सबैभन्दा पहिले मैले कैलाशलाई मानसरोवर पुग्नुअघि होर्चुको हाइटबाट देखेँ । त्यहीँबाट मैले कैलाशको फेदीदेखि मान्धाता पर्वतको फेदीसम्म लमतन्न सुतेको मानसरोवरलाई पनि देखेँ र त्यहीँबाट नमन गरेँ, शिवपार्वतीको निवास कैलाश र सतीदेवीको दाहिने हात पतन भएको मानसरोवर ताललाई ।
त्यसै दिन अपराह्न हामीले ८८ किलोमिटर परिधिको मानसरोवर परिक्रमा गर्यौँ र एउटा सानो नागी लङ्घन गरेर पल्लोतर्फ बसेको राक्षसताल पनि अवलोकन गर्यौँ । देवताको बास मानिने मानसरोवरको जल पवित्र, कञ्चन र अमृतमय हुनु र राक्षसको बास मानिने त्यहीँ नजिकैको राक्षसतालको पानी नुनिलो हुनु पनि शिव महिमाकै द्योतक लाग्यो मलाई ।
अर्को दिन बिहानै मानसरोवरको जलले शरीर शुद्धि गरिसकेपछि मेरा आँखा पुनः भोलेबाबाको निवासतिरै परे । छर्लङ्ङै देखियो कैलाश । म नतमस्तक भएँ र कल्पनामा डुबेँ– कैलाशपति ! तिम्रा भक्तले भने जस्तै के तिम्रो निवास प्रकृतिनिर्मित नभएर देवनिर्मित हो ? के तिमीले आफ्ना भक्त, देवर्षि, राजर्षि, महर्षि, ब्रह्मर्षि र अन्य ऋषिमुनिलाई तिम्रै निवासको उत्तरपश्चिम दिशामा अवस्थित साङ्ग्रिला वा साम्बाला ग्राममा आश्रय दिएका छौँ ? मानव जाति तिमी निकट हुन नसक्नु र तिम्रो निवासमा आरोहण गर्न नसक्नुको कारण पनि तिम्रो शान्त र सुन्दर निवासमा शान्ति खलबलिन नदिनुकै अर्थान्विति हो ?
म ताल किनारमा नै पलेँटी कसेर बस्छु र अझ तीक्ष्णदृष्टि, अझ सूक्ष्मदृष्टि, अझ दूरदृष्टि लगाएर हेर्छु । वाह कैलाशपति ! तिमीले त आफ्नो निवासको एक भागमा नन्दीगणलाई आश्रय दिएका पो रहेछौँ । मैले त्यस्तै देखेँ । तिमीलाई श्वेत कञ्चन बादलले आच्छादित गरेको बेला तिम्रा अवतार हनुमानले पर्वत काँधमा राखेर उडिरहे जस्तो पो देखेँ । अलिकति पर एक जना ऋषि ध्यानमग्न अवस्थामा रहेको स्पष्ट झल्को मेरो आँखामा पर्यो । मेरो विचारमा ती उपमन्यु ऋषि हुनु पर्छ भन्ने अड्कल काटेँ । ती मेरा पुर्खा अनि तिम्रा वरदपुत्र । ती ऋषि तिम्रो सकासभन्दा धेरै टाढा रहन सक्तैनन् भन्ने मेरो ब्रह्मले निर्णय गर्यो । यसरी म धेरैबेर ध्यान मग्न भएँ कैलाशको सर्वोच्चतालाई हेरेर ।
