• १२ असोज २०८१, शनिबार

स्याङ्जामा बाह्र शीतभण्डार

blog

पुतलीबजार नगरपालिका–११, सुम्रेखोलाको प्रदेशकै ठुलो स्याङ्जा शीतभण्डार तस्बिर : अर्जुन काफ्ले

स्याङ्जा समाचारदाता 

स्याङ्जा, असोज १२ गते । स्याङ्जामा ठुलो एक र साना ११ गरेर १२ वटा शीतभण्डार (कोल्ड स्टोर) रहेका छन् । सिजनमा उत्पादन भएको सुन्तलालाई बेमौसममा उपभोग र आलुलाई अर्को वर्षका लागि बिउ राख्ने उद्देश्यले यहाँ शीतभण्डार निर्माण गरिएको हो । 

साढे १२ करोडको लागतमा निर्माण भएको पुतलीबजार नगरपालिका–११, सुम्रेखोलाको स्याङ्जा शीतभण्डार प्रदेशमै ठुलो मध्ये एक हो । पहिलो प्याकेजको स्याङ्जा शीतभण्डार एक हजार २५० मेट्रिक टन क्षमताको सुन्तला र आलु राख्ने उद्देश्यले बनाइएको हो भने सोही क्षमताको दोस्रो प्याकेज भने निर्माण अधुरो रहेको छ । 

१०४ सहकारी, पुतलीबजार, भिरकोट र गल्याङ नगरपालिकाको एक करोड २८ लाख, सहकारी विभाग र कृषि मन्त्रालयको आठ करोड र साढे तीन करोडको ऋणमा २०७७ मा निर्माण सकिएको हो । 

तीन ब्लकमा रहेको यो शीतभण्डार निर्माण सकिएको चार वर्षमा दुई पटक एक/एक सय मेट्रिक टन सुन्तला राखिएकोमा एक पटक सफल र एक पटक आधा बिग्रिएको थियो । 

आलुसमेत क्षमताभन्दा कम राख्ने गरिएको छ भने यस आर्थिक वर्षमा १६० मेट्रिक टन (१२.८ प्रतिशत) मात्र आलु राखिएको छ । अघिल्लो आवमा सुन्तला बिग्रिएपछि यस आवमा कृषकले सुन्तला राखेनन् । गल्याङ–७ को जिमुवाको जिल्लाको दोस्रो ठुलो शीतभण्डारमा  आलु राख्ने गरिएको छ । तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार सरकारले तीन करोडमा निर्माण गरेको हो । 

यहाँको वालिङ–१ मा ५० मेट्रिक टन क्षमताको शीतभण्डार ५० लाखमा प्रदेश सरकार बनाएको हो भने यहाँ क्षमता बराबर आलु राखिएको छ । 

यस्तै चापाकोट, वालिङ, बिरुवा (दुई वटा), फेदीखोला (दुई वटा), पुतलीबजार, आँधीखोला र अर्जुनचौपारीमा १०/१० मेट्रिक टनका शीतभण्डार रहेका छन् । साना शीतभण्डार प्रदेश सरकारको लगानीमा १५/१५ लाखको लागतमा निर्माण गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हालले बताउनुभयो । 

अर्जुनचौपारी र बिरुवा शीतभण्डारबाहेक सबैमा अहिले क्षमता अनुसार आलुको बिउ राखिएको छ ।