको छ । यसलाई काठमाडौँवासी देवल टोल निवासी तेजेन्द्र दासका पुत्र इन्द्र दास सुन्दर शङ्कर दासले चढाएको उल्लेख छ । मठमा चढाइएको यो घन्टलाई दुई तरिकाले व्याख्या गर्न सकिन्छ । पहिलो काठमाडौँवासी वैष्णव सम्प्रदायको लक्ष्मीनारायण मठबारे जानकार थिए । अर्कोतर्फ तत्कालीन विभिन्न राजकाज सम्बन्धित कामका सिलसिलामा काठमाडौँवासी महोत्तरी जिल्लाका विभिन्न ठाउँमा ओहोरदोहोर गर्ने गरेकाले मठबारे थाहा पाएको भनेर बुझ्न सकिन्छ ।
त्यस्तै चौथो घन्ट महन्थ रामरक्ष्या दासले १९३१ सालमा चढाएको उल्लेख छ । यसको तौलबारे समेत कतै चर्चा छैन । यो घन्टलेखमा समेत ‘जिले महुतरी मटिहानी अस्थान’ लेखिएको छ । महन्थ रामरक्ष्याले चैत महिनाको एउटै तिथि पारेर छ वर्षको अन्तरमा दुई वटा घन्ट चढाएको घन्टलेखबाट थाहा पाउन सकिन्छ ।
मटिहानीकै लक्ष्मीनारायण मठसँगै १७७५ सालमा स्थापित राजकीय संस्कृत विद्यालय (तत्कालीन संस्कृत पाठशाला) को समेत इतिहास जोडिएका हो । प्रधानाध्यापक ईश्वरी पौडेल भन्नुहुन्छ, “मठभित्र घन्टहरू सहजै अवलोकन गर्न सकिने भएकाले यसको लेख पढेर मठको इतिहास बुझ्न सजिलो छ । यसको प्रचारप्रसार नभएकाले अध्ययन र अनुसन्धान गर्नेको पहुँच शताब्दी पुराना घन्टमाथि नपरेको हुन सक्छ ।” मकवानपुरका राजा माणिक सेनले लक्ष्मीनारायण मठको जीर्णेद्वार गरी १७६६ सालमा मटिहानीमा वैष्णव पीठ स्थापना गर्नुभयो । सो समयमा उहाँको भाउजू राजेश्वरीको नायबी शासन थियो । उहाँ १७७४ सालदेखि सर्वेसर्वा हुनुभयो । त्यसपछि राजा हेमकर्ण सेनले १७९० सालमा गद्दी सम्हालेपछि तमसैया भक्तराम दासलाई १८०१ सालमा विष्णु प्रीतिकुशबिर्ता ताम्रपत्र दिनुभयो (उपाध्याय, २०६५ मटिहानी महिमा)। त्यस्तै १८०३ र १८०४ सालमा विरजा नदीको पासर रहेको मठसम्बन्धी ताम्रपत्र दिइएको थियो । मटिहानी मठको जग्गासम्बन्धी विवाद भएपछि कुवा (अ?) स्थान ताम्रपत्रमार्फत १८१० सालमा हेमकर्ण सेनको सनद–सवालमार्फत कसैलाई मटिहानीसँग विवाद नगर्न आदेश दिनुभयो । यससम्बन्धी सक्कल दस्ताबेज पाउन कठिन रहे पनि विभिन्न पुस्तकमा यसबारे चर्चा छ ।
महन्थ रामरक्ष्या दासलाई १९३३ सालमा लालमोहरमार्फत महन्थको पद दिइएको थियो । तथापि उहाँले १९२५ र १९३१ सालमा महन्थकै हैसियतमा घन्टलेखसहित चढाउनुभएको थियो । त्यसको एक वर्षपछि ललित दासलाई लालमोहर दिइएको देखिन्छ । हत्याको अभियोगमा महन्थ रामशरण दास जेल परेको खबर दरबारमा पुगेपछि राजाबाट आदेश भएको थियो । तत्कालीन राजा पृथ्वी वीरविक्रम शाहले १९६२ सालमा लखननारायाण दासका नाममा पत्राचार गरी महन्थको जिम्मेवारी दिनुभयो । महन्थ देवादासको दोस्रो उत्तराधिकारी शिष्य भएको दाबीलाई स्वीकार गर्दै तत्कालीन राजाले सो आदेश दिनुभएको थियो ।
महोत्तरी जिल्लाको रतवारामा झुन्डइएको ठुलो घन्ट १८९० सालमा राजा राजेन्द्रकी साहिँली भित्रानी बजाजका तर्फबाट चढाइएको उल्लेख छ । प्राचीन लक्ष्मीनारायण मन्दिरलाई जीर्णोद्धार गरिएकाले गाउँको नाम अगाडि रानी थपिएको थियो । हाल यो गाउँ रानी रतवाराको नामले प्रख्यात छ । यसै गरी सिमरदही गाउँमा १९३७ साल अङ्कित ठुलो घन्ट त्यहाँको लक्ष्मीनारायण मठमा सुरक्षित छ ।
रतवाराको मन्दिर व्यवस्थापन गर्न १२५ बिघा जग्गा बन्दोबस्त गरिएको ताम्रपत्र रहे पनि महोत्तरी गाउँपालिकाको कार्यालय यसबारे बेखबर छ । यसको उचित प्रचारप्रसार र व्यवस्थापन हुन नसकेको स्थानीय रामललित पासवान बताउनुहुन्छ । राजा गीर्वाणयुद्धले १८६७ सालमा जग्गा बन्दोबस्तीबारे ताम्रपत्र तथा प्रधानमन्त्री वीरशमशेरले १९५५ मा कांस्यपत्र प्रदान गर्नुभएको थियो । जनकपुरधाम ऐतिहासिक एवं सांस्कृतिक दृष्टिकोण पुस्तकमा उल्लेख भए अनुसार सिमरदही लक्ष्मीनारायण मठसँग सोही गाउँमा सय बिघा तथा खुट्टापिपराढीमा ८८ बिघा जग्गा थियो । यी मठहरू गुठी संस्थान मातहत रहेकाले थप सूचना प्राप्त गर्न कठिन छ । यसै गरी बारा जिल्लाको रानीबास रामजानकी मन्दिरको निर्माण १९३५ सालमा जङ्गबहादुर राणाको सम्झनामा छोरा जगतजङ्ग राणाले गराउनुभएको प्रमाण दुई वटा ठुला धातुको घन्टलेखमा पाइन्छ । हुन त यो मन्दिर नान्यदेवको सिमरौनगढ राज्यकालीन रहेको मान्यता छ ।