२०८१ भदौ ३ गते अर्थात् ऋषितर्पणी । जनैपूर्णिमा भनौँ या रक्षाबन्धन, कुरा एउटै । यसै दिनलाई लक्षित बनाएर पुगेको थिएँ म मानसरोवर । नमस्ते होलिडेजसँग आबद्ध भएर मानसरोवर पुगेका हामी सबै सहयात्री पं. नारायण न्यौपानेको निर्देशन अनुसार घेराबन्दी गरेर बस्यौँ र बिचमा बसेर माइकिङ गरिरहेका पण्डितजीले भने अनुसार श्राद्धतर्पण गर्यौँ । तत्पश्चात् म पिण्ड विसर्जन र जलसेचनका लागि सरोवरतर्फ अभिमुख भएँ । त्यसैबेला तटबाट फर्कंदै हुनुहुन्थ्यो नीलम शर्मा । उहाँले एकै श्वासमा भन्नुभयो, “गइहाल्नूस् र दर्शन गर्नूस्, तालको केही दुरीमा निलो रङको हाँसको रूपधारण गरेर शिवपार्वती जलविहार गरिरहनुभएको छ ।”
मैले सूक्ष्म दृष्टि लगाएर हेरेँ, हो कि क्या हो ? अरू जति छन् सेतो रङका हाँस छन् । ती छितरिएका छन् र जलमा तैरिरहेका छन् । कतिबेला नजिक हुन्छन्, कतिबेला टाढिन्छन् तर दुई हाँस छन्, ती फरक रङका देखिँदै छन् र पटक्कै छुट्टिने मन गरिरहेका छैनन् । मेरो भावना पनि नीलमसँगै गाँसियो । धेरै बेरसम्म हेरिरहँदा पनि दृश्यमा परिवर्तन नआएपछि म पनि भावुक भएँ र अश्रुपूर्ण एवं पुलकित नयनले नमन गरेँ–प्रभु ! तिम्रो महिमा अपरम्पार छ !
काठमाडौँबाट यात्रा सुरु गर्नुअघि नै म प्रतिबद्ध भएको थिएँ, म कैलाश परिक्रमा गर्ने छु । मानसरोवर पुग्दा पनि मेरो सङ्कल्पमा परिवर्तन आएको थिएन । मेरो शरीरले हार खाएको थिएन । दार्चेनमा बास बस्दा र यमद्वार पार गरेर कैलाश परिक्रमाका लागि पाइला चाल्दासमेत मेरो आत्मबल घटेको थिएन तर जब म देरापुकलाई लक्ष्य बनाएर अगाडि बढ्दै गएँ, मैले आफूलाई गल्दै गएको पाएँ । बायाँतिरबाट उँधोतिर बग्दै गरेको खोलाले मेरो मुहानतिर अभिमुख होऊ भन्दै छ तर मेरा पैताला उसकै गति पछ्याउन खोज्दै छन् । दायाँतिर हिउँको सेतो टोपी लगाएका काला अनुहारका पहाडको बिचबाट यदाकदा कैलाशको दर्शन पाउँछु । करिब सात किलोमिटर पार गर्दा दाक्चा भन्ने ठाउँ आउँदो रहेछ । परिक्रमा गर्ने क्रममा त्यसैलाई कैलाशको सबैभन्दा निकटको स्थान मानिँदो रहेछ । चिनियाँ गाइडले मसँग यो रहस्य खोले ।
मैले घाँटी तन्काएर माथितिर हेरेँ, कैलाशको तल्लो भाग मात्र देखिँदो रहेछ । कैलाशको चरण स्पर्श गर्दै पानीको एउटा धार तल्लोपट्टि बगिरहेको खोलामा विलय हुन छचल्किँदै थियो । मैले उसको गति टक्क रोकेँ, अभिषेक गरेँ र चरणामृत पान गरेँ । गाइडले भने, “धेरैलाई यहाँको महत्व थाहा हुँदैन र पथप्रदर्शकले पनि जानेर वा नजानेर मार्मिक कुरा उद्घाटन गर्दैनन् । यात्रुहरू अज्ञानतावश देरापुक पुगेर कैलाशको पूर्णता हेर्ने उत्कण्ठामा लम्किन्छन् ।” हो, गाइडले भनेजस्तै त्यसको भोक्ता म स्वयम् भएँ । गाइड त्यसबेला मेरो निकट नभइदिएका भए यो सत्य लेख्नबाट स्वयम् म वञ्चित हुने थिएँ ।
म हिँडिरहेको खोलाको किनारतिर भन्दा बढी पल्लो किनारमाथिका चट्टानबाट झरना निर्झरित भएका देखिँदै छन् । कैलाशको अनुसरण गरेर चुलिएका चुचुरा दहीले अभिषेक गरेका शिवलिङ्ग जस्ता प्रतीत हुँदै छन् । कैलाश परिधिको मौसम भविष्यवाणी गर्ने मौसमविद् अहिलेसम्म देखिएको छैन । यसकारण पनि क्षणभरमा हाम्रा छाता उघ्रिन्छन्, रेनकोटद्वारा शरीर आवृत्त गरिन्छन् र क्षणभरमा सूर्यका किरण छताछुल्ल पोखिन्छन् । मेरा पाइलाको गति शनै शनै अगाडि बढिरहेको छ । श्वासप्रश्वास तीव्र बन्दै गइरहेको छ । बस्नलायक ढुङ्गा भेट्यो कि टुसुक्क बसिहाल्ने र थर्मसको पानीमा चनाको सातु घोलेर शरीरमा तागत भर्ने क्रम जारी छ । सुक्खा वा मरमसलाका परिकार खान मन मान्दैन तर थर्मस आकारको सानो अक्सिजन सिलिन्डर झोलाबाट निकालिहाल्नुपर्ने आवश्यकता महसुस भएको छैन ।
म क्रमागत रूपमा पाइला घिसार्दै १२ किलोमिटर पार गरेर देरापुक पुग्छु र चार हजार सात सय मिटरबाट उकालिँदै पाँच हजार दुई सय मिटरमा पुग्न सकेकोमा आफूलाई बहादुर ठान्छु । बेलुकी देरापुकमा रात्रिभोजन चलिरहेका बेला नेपाली गाइड मनोज तामाङले घोषणा गर्नुभयो, “भोलि पाँच हजार छ सय मिटर उचाइ पार गर्दै २२ किलोमिटर हिँड्न सक्छु भन्नेले हात उठाउनूस् ।” पैदल यात्रा गरेर देरापुक पुग्ने ४० यात्रीमध्ये १० जनाले मात्र हात उठाए । मैले आफ्नो शरीरको मूल्याङ्कन आफैँ गरेँ, हात उठाइनँ ।
मेरो ब्रह्म बोल्यो, शिवजी भनिहनुभएको छ, “तँ परिक्रमा गर्नका लागि योग्य पात्र छैनस् । तैँले जबरजस्ती गरिस् भने छिट्टै शिवलोक त प्राप्त गर्लास् तर तैँले गर्न बाँकी राखेका र वाचा गरेका काम पूरा गर्न पाउने छैनस् । ती अधुरा काम पूरा गर् अनि मात्र मेरो लोक आउलास् । तेरा लागि मेरो लोक सुरक्षित रहने छ ।”
अर्को दिन बिहान मैले सबैभन्दा नजिकबाट पूर्ण रूप देख्न सकिने कैलाशमाथि दृष्टिपात गरेँ । बादल लागेका कारण शिखर त देख्न सकिनँ, तल्लो भाग स्पष्ट देखेँ, छुँला जस्तो गरी देखेँ र नमन गरेँ । मनमनै भनेँ, भगवान् ! मैले तपाईंलाई यसबेला मूर्त आकृतिका रूपमा देखिनँ, अमूर्त शिवलिङ्गका रूपमा देखेँ । अमूर्त शिवलिङ्ग त अनन्त हो, अनादि हो । यसको अवतार हुँदैन र पूर्ण परिक्रमा पनि हुँदैन । यही सम्झेर मैले पूर्ण परिक्रमा गरिनँ, अर्ध परिक्रमा गरेँ ।
