• १५ असोज २०८१, मङ्गलबार

खोज, उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकतामा : गृहमन्त्री

blog

गृहमन्त्री रमेश लेखक मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै

काठमाडौँ, असोज १५ गते । गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताउनुभएको छ ।

मङ्गलबार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताउनुभएको हो ।

त्यसपछि राहत वितरण, घाइतेहरूको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरू सुचारु गर्नका लागि सरकार क्रियाशील भइरहेको उहाँले बताउनुभयो । उहाँले विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरूलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको जानकारी गराउनुभयो । बिरामीहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै सडक सञ्जाल मर्मतको काम पनि सबै अवरुद्ध भएका ठाउँहरूमा चलिरहेको उहाँले उल्लेख गर्नुभयो ।

गृहमन्त्री लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरूलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भए पनि सम्भव नभएको प्रस्ट्याउनुभयो । नख्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरूलाई समयमै उद्धार गर्न नसक्दा उनीहरू बगेका थिए । सो कुराको सांसदहरूले आलोचना गरेसँगै उहाँले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भए पनि प्रतिकुल मौसमका कारण उद्धार सम्भव नभएको बताउनुभयो ।

‘‘सरकारको उपस्थिति नभएको, जाँदै नगएको, हेर्दै नहेरेको होइन । कोसिस गरेको हो । मृतकको परिवारलाई गृह मन्त्रालयले घोषणा गरे अनुरूपको दुई लाख रुपियाँ ललितपुर जिल्लाले त आजै दिन सक्ने भनेको छ । आवश्यकता भएको जिल्ला व्यवस्थापन समितिहरूमा प्राधिकरणबाट आवश्यक रकम पठाइएको छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यदि राहतका लागि रकमको अभाव भयो भने तत्काल रकम उपलब्ध गराइने कुरा सबैलाई जानकारी गराइएको छ । त्यसको सुनिश्चितता गरिएको छ । हामी अहिले खोज, उद्धार, राहत, बिरामीहरूको उपचार, घाइतेहरूको उपचार र सडक आवागमनलाई सुचारु गर्ने विषयमा केन्द्रित भएका छौँ । र त्यसमा लाग्छौँ । यसपछि विस्तृत क्षतिको जानकारी लिएर पुनर्निर्माणका कामहरू, अरू पनि धेरै कामहरू गर्नेछौँ ती कामहरू गर्नेछौँ ।’’

गृहमन्त्री लेखकले विपद्मा परी हालसम्म २१८ जनाको मृत्यु भएको जानकारी गराउनुभयो । त्यसैगरी, १४३ जना घाइते र २७ जना बेपत्ता भएको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकहरूले चार हजार २२२ जनाको सुरक्षित उद्धार गरेको उहाँले जानकारी दिनुभयो ।