यही असोज ११ र १२ गते लगभग ३६ घण्टे भारी वर्षाका कारण विभिन्न नदीमा आएको भीषण बाढी र पहिरोले ठुलो जनधनको क्षति पुर्यायो । यसबाट २९ जिल्ला प्रभावित हुन पुगे । तीमध्ये धादिङ, काठमाडाैँ, काभ्रेपलाञ्चोक, ललितपुुर, सिन्धुपाल्चोक, रामेछाप धेरै प्रभावित हुन पुगे । यी जिल्लामा ठुलो परिमाणमा जनधनको क्षति भयो । खास गरी काठमाडौँ उपत्यकामा बागमती, काभ्रेमा रोशी र सिन्धुलीमा सुनकोशीले बितण्डै मच्चायो । धेरैलाई घरबारविहीन बनायो भने सयौँको ज्यान लियो । ठाउँठाउँमा पहिरो गएका कारण सडक अवरुद्ध हुन गई घाइते र अलपत्र परेका मानिसको तत्काल उद्धार गर्ने कार्यमा ढिलासुस्ती हुन पुग्यो । कहीँ सडक नै भासिएर तल झरेको र कहीँ माथिबाट पहिरो आएर सडकमा थुप्रिएका कारण सहयोगका लागि वा उद्धारका निम्ति घटनास्थलसम्म पुग्न कठिनाइ उत्पन्न भयो, जसले गर्दा थप नोक्सान हुन पुग्यो ।
भनिन्छ–विकाससँगै विनाश पनि जोडिएको हुन्छ तर कम जोखिम हुने गरी गहिरो अध्ययनका साथ सावधानीपूर्वक विकास निर्माणका काम गरियो भने पक्कै पनि विनाशलाई न्यूनीकरण गर्न सकिन्छ । नेपाल आफैँमा एउटा पहाडी मुलुक हो । देशको कुल भूभागको ६८ प्रतिशत पहाडी क्षेत्र पर्छ । २०७८ सालको जनगणना अनुसार नेपालको कुल जनसङ्ख्याको ४२.२५ प्रतिशत जनसङ्ख्याको बसोबास पहाडी क्षेत्रमा रहेको छ । यसरी भूबनोटको हिसाबले नेपाल प्राकृतिक प्रकोपको जोखिम क्षेत्रभित्र पर्छ, जसका कारण बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपको मारमा पर्नुपर्ने बाध्यता रहेको छ । यो सत्यतथ्य त आफ्नो ठाउँमा छँदै छ भने अर्कातर्फ देशमा भएको राजनीतिक परिवर्तन वा सङ्घीय गणतन्त्र स्थापनापश्चात् गाउँगाउँमा वा दुर्गमसम्म सडक पुर्याउने होडबाजी चल्यो र द्रुतगतिमा सडक निर्माण, विस्तारको काम हुन थाल्यो । देशको विकास र समृद्धिका लागि यो आवश्यक पनि थियो । गाउँका जनताको माग पनि थियो ।
आधुनिक प्रविधिबाट सडक निर्माणका लागि गाउँगाउँमा डोजर पुर्याइयो । गाउँका स्थानीय जनताको सहमतिमा सडक निर्माणसम्बन्धी प्राविधिकहरूको सर्भेपश्चात् डोजर चलाउन थालियो । डोजरले सडकको भाग मात्र खनेन । दायाँबायाँका भाग पनि भत्कायो र थर्कायो, जसका कारण सडकका छेउछाउका भाग कमजोर बन्न पुगे । यसै पनि २०७२ सालको विनाशकारी भूकम्पले प्रभावित क्षेत्रका भूभाग कमजोर बनाएको थियो । थर्किएर कमजोर भएको जमिनलाई पहिरो जानबाट रोकथाम गर्ने प्रविधिको प्रयोग नगरिँदा वर्षातमा ती कमजोर भाग भत्किएर पहिरोको रूपमा परिणत भए र तिनै सडकमा आवतजावत गर्ने सवारीसाधनलाई क्षति पुर्याए । जनधनको नोक्सान हुन पुग्यो ।
अर्को कुरा असोज ११ र १२ गतेको निरन्तरको भारी वर्षाले नदीको तट वा बहाव क्षेत्रमा रहेका अधिकांश बस्तीमा क्षति पुर्याएको देखिन्छ । कहीँ नदीको धारले कटान गर्दै नजिक रहेका घरमा क्षति पुर्याएको छ भने कहीँ नदी ‘ओभरफ्लो’ भएर बस्तीभित्र पसी जनधनको क्षति गरेको पाइन्छ । यसै गरी वर्षा प्रभावित क्षेत्रका कतिपय स्थानमा सडक साँगुरो भएका कारण सवारीसाधन जाममा परिरहेको अवस्थामा पहिरो गएर क्षति पुर्याएको छ । नागढुङ्गाभन्दा तल झ्याप्ले खोलामा यही प्रकृतिको घटना घटेको थियो । जाममा परेका सवारीसाधनलाई पहिरोले पुरेको थियो । सवारीसाधनमा रहेका धेरै यात्रुले ज्यान गुमाए । यस्तै मौसम पूर्वानुमान महाशाखाको पूर्वसूचनालाई अवज्ञा गरेका कारण पनि जनधनको क्षति भएको देखिन्छ । उक्त आधिकारिक संस्थाले फलानो फलानो प्रदेशमा सामान्यदेखि भारी वर्षा हुन सक्ने भएकाले सावधानी रहनु, सर्तकता अपनाउनु भनेर दिइएको जानकारीलाई बेवास्ता गरेका कारण पनि बाढीपहिरोले क्षति पुर्यायो ।
निश्चित रूपमा प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन तर यसबाट हुन सक्ने जोखिम वा नोक्सानीलाई सावधानी अपनाएर कम गर्न भने पक्कै सकिन्छ । यसका लागि सडक निर्माणमा प्रयोग गरिने डोजर, ब्लास्टिङको विकल्पमा नयाँ प्रविधिको खोजी गर्नु पर्छ । अन्य विकसित देशमा प्रयोग भएका अत्याधुनिक प्रविधिहरू सुरुङ मार्गको निर्माण, तारबाट चल्ने सवारीसाधनको व्यवस्था आदि गर्नु पर्छ । पहाडी क्षेत्रमा सडक निर्माणको योजना बनाउनु अघि इन्जिनियरिङ पाटोलाई विशेष ध्यान दिएर गहिरो अध्ययन, अनुसन्धान गरेर मात्र सडक निर्माणको काम थालनी गर्नु पर्छ । यसका लागि सडक निर्माण गर्ने स्थलको माटो जाँच गर्नु पर्छ । पहिरो जाने खालको भूगोल हो वा होइन, सडक निर्माण गरिरहँदा र निर्माणपश्चात् बस्तीलाई असर पु¥याउँछ वा पु¥याउँदैन यावत् कुुराको बारेमा गहन अध्ययन गर्नु जरुरी हुन्छ । नदीको बहाव क्षेत्र वा तटीय क्षेत्रमा बस्ती बस्नबाट पूर्ण रूपमा रोक लगाउनु पर्छ । राज्यले नदीको किनारादेखि एउटा निश्चित दुरीसम्म बस्ती बस्न नपाइने नीति, नियम बनाउनु पर्छ र कडाइका साथ पालना गर्न लगाउनु पर्छ ।
यसै गरी विकट पहाडी क्षेत्रमा भएका फाट्टफुट्ट स साना बस्तीहरूलाई एकीकृत बस्ती विकासको योजना बनाएर बाढीपहिरोको जोखिम हुन सक्ने क्षेत्रबाट सम्भव भएसम्म अन्यत्र स्नानान्तरण गरिनु पर्छ । केवल बर्सातको समयमा सतर्कता अपनाउनका लागि सूचना गर्नुको कुनै औचित्य रहँदैन । यसका साथै मौसम पूर्वानुमान महाशाखाको अग्रिम सूचनालाई ध्यानमा राखेर ट्राफिक प्रहरी वा सम्बन्धित निकायले लामो दुरीका यातायातलाई भारी वर्षा हुन सक्ने क्षेत्रमा भारी वर्षा हुने अवधिभर आवतजावतमा कडाइका साथ रोक लगाउनु पर्छ ।
माथि पनि भनियो, प्राकृतिक प्रकोपलाई रोक्न सकिँदैन । सावधानी अपनाएर जोखिमलाई, नोक्सानीलाई कम गर्न सकिन्छ । बाढी, पहिरोको प्रकोपपश्चात् घटनास्थलमा यथासक्य छिटो पैदल मार्गबाट सम्भव भए पैदल मार्गबाट र सम्भव नभए हवाईमार्गलाई प्रयोग गरेर हेलिकोप्टरको सहायताले विपत्मा परेकाहरूको उद्धार गर्नु पर्छ । यसका लागि सुरक्षित रहेका स्थानीयवासीहरूले मानवीय सहयोगको भावनाले राज्यको सम्बन्धित निकायमा छिटोभन्दा छिटो घटनाको पूर्ण विवरणसहित जानकारी दिँदै आवश्यक सहयोग पुर्याउनु पर्छ । स्थानीयको जानकारीपश्चात् तुरुन्तै राज्यको निकायले कति पनि ढिलासुस्ती नगरी थप जनधनको क्षति हुन नदिनका लागि उद्धारको कार्यमा जुट्नु पर्छ ।
घटनाको सूचना पाइसकेपछि मिटिङ वा बैठक बस्न थाल्ने होइन कि पहिले घटनास्थलमा पुगेर उद्धारको कार्य गर्नु जरुरी हुन्छ । घाइतेको यथासक्य छिटो उपचारको व्यवस्था मिलाउनु पर्छ । यसै गरी घरवारविहीन भएका पीडितको गाँस, बासको व्यवस्थामा ढिलाइ नगरी राज्य भएको महसुस गराउन सक्नु पर्छ । आगामी दिनमा पुनः यस प्रकारको क्षति नहोस् । यसका लागि राज्य गम्भीर बनोस् । नागरिक सचेत रहुन । प्रकोप सूचनाका साथ कहिल्यै आउँदैन । यति कुरा ध्यान दिऔँ ।