शिवभक्तको भनाइ पनि सम्झँदै थिएँ त्यसबेला मैले । एकाग्र भएर हेर्ने हो भने कैलाशको चार दिशामा घोडा, हात्ती, शिव र मयूरका चार आकृति देखिन्छन् र ती आकृति फटिक, माणिक, नीलम र सुनका प्रतीत हुन्छन् । जुन कैलाशलाई उत्तर र दक्षिण ध्रुवको विभाजन रेखा वा पृथ्वीको नाभी भनिन्छ र ध्यानमग्न भएर सुन्ने हो भने डमरु र ॐ को आवाज ध्वनित भइरहन्छ । जुन पर्वतको उचाइ छ हजार ६३८ मिटर मात्र भएर पनि बौद्ध भिक्षु मिलारेप्पाबाहेक अरू चढ्न सकेनन् र जुन पर्वतमा परिवर्तित भइरहने अमोघ शक्ति देखेर रुसी वैज्ञानिक अर्नेस्ट मुल्दसिनले समेत यो प्राकृतिक हुने कुरामा शङ्का गरे ।
जुन पर्वतको चार दिशाबाट चार जलधार निस्कन्छन् र मानसरोवरमा खस्छन् अनि ब्रह्मपुत्र, सिन्धु, सतलज र कर्णाली जस्ता विशाल नदनदी उत्पत्ति हुन्छन् र नाम परिवर्तित हुँदै नेपाल, भारत र पाकिस्तानको भूमिलाई सिञ्चन गर्दै महासागरमा विलय हुन्छन् । साक्षात् शिवको बास मानिने त्यस कैलाशधामलाई मैले त्यहीँबाट नमन गरेँ र यात्रालाई मोडेँ ।
फर्कंदै गर्दा केही सहयात्री भन्दै थिए, “कैलाश आएपछि केही छोड्नु पर्छ भन्छन्, के छोड्ने निर्णय गर्नुभयो त ?” मलाई जवाफ दिन गाह्रो भयो । छोड्छु भनेको चिजमाथि उल्टै मोह जागृत भयो भने छोड्छु भनी प्रतिज्ञा गरेको के फाइदा भयो ? मैले गर्ने भनेको सुकर्म हो, कुकर्म होइन । मैले पालन गर्ने भनेको मानवीय धर्म हो, दानवीय होइन । परिपालन गर्दै आएका यी कर्म मैले त्याग्न नपरोस् । बरु सकिन्छ भने काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता विकारलाई त्याग्न सक्ने शक्ति देऊ प्रभु !
हो, मैले त्याग्ने काम गरिनँ बरु माग्ने काम गरेँ ।
अघिल्लो राति मौसम बदली भएको कारणले हो कि किन हो ? हिजो देखिएका नाङ्गा टाकुरा पनि हिउँले ढाकिएका देखिए । अधिकांश हिमशिखरको आकार प्रकार पनि कैलाशकै जस्तो । मैले त त्यहाँ एउटा मात्र होइन, मूल कैलाशभन्दा अलिकति होचा अनन्त कैलाश पो देख्न थालेँ । कैलाशको जस्तै बनोट, श्रेणी श्रेणीहरूको संस्थिति । पत्थरमाथि पत्थर चाङ लगाएर राखिएका चमकदार पत्थरको अवस्थिति । कतै हिउँ जडित, कतै हिउँ स्खलित, कालाबुट्टे पत्थरको सघन उपस्थिति । कल्पना लोकमा विचरण गर्न थालेँ, “कैलाश जस्तै लाग्ने ती कैलाशहरूमा ऋषिमुनिको निवास होला ! हुन सक्छ, कैलाश जस्ता ती शैल क्षेत्रभित्र शिवभक्त शिव आराधनामा ध्यानमग्न होलान् ।” यस्तै तरङ्ग मनमा आउँदै थिए, यमद्वार आइपुगेछु । सहयात्री एक/एक गरी जम्मा हुँदै थिए । हामीलाई दार्चेन पु¥याउनका लागि आएको बस अगाडि उभिएको थियो ।