‘शाम्भाला’ चलचित्रकी नायिका थिन्ले ल्हामोको भूमिकालाई लिएर अहिले चर्चा छ । चलचित्र ‘नाका’ र ‘हरिमा’ छोटो भूमिकापछि ‘शाम्भाला’ मा महत्वपूर्ण भूमिका पाएकी थिन्ले ल्हामोलाई पनि पत्तो थिएन, यो चर्चा पाउँछु भन्ने । थिन्ले तिब्बती मूलका नेपाली हुन् । के एन्ड के कलेजबाट स्नातक थिन्ले सानैदेखि नाचगानमा रुचि राख्नुहुन्थ्यो । विद्यालयका सांस्कृतिक गतिविधिमा सक्रिय भाग लिने थिन्लेले केही तिब्बेटियन म्युजिक भिडियोमा समेत अभिनय गर्नुभएको छ । प्रस्तुत छ, नायिका ल्हामोको ‘शाम्भाला’ यात्रा र जीवनबारे सुकृत नेपालले गरेको कुराकानी :
अभिनय यात्रा कसरी सुरु भयो ?
कलेजमा हुँदा एक जना पेमा सर भन्ने दाइले चलचित्रका बारेमा बताउनुभयो । उहाँले एउटा तिब्बेटियन लुक्स भएको केटीको खोजी भइरहेको छ तर नेपाली बोल्ने हुनु पर्छ भन्नुभयो । उहाँले मलाई कुरा गरुँ त चलचित्रमा अभिनय गर्ने हो भने भन्नुभयो । मैले नि सहजै हुन्छ भनिदिएँ । यो चाहिँ कलाकार विपिन कार्कीसँग चलचित्र ‘नाका’ का लागि थियो । ‘नाका’ पछि मलाई चलचित्र ‘हरि’ मा पनि अभिनय गर्ने मौका मिल्यो । दुवै चलचित्रमा मेरो सानो भूमिका थियो तर सबैले याद गर्ने खालको थियो । यसरी सुरु भएको थियो यो क्षेत्रमा मेरो यात्रा । चलचित्र ‘शाम्भाला’ निर्देशक मीन भामसँग मेरो पहिलाबाट नै कुरा भइरहेको थियो तर चलचित्रका लागि खासै कुरा हुँदैनथ्यो तर पछि धेरै भेट हुँदा हुँदा अडिसन छ गर्नु पर्छ भनेर भन्नुभएको थियो । मैले ‘शाम्भाला’ मा मेरो आठ/नौ वर्षको अन्तरपछि काम गर्न पाएको हो ।
चलचित्रका लागि अडिसन पनि भए । अनलाइन अडिसन पनि थियो । विदेशबाट पनि अडिसन दिन आएका थिए । त्यस्तै दस/बिस जनाको अडिसन भएको थियो र त्यसबाट नै म छानिएकी थिएँ । मलाई म छानिन्छु जस्तो लागको थिएन । त्यसमाथि अडिसन भइसकेपछि पनि दुई महिना त्यत्तिकै बस्नु परेको थियो ।
‘शाम्भाला’ ले यति धेरै चर्चित बनाइदियो, कस्तो लाग्छ ?
हो, मैले अभिनय गरेका यसअघिका दुवै चलचित्र खासै चलेनन् तर विपिन कार्कीको अभिनयले गर्दा दर्शकले चलचित्रलाई सम्झन्छन् । फेरि चलचित्र चल्ने नचल्ने मेरो हातमा हुँदैन । त्यो दर्शकको हातमा हो तर चलचित्र ‘शाम्भाला’ बाट मैले यति धेरै चर्चा कमाउँछु भन्ने सोचेकै थिइनँ । यो त मलाई सपना जस्तो लागिरहेको छ ।
‘शाम्भाला’ को अर्थ के हो ?
‘शाम्भाला’ भनेको साङ्ग्रिला भनेको जस्तै हो । अर्थ उस्तै नाम मात्र भिन्न हो । बौद्ध धर्ममा भन्दा यसको के सोच छ भने जहाँ दुःख हुँदैन । कलियुग सकिएपछि शान्तिका लागि पौराणिक ठाउँ हो भन्ने चलन पनि छ ।
डोल्पामा सुटिङ गर्दाको थोरै अनुभव सुनाउनुस् न ?
सुटिङमा खासै गाह्रो भएन भन्न मिल्दैन । अघिल्ला दुई वटा चलचित्रमा पनि मलाई गाह्रो नै भएको थियो । छोटो भूमिका भए पनि गाह्रो नै थियो । पूरा चलचित्र मैमाथि नै निर्भर थियो । त्यसैले पनि गाह्रो हुनु स्वाभाविक नै थियो । मैले पेमाको भूमिकालाई न्याय दिन सक्छु । मैले आत्तिएर सुत्नु अगाडि चलचित्रको स्क्रिप्ट दस/बिस पटक पढ्ने गर्थें । ठाउँमा चाहिँ अन्य कलाकार भएको हुँदा खासै गाह्रो भएन । मौसम पनि चिसै थियो । मलाई सुटिङ मात्र सकाउन २० देखि २५ दिन लागेको थियो तर हामी त्यहाँ तीन महिना बस्यौँ । चलचित्रको क्यारेटर डोल्माबाहेक सबै काठमाडौँमा हुर्केको हुनाले दुई महिना चाहिँ हामीलाई त्यहाँको रहनसहनलाई बुझ्नै लाग्यो । त्यहाँ पुगेको एक/दुई दिनमा नै मैले घर घरमा गएर त्यहाँको काम सिकेँ । स्वेटर बुन्नेदेखि लिएर गाईको गोबर बोक्ने, बक्खु लगाउने र पहिलो दिनदेखि नै कपाल बाटेर बसेकी थिएँ । यी सबै कुरा गर्नका लागि पनि हामीलाई समय लागेको थियो । डोल्पु भाषामा चाहिँ हामी घरमा टिब्बेटिएन बोलिरहने भएर होला केही सजिलो भएको थियो । डोल्पु भाषा लेखेरै भए पनि हामीले सिकिरहेका थियौँ ।
अरू चलचित्रमा पनि अफर आएको होला नि ?
मलाई अहिलेसम्म एउटा चलचित्रको पनि अफर आएको छैन